ब्याज घटेपछि ऋण वढ्न थाल्यो, डिपोजिट वढेको छैन अब के होला ?

काठमाडौँ, असोज १३ -बैंकहरूले ब्याज दर घटाउन थालेपछि ऋण लगानी बढेको छ। निक्षेप एक रुपियाँले नबढ्दा पनि नयाँ आर्थिक वर्ष लागेपछि ऋण १५ अर्ब रुपियाँ लगानी भइसकेको छ। एक साताको अवधिमा पनि निक्षेप २ अर्बले घट्दा बैंकको ऋण भने ४ अर्ब रुपियाँले बढेको छ।
ब्याज दर महँगो हुँदा लामो समय स्थिर रहेको ऋण लगानी पछिल्ला केही सातादेखि बढ्न थालेको हो।
बैंकरका अनुसार, ब्याज दर घट्न थालेपछि ऋण लिन आउनेहरू बढ्न थालेका छन्। दसँैका लागि आवश्यक सामान भित्र्याउन (आयात) का लागि पनि अहिले ऋण लिनेहरू बढेका छन्। पछिल्लो समय हायर पर्चेजमा खासगरी गाडी (अटो) ऋणको माग बढेको छ।
'पछिल्लो समय ब्याज घटाघट गरेर अल्पकालीन ऋण बढी जान थालेको छ,' बैंकर्स संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बुधबार भने, 'अझै ऋण बढ्ने अवस्था छ।'
ब्याज दर अहिले १२ प्रतिशतको हाराहारीमा झरिसकेको छ। बैंकहरूले कम्तीमा केही वर्ष ब्याज नबढ्ने गरी ऋण योजना ल्याइरहेका छन्। कतिपय बैंकले घर र गाडी किन्ने ऋणको ब्याज १० प्रतिशतमा झारिसकेका छन्। यसले गर्दा ऋणको माग केही बढेको हो।
राष्ट्र बैंकका अनुसार बैंकहरूले मंगलबारसम्म ६ सय ३३ अर्ब रुपियाँ ऋण लगानी गरिसकेका छन्। अघिल्लो साता ऋण लगानी ६ सय २९ अर्ब रुपियाँ थियो। असार मसान्तसम्म बैंकहरूले ६ सय १८ अर्ब रुपियाँ ऋण लगानी गरेका थिए।
केही बैंकरहरू भने अलिअलि ऋण गए पनि 'जेन्युन' माग भने नआएको बताउँछन्। 'निक्षेपमा बढ्न नसके पनि अझै बैंकहरूसँग पर्याप्त तरलता छ,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले नागरिकसँग भने, 'बैंकसँग भएको तरलता प्रयोग हुने गरी अझै पनि ऋणको माग आइरहेको छैन।'
विकास गतिविधिविना अहिले ऋण बढेकाले यो दीर्घकालीन प्रकृतिको नभएको बैंकरहरू बताउँछन्। उनीहरूका अनुसार चाडबाडका कारण ऋण वृद्धि भएको हो। 'दसैँ-तिहारको दबाबले ऋण लगानी बढेको हो,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'चाडबाड रहुन्जेल ऋण केही समय अझै बढ्छ।'
दसैँ-तिहारमा विद्युतीय सामग्री, गाडी, लुगा कपडा, खाद्यान्न, खसीच्यांग्रालगायत सामग्री खरिदका लागि ऋण जान्छ। भट्टराईका अनुसार यो बेला सामान आयातका लागि प्रतीतपत्र खोल्ने प्रवृत्ति पनि बढ्छ।
'अहिले औद्योगिक क्षेत्रबाट ऋणको माग आएको छैन,' भट्टराईले भने, 'सबै माग वस्तु आयात तथा व्यापारिक खालका मात्र छन्।'
राष्ट्र बैंकको निगरानी
राष्ट्र बैंकले अस्वाभाविकरूपमा लगानी बढाइरहेका वाणिज्य बैंकहरूको निगरानी बढाएको छ। असोज मसान्तमा अर्को ऋणको ब्याज तिर्न नयाँ ऋण सिर्जना गर्ने प्रवृत्ति बढेपछि राष्ट्र बैंकले निगरानी सुरु गरेको हो।
'अस्वाभाविक ऋण बढाउने बैंकहरूको निगरानी थालेका हौँ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'त्रैमासिकको अन्तिमतिर अर्को ऋण तिर्न नयाँ ऋण सिर्जना गर्ने क्रम बढ्न थालेकाले यसलाई नियन्त्रण गर्न निगरानी बढाएका हौँ।' उनले १० प्रतिशत पुँजी पर्याप्तता र ८० प्रतिशत कर्जा-निक्षेप अनुपात कायम गरेर लगानी गर्न कुनै समस्या नभए पनि केही बैंक तथा वित्तीय संस्थाबाट अस्वाभाविक ऋण लगानी हुने गरेको दाबी गरे। 'साना र नयाँ बैंकहरूबाट ऋण बढिरहेको छ', उनले भने।

No comments:

Post a Comment

thanks for comment