घरजग्गा कारोबार बढ्न समय लाग्ने

काठमाडौं, माघ २७ (नागरिक) - मुलुकका प्रमुख व्यवसायी, अर्थशास्त्री, सरकारी प्रतिनिधि र बैंकरहरू एकै ठाउँमा बसी हाउजिङ र रियल स्टेटका चुनौतीबारे छलफल गरिरहेकै समयमा घरजग्गाको ऋण तिर्न नसकेर बागलुङका निलकण्ठ सापकोटाले सात तलामाथिबाट हाम फालेर आत्महत्या गरे।

राजधानीको सुन्धारास्थित सिंगापुर गेस्ट हाउसमा घरजग्गा व्यवसायीहरूबीच लेनदेनबारे छलफल हुँदै गर्दा सापकोटाले ऋण तिर्न नसक्ने देखेपछि बुधबार दिउँसो हाम फालेर आत्महत्या गरेका हुन्। त्यसैबेला पाँच तारे होटल अन्नपूर्णमा रियल स्टेटका चुनौतीलाई समाधान गर्ने उपाय निकाल्न आयोजित छलफलले पनि उचित निष्कर्ष दिन सकेन। राष्ट्र बैंक र सरकारले ल्याएका नीतिका कारण यो क्षेत्रमा समस्या आएको सबैले स्वीकार गरे। तर, समाधानका उपाय के हुन्? भन्नेमा सबैको एउटै धारणा आएन।


