ऋण नतिर्दा पूर्वगभर्नर नै कालोसूचीमा

काठमाडौं, भदौ २८ - कर्जा सूचना केन्द्रले पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठसहित चार जनालाई कालोसूचीमा राखेको छ। नेपाल बंगलादेश बैंक (एनबी) को सिफारिसमा केन्द्रले श्रेष्ठलाई कालोसूचीमा राखेको हो। श्रेष्ठ नबिल बैंकका अध्यक्षसमेत हुन्।
केन्द्रले श्रेष्ठसहित चारलाई कालोसूचीमा राखेको सूचना आफ्नो 'वेबसाइट' मार्फत सार्वजनिक गरेको हो। जनकपुरमा रहेको एमी फर्मास्युटिकल्स प्रालिका नाममा श्रेष्ठसहित चार जनाले एनबी बैंकबाट ऋण लिएका थिए।
फर्मास्युटिकल्सले बैंकको चार करोड रुपैयाँ ऋण तिर्न बाँकी छ। 'लामो समयदेखि ऋण नतिरेकाले एमीका सञ्चालकलाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो,' बैंक स्रोतले भन्यो, 'कालोसूचीमा राख्न राष्ट्र बैंकको पनि स्वीकृति लिइएको छ।' 
बैंकले डेढ महिनाअघि फर्मास्युटिकल्सका सञ्चालकलाई ऋण तिर्न आउने ३५ दिने सूचना जारी गरेको थियो। अन्तिम भाका नाघ्दा पनि ऋण भुक्तानी नभएपछि बैंकले कालोसूचीमा राखेको हो। कालोसूचीमा राखेसँगै धितो सम्पति बैंकले गैरबैंकिङ सम्पत्तिका रूपमा सकार्ने प्रक्रिया सुरु हुन्छ।

कालोसूचीमा पर्नेमा श्रेष्ठसहित विभाकुमारी मिश्रा, इन्द्राणी मुखर्जी र उत्तमकुमार मुखर्जी छन्। एमी फर्मास्युटिकल्सको नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकमा पनि ऋण छ। बैंकले १० दिनअघि फर्मास्युटिकल्सका सञ्चालकका नाममा सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र ऋण तिर्न आह्वान गरेको थियो। एनसिसीमा फर्मास्युटिकल्सको अढाइ करोड रुपैयाँ ऋण छ।

राष्ट्र बैंकले ऋण खाएर नतिर्नेलाई कडा कारबाही गर्न निर्देशन दिन्छ। राष्ट्र बैंकको सर्वोच्च पदमा पुगेर अवकास भएका श्रेष्ठ भने आफैँले लिएको ऋण तिर्न नसकेर कालो सूचीमा परेका छन्।

कालोसूचीमा परेको व्यक्ति कुनै बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा कम्तीमा तीन वर्ष बस्न पाउँदैन। केन्द्रले कालोसूचीमा राखेसँगै अब उनले नबिल बैंक छाड्नुपर्छ। कालो सूचीमा परेसँगै उनको पासपोर्ट पनि रोक्का गरिनेछ। राष्ट्र बैंकले कालोसूचीमा परेको व्यक्ति कम्पनी ऐनअनुसार दर्ता भएको कुनै पनि संस्थामा सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ। कालोसूचीमा परेको व्यक्तिले कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनसमेत पाउँदैनन्।

नबिल बैंकले आगामी सञ्चालक समितिको बैठकपछि नयाँ अध्यक्ष चयनको निर्णय गर्ने छ। 'आवश्यक प्रक्रिया सकेपछि नयाँ अध्यक्ष चयन गर्छौं,' नबिलका सञ्चालक शम्भु पौडेलले बुधबार नागरिकसँग भने।

बैंक स्रोतका अनुसार एनबी र एनसिसी बैंकले ऋण तिर्न सूचना जारी गरेपछि नबिलले अध्यक्ष पदबाट हट्न श्रेष्ठलाई आग्रह गर्दै आएको थियो। ऋण तिर्न नसकेपछि अध्यक्षबाट हट्ने मनस्थिति बनाइरहेका बेला एनबी बैकले श्रेष्ठलाई कालोसूचीमा राखेको हो। श्रेष्ठ कालोसूचीमा पर्ने पहिलो पूर्वगभर्नर हुन्। बैंक सञ्चालक समितिका अध्यक्षहरू भने यसअघि पनि कालोसूचीमा पर्दै आएका थिए।

फर्मास्युटिकल्सले बैंकमा जनकपुरको जग्गा धितो राखेको छ। बैंक स्रोतका अनुसार धितो लिलाम गर्दा ऋण उठ्ने अवस्था छ। फर्मास्युटिकल्स अहिले बन्द छ।

कालोसूचीमा परेका व्यक्तिले कुनै संस्थाको हकप्रद सेयर किन्न पाउने छैन। सेयर लगानी गरेबापत प्राप्त हुने नगद लाभांश पनि लिन पाउने छैन। उनी अध्यक्ष भएको नबिल बैंकले मंगलबार मात्रै १ अर्ब ७२ करोड नाफाबाट ४० प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको छ। ऋण तिर्ने प्रयोजनबाहेक उनले त्यो लाभांश पाउँदैनन्।

No comments:

Post a Comment

thanks for comment