वाणिज्य बैंक बन्न पाँच संस्था गाभिँदै, २ अर्ब पुँजी नाघ्दैमा देला र राष्ट्र बैंकले ?

काठमाडौं, भदौ १९
वाणिज्य बैंक बन्ने उद्देश्यसहित मनकामना डेभलपमेन्ट बैंकको नेतृत्वमा पाँच वित्तीय संस्था गाभिने भएका छन्। तीन विकास बैंक र दुई फाइनान्स कम्पनी गाभिने आसयपत्रमा हस्ताक्षर भइसकेको छ।
मनकामनासँगै एनडिइपी डेभलपमेन्ट बैंक, नेपाल कन्जुरमा डेभलपमेन्ट बैंक, हामा मचेन्ट एन्ड फाइनान्स र इम्पेरियल फाइनान्स कम्पनी आपसमा गाभिन लागेका हुन्। गाभिने समझदारीपत्रमा भने आउँदै साता औपचारिक सम्झौता हुने छ।
'वाणिज्य बैंक बन्नका पाँच वित्तीय संस्था आपसमा गाभिने तयारी भइरहेको छ,' मनकामनाका प्रमुख कार्यकारी अधिकृत भुषण राणाले मंगलबार नागरिकसँग भने। पाँच वित्तीय संस्था गाभिएपछि  चुक्ता पुँजी २ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ। वाणिज्य बैंक बन्नलाई २ अर्ब चुक्ता पुँजी भए पुग्छ।
बैंकले मर्जरको औपचारिक सम्झौता गभर्नर युवराज खतिवडाको रोहवरमा गर्न लागेको छ। यसका लागि बैंकले आउँदो सोमबारका लागि गभर्नरलाई निमन्त्रणा पठाइसकेको छ। बैंकले मर्जरका लागि अन्य तीन संस्थासँग पनि कुराकानी गरिरहेको छ। तर उनीहरुबाट स्पष्ट जवाफ नआकाले तत्काललाई पाँच संस्थाबीच औपचारिक सम्झौता हुन लागेको हो।
मनकामनाले  'कन्सल्ट्यान्ट' नै नियुक्त गरेर मर्जरको काम अगाडि वढाएको हो। बैंकले चार्टर्ड एकाउन्टेन्ट्स भानु कँडेललाई मर्जर अगाडि बढाउने जिम्मेवारी दिएको छ। उनले नै मर्जरका लागि बैंक तथा वित्तीय संस्थाहरु खोजेका हुन्। नेपालमा मर्जर प्रकृया अगाडि वढाउन कन्सल्ट्यान्ट राखिएको यो पहिलो हो। 
धेरै संस्था मिलेर वलियो रुपमा आए वाणिज्य  बैंक बन्न राष्ट्र बैंकले 'हेर्दिने' भएपछि एकैचोटी पाँच वित्तीय संस्था मर्जरमा जान लागेका हुन्। मनकामना डेभलपमेन्ट बैंकले वाणिज्य बैंक बन्नका लागि नै पुँजी १ अर्ब पुर्‍याएको थियो। राष्ट्र बैंकले वाणिज्य बैंकमा स्तरोन्नती हुन पाँच वर्षदेखि नाफामा गएको, खराव ऋण ५ प्रतिशतभन्दा कम भएकोलगायतको सीमा लगाएपछि  मनकामनलाई समस्या परेको थियो।
'पुँजी पुगेकै आधारमा वाणिज्य बैंक बन्न सकिन्न,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले नागरिकसँग भने, 'तर नयाँ अवधारणसहित श्रृजनात्मक रुपमा आए विचार गर्न सकिन्छ।' 
पाँच संस्थाबीच सेयर स्वामित्वका हिसावले कम्तिमा एक जनाका दरले सञ्चालक समितिमा जाने सहमति भइसकेको छ। त्यसपछि हुने वार्षिक साधारणसभाबाट मतदानमार्फत सञ्चालक स्वतन्त्र रुपमा छानिने छन्। बैंकमा सात सञ्चालक रहने छन्।
बैंकबीच कम्पनीको मूल्यांकन सम्पूर्ण सम्पति तथा दायित्व (डिडिए) को आधारमा गरिने तय भएको छ। तर डिडिएमा १० प्रतिशतसम्मको फरक आए त्यसलाई 'कन्सिडर' गरिने स्रोतले जानकारी दियो। उदाहरणका लागि कम्पनीको सेयर मूल्यांकन ९० वा ११० रुपैयाँ भए त्यसलाई १०० रुपैयाँको मान्यता दिइने छ। त्यसभन्दा वढी हुने फरकलाई भने डिडिएलाई आधार मानिने छ।
नयाँ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मनकामना विकास बैंकबाटै चयन हुने छन्। अन्य कम्पनीका प्रमुख कार्यकारीलाई त्यसभन्दा तलको तहमा राखिने सहमति भइसकेको छ। सवै संस्थाले मर्जर समिति बनाइ सकेका छन्। औपचारिक समझदारी भएपछि संयुक्त मर्जर समति बन्ने छ।
पाँच वित्तीय संस्था मर्ज भए निक्षेप ८ अर्ब रुपैयाँ पुग्ने छ। ऋण लगानी ७ अर्ब रुपैयाँ पुग्ने छ। पुँजी पर्याप्तता अनुपात २० प्रतिशत र खराब ऋण ३.५ प्रतिशत हुने छ। शाखा सञ्जाल ४५ पुग्ने छ।

No comments:

Post a Comment

thanks for comment