अन्ततः खुल्यो एभरेष्ट इन्स्योरेन्स, समितिसँग के भयो सहमति ?

काठमाडौं, असोज ४- संस्थागत सुशासन निर्देशिका पालना गर्न नसकिने भन्दै नौ दिनदेखि नयाँ बिमा लेख जारी गर्न छाडेको एभरेस्ट इन्स्योरेन्सले बिहीबारबाट कारोबार सुचारु गर्ने भएको छ। 
समितिले जारी गरेको संस्थागत सुशासन निर्देशिका पालना गर्न कठिन भएको भन्दै अघिल्लो मंगलबारदेखि नयाँ बिमा लेख जारी बन्द र पुराना घटाउँदै लग्ने निर्णय गरेको थियो।
'बिहीबारबाट नयाँ बिमा लेख जारी गर्न थाल्छौं,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठले बुधबार साँझ पत्रकार सम्मेलनमा भने, 'अब समितिसँग मिलेर अगाडि बढ्छौं।' उनले सुशासन निर्देशिकाका कारण कारोबार बन्द नगरेको दाबी गरे।
समितिले बुधबार दिउँसो एभरेस्टका सञ्चालकहरुलाई कारोबार बन्दबारे सोधपुछका लागि बोलाएको थियो। गत बिहीबार सोधेको स्पष्टीकरणको जवाफ चित्तबु‰दो नभएको भन्दै समितिले सञ्चालकहरुलाई बोलाएको थियो। सञ्चालकहरुले नयाँ बिमा लेख जारी गर्न बन्द गर्नु गल्ती भएको भन्दै बिहीबारबाट सुचारु गर्ने समितिसँग लिखित सहमति नै गरेका छन्।
सञ्चालकहरुले तीन बुँदे माइन्युटमा हस्ताक्षर गरेका हुन्। समितिसँग अध्यक्ष रतनलाल संघाइबाहेक सबै सदस्यहरु गएका थिए। राजेन्द्र खेतानले आकस्मिक राजीनामा गरेपछि मंगलबार संघाई अध्यक्ष चयन भएका हुन्। खेतानसँगै उनका भाइ प्रेमप्रकाशले पनि एभरेस्ट छाडेका छन्।
समितिसँग छलफल गर्दै एभरेस्टका सञ्चालकले तीन बुँदामा हस्ताक्षर गरेका छन्। सुशासनको अक्षरश पालना गर्ने, नयाँ बिमा लेख जारी गर्ने र बिमा उद्योगको हित हुने काममा सँधै लाग्ने भन्ने बुँदामा हस्ताक्षर गरेका हुन्। नीरन्जन टिवडेवाला, वीरेन्द्रकुमार शाह, मधुसूदन अग्रवाल, ओमप्रकाश सिकारिया, प्रसाद ज्ञवाली र रवीकुमार टिवडेवालाले हस्ताक्षर गरेका हुन्।
कम्पनीले अग्नि बिमा लेखबाहेक सबै जारी गर्ने छ। गत भदौ १४ गतेदेखि समितिले अग्नि कारोबारमा रोक लगाएको छ। मायोज चाउचाउ उत्पादन गर्ने हिमालयन स्न्याक्स एन्ड फुड प्रालिलाई सर्वेयरको पूर्ण प्रतिवेदन आउनु पूर्व नै चार करोड रुपैयाँ भुक्तानी दिएको पुष्टि भएपछि समितिले एभरेस्टलाई अग्नि कारोबार गर्न रोक लगाएको थियो।
एभरेस्टका सञ्चालहकरुले कम्पनी कारोबार रोकेर कम्पनी बन्द गर्ने औपचारिक माइन्युट गरेका थिए। सञ्चालकहरुलेे बिमा राफसाफ गर्ने, कम्पनीको आकार घटाउने, सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्ने र आगामी व्यवसाय के गर्ने भनेर प्रस्ताव तयार पार्ने निर्णय गर्दै माइन्युटसमेत गरेका थिए। कम्पनीले सहायक महाप्रबन्धकहरुलाई यसको जिम्मेबारीसमेत तोकेका थिए।
माइन्युट गरेपछि बिमा समितिले एभरेस्टलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण सोधेपछि नौं सदस्यीय सञ्चालक समिति विभाजन भएको थियो। सञ्चालकहरु विभाजित भएपछि खेतानले अध्यक्षबाट राजीनामा गरेका हुन्।
'सुशासन निर्देशिकाले कारोबार बन्द गरेका होइनौं, हामी अक्षरश सुशासन निर्देशिका पालना गर्छौं,' श्रेष्ठले भने, 'कम्पनीमा दाबी भुक्तानी बढी भएकाले त्यसलाई घटाउन नयाँ बिमा लेख जारी नगर्ने निर्णय गरेका थियौं।' उनले ९ दिनमा एक सय दाबी भुक्तानी राफसाफ गरेको जानकारी दिए। कम्पनीले ३ हजारको संख्यामा दाबी भुक्तानी राफसाफ गर्न बाँकी छ।
'बिमा कारोबार बन्द गर्न हुन्न भन्ने थाहा नभएर दावी भुक्तानीका लागि केही दिन रोकेका थियौं,' एक सञ्चालकले भने, 'बिमा अध्यावश्यक ऐनभित्र पर्छ भन्ने पनि थाहा पाएनौं। अब यसमा सचेत छौं। कारोबार कहिले बन्द हुँदैन।'
छलफलमा समितिका अध्यक्ष फत्तबहादुर केसीले सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड) किराना पसल बन्द गरेजस्तो गर्न नमिल्ने भन्दै एभरेस्टका सञ्चालकहरुलाई तुरुन्त खोल्न निर्देशिन दिएका थिए। स्रोतका अनुसार एभरेस्टका सञ्चालकहरुले कम्पनीबाट भएका कतिपय कमीकमजोरीहरु आफूहरुलाई केही थाहा नभएकाले समस्या परेको गुनासो गरेका थिए।
'हामीले कम्पनी कसरी चलिरहेको छ भने स्थलगत हेर्ने कुरा आएन। त्यही भएर मिस गाइड भयौं,' एक सञ्चालकलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'अबबाट गल्ती हुँदैन। सचेत रहने छौं।'
सञ्चालकहरुले अग्नी इन्स्योरेन्सको कारोबार खोलिदिन आग्रह गरेका थिए। समितिले भने प्रक्रिया नसकिँदै खुला गर्न नमिल्ने जवाफ दिएको थियो। समितिले ४ करोड रुपैयाँको मुद्दा टुङ्ग्याएर ३५ दिनभित्र जानकारी गराउन निर्देशन दिएको थियो। स्रोतका अनुसार, ३५ दिनपछि सुधार भएको जानकारी कम्पनीले समितिलाई गराउनुपर्ने छ। समितिले एभरेस्टको जवाफ चित्तबु‰दो लागे कारोबार फुकुवा गरिदिने छ। नभए विशेष स्थलगत निरीक्षण गरी निर्णय लिने छ।
कम्पनीको कुल कारोबारमा अग्नी बिमाको हिस्सा २० प्रतिशत छ। अन्य कारोबारभन्दा अग्नी बिमाको कारोबारबाट कम्पनीले बढी नाफा कमाउँदै आएको थियो।

1 comment:

  1. एभरेष्टले सवक सिक्न जरुरी थियो। तर बिमा समितिले सँधै राम्रो गर्छ भन्ने पनि छैन है सम्पादक ज्यु

    ReplyDelete

thanks for comment