सरकार र राष्ट्र बैंकले ल्याएका नीतिमा पुनरावलोकन गर्दै थप सरकारी सहयोग पाए यो क्षेत्र फेरि उठ्न सक्ने धारणा व्यवसायीहरूको थियो। बैंकरहरूले कारोबारमा मन्दी आउनुमा सरकारी नीतिले सहयोग गरे पनि कारोबार नै ठप्प हुने अहिलेको समस्या आउनुमा पैसा अभावलाई देखाए। सरकार र राष्ट्र बैंकले यो क्षेत्रका लागि ल्याएका सबै नीति फिर्ता लिए पनि अहिले घरजग्गामा लगानी गर्न सक्ने अवस्था नभएको बैंकरहरूको धारणा थियो।
छलफलमा घरजग्गा व्यवसायमा आएको मन्दीले लगानीमा जोखिम बढेको बताइए पनि राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले यो क्षेत्रमा २० प्रतिशतमात्र लगानी भएकाले जोखिम नरहेको बताएका छन्। '८० प्रतिशत कर्जा अन्य क्षेत्रमा गएकाले घरजग्गामा गएको कर्जामा समस्या आउँदैमा सम्पूर्र्ण बैंकिङ क्षेत्र बिग्रिन लाग्यो भनेर चिन्ता लिन आवश्यक नरहेको छैन,' उनले भने।
चालु वर्षको मौद्रिक नीतिको पूर्वसन्ध्यामा आयोजित अन्तर्क्रियामा बोल्दै गभर्नरले घरजग्गा व्यवसायको कुल गार्हस्थ उत्पादनमा ८ प्रतशत योगदान रहेकाले यसको संवेदनशीलता र उतार चढावलाई राष्ट्र बैंकले कम आँकलन नगरेको बताए। यद्यपि उनले मध्यावधि समीक्षामार्फत घरजग्गा कर्जामा लिएको नीतिलाई तत्काल खुकुलो नपार्ने संकेत गरे।
'हामीले पहिले नै हाउजिङमा जाने लगानीलाई उद्योगका रुपमा व्याख्या गरिसकेका छौं,' उनले भने, 'अन्तर्क्रियामा उठेका विषयलाई मैले सुझावका रुपमा लिएको छु।' कार्यक्रममा बैंकर तथा उद्योगीहरूले घरजग्गा कर्जाको सीमा केही खुकुलो पार्दै हाउजिङलाई रियलस्टेटबाट अलग्गै राख्न आग्रह गरेका थिए।
उनले घरजग्गा कर्जामा बैंक, वित्तीय संस्था, बचत तथा ऋण सहकारी र व्यक्तिगत रुपमा गरेर करिब २ खर्ब रुपैयाँ लगानी भएको बताए। 'लगानीका हिसाबले घरजग्गा व्यवसाय कृषि र रेमिट्यान्ससरह ठूलो क्षेत्रका रुपमा आइसकेको छ,' उनले भने, 'राष्ट्र बैंकले यसलाई कम आँकेकको छैन। तर, बीचमा जुन हिसाबले यो क्षेत्रको वृद्धि भयो त्यो  अस्वभाविक भएकाले हामीले निर्देशनै दिनुपर्ने अवस्था आयो।' उनले खोल्सा पुर्ने र डाँडा काट्ने ठाउँमा भने लगानी नगर्न आग्रह गरे।
कार्यक्रममा बैंकरका तर्फबाट बोल्दै बैंक अफ एसियाका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्रीले घरजग्गा क्षेत्रमा गएको कर्जाको सीमा यो वर्षका लागि ३० प्रतिशत र अर्को वर्षका लागि २५ प्रतिशतमा झार्ने व्यवस्था गर्न आग्रह गरे। उनले पहिलो दिन देखि नै २५ प्रतिशतको सीमाले बैंकिङ क्षेत्रमा समेत समस्या देखिने भन्दै घरजग्गामा गएको लगानीबाट सट्टेबाजी हो भन्न नमिल्ने बताए।
उनले तत्कालको अवस्थामा राष्ट्र बैंकले सबै निर्देशन फिर्ता लिए पनि कर्जा लगानी गर्न सकिने अवस्था नरहेको बताउँदै सरकारी खर्च बढेमा मात्र बैंकले लगानी गर्न सक्ने बताए। 'सुस्त सरकारी खर्च र शोधानन्तर घाटाका कारण तरलता अभाव भएको हो,' उनले भने, 'तरलता अभाव नहटेसम्म लगानी गर्न सक्ने अवस्था छैन।' उनले तरलता अभावले गर्दा निक्षेपको ब्याज बढेर कर्जाको पनि बढेको जानकारी दिए।
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले घरकर्जालाई रियलस्टेट कर्जामा राख्ने व्यवस्था हटाएमा पनि धेरै समस्या हराएर जाने बताए। उनले घरजग्गा व्यवसायमा आएको मन्दीले बंैंकको खराब कर्जा बढाउने स्थिति आएको दाबी गरे।
'सामान छ। तर, बिक्री भएको छैन,' भण्डारीले भने भने, 'यसको मतलव ग्राहकले समयमा सावाँ ब्याज तिर्न सक्दैन। यसले बैंकको खराब कर्जा बढाउँछ।' बैंकर्स संघका अध्यक्ष अशोक राणाले बैंकका प्रमुख कार्यकारीलाई नाफा बढाउनुपर्ने दबाबले छिटो आम्दानी हुने क्षेत्र घरजग्गामा बढी लगानी गर्दा समस्या आएको बताए। 'अहिले निक्षेप कर्जा अनुपातलगायत कारणले नयाँ कर्जा दिनसमेत गाह्रो परेको हो,' उनले भने।
नेपाल जग्गा तथा आवास विकास संघका तृतीय उपाध्यक्ष ओमराज भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी नियम, राष्ट्र बैंकको निर्देशन र बैंकको ब्याजदरले घरजग्गा व्यवसाय समस्यामा परेको बताए। उनले घर तथा हाउजिङ बनेर तयार हुँदा पनि त्यो किन्ने स्रोत खोजिने व्यवस्थाले बिक्री नभएको दाबी गरे। 'स्रोत खोजिने विद्यमान सीमालाई बढाउन आवश्यक छ,' उनले भने, 'यही कारणले ठूलो समस्या आउने छ।'
अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले १० लाखको सीमा नखोज्दा नेपाल ग्लोबल वार्निङमा पर्ने खतरा बढेकाले सीमाबारे सम्बोधन गर्न नसकिने बताए।
योजना आयोगका सदस्य पुष्कर वज्राचार्यले रियलस्टेट र हाउजिङलाई फरक गर्नुपर्ने धारणा राखे। 'हाउजिङ कारोबारमा सट्टेबाजी हुन हुनु हुँदैन। घरजग्गाको वास्तविक बजार मूल्यांकन गर्ने संयन्त्र बनाउनुपर्छ,' उनले भने।
संघका द्वितीय उपाध्यक्ष इच्छाबहादुर वाग्लेले घरजग्गा खरिद बिक्रीमा कर्जा नपाएको गुनासो गर्दै त्यसलाई सहज बनाउन आग्रह गरे। उनले घरजग्गा व्यवसायलाई नियमन गर्न बेग्लै सरकारी निकाय बनाउनुपर्ने खाँचो औंल्याए।

No comments:

Post a Comment

thanks for comment