मर्जर नै विकल्प

काठमाडौं, माघ ११ (नागरिक)- अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय वाणिज्य बैंकलाई मर्जरमा लगेर यसको ऋणात्मक नेटवर्थ धनात्मक बनाउन सकिने बताएका छन्। उनले बैंकलाई सवल रुपमा ल्याउन कम्तिमा १२ अर्ब रुपैयाँ लगानी आवश्यक भएकाले त्यो रकम सरकारले हाल्न सक्ने अवस्था नरहेको भन्दै मर्जर नै राम्रो विकल्प भएको बताए। 

Bank Merger

 

'विकास खर्चलाई रोकेर बैंकमा पैसा हाल्नु कत्तिको व्यवहारिक हुन्छ,' बैंकको ४६औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले भने, 'जनतासँग पैसा उठाएर बैंकमा हाल्ने भन्ने पनि हुँदैन। त्यसैले मर्जर गरेर नै जाँदा व्यवहारिक हुन्छ।' केही साताअघि केन्द्रीय बैंकले पनि राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) बीच मर्जर गर्न अर्थ मन्त्रालयलाई अनौपचारिक प्रस्ताव गरेको थियो।

अर्थमन्त्रीले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुसमेत मर्जरमा जान चाहिरहेको बताउँदै प्रतिस्पर्धी भएर अगाडि बढ्नलाई पनि राष्ट्रिय वाणिज्य बैंक मर्जरमा जानु पर्ने बताए। उनले बैंकका कर्मचारी युनियनले मर्जर विकल्पका बारेमा खुला रहन आग्रह गरे। कार्यक्रममा युनियनका अधिकारीहरुले मर्जरको विरोध गरेका थिए।
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई मर्जरमार्फत सवल र स्वस्थ्य बनाउन सकिने भन्दै यसमा सहयोग गर्न आग्रह गरे। 'बैंकको मर्जर निश्चत उद्देश्यका लागि आवश्यक छ,' उनले भने, 'ऋणात्मक नेटवर्थलाई धनात्मक पार्दै प्रतिस्पर्धी बनाउन मर्जर आवश्यक छ।'
राष्ट्र बैंक र अर्थ मन्त्रालय मर्जरको पक्षमा रहको भन्दै उनले संस्था सवल भएपछि सरकारी हस्तक्षेप पनि घट्ने दाबी गरे। 'सरकारले पैसा हालेर यसलाई स्वस्थ बनायो भने उसको हस्तक्षेप हुनु स्वभाविक हुन्छ,' गभर्नरले भने, 'संस्था आफै बलियो भयो भने सरकारी हस्तक्षेप पनि घट्छ।'
उनले अन्तर्राष्ट्रिय बैंकहरुलाई नेपालमा आउनलाई खुला गरिएकाले तिनीहरुसँग प्रतिस्पर्धा गर्न पनि राष्ट्रिय वाणिज्य बैंक बलियो हुनु पर्ने बताउँदै उनले मर्जरमा गएर बैंक आफै बलियो भएपछि प्रतिस्पर्धामासमेत खरो उत्रन सक्ने बताए।
'प्रतिस्पर्धाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर कम गरेर जानु पर्छ,' उनले भने, 'यसका लागि वृहत रुपमा जान आवश्यक छ। वृहत रुपमा जाँदा सञ्चालन खर्च घट्छ।' उनले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकले मर्जरका लागि सहयोग गर्दिनु पर्‍यो भनेर आइरहेको जानकारी दिए।
गभर्नरले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी बैंक आफैले नियुक्त गर्नुपर्छ भन्ने पक्षमा राष्ट्र बैंकसमेत रहेको बताए। उनले कहिलेसम्म त्यो व्यवस्था मिलाउने भन्ने बारेमा केही बताएनन्।
उनले एसेट म्यानेजमेन्ट कम्पनीका खोल्नका लागि केही संस्थाहरु आइरहेको जानकारी दिँदै यसमा राष्ट्र बैंकले सैद्धान्तिक सहयोग गर्ने बताए। 'कम्पनी खोल्ने इच्छा देखाएर केही आइरहेका छन्,' उनले भने, 'उनीहरुले बैंकहरुसँग बिजनेस मागिदिनु पर्‍यो भनेका छन्।' गभर्नरले कम्पनीका लागि बैंकसँग बिजनेस खोजिदिएर राष्ट्र बैंक विवादमा पर्न नचाहने भन्दै उनले सैद्धान्तिक सहयोग गर्नसक्ने बताए।
गभर्नरले बैंकहरु ग्रामीण क्षेत्रमा गएमात्र वृद्धि हासिल गर्न सक्ने बताउँदै शहर केन्द्रीत व्यवसाय सकिएको दाबी गरे। 'अब पहिलेजस्तो शहरमा २० प्रतिशतको वृद्धि हासिल गर्ने अवस्था छैन,' उनले भने, ...गाउँमा गएर वित्तीय सेवा दिए २० प्रतिशतको वृद्धि सजिलै हासिल गर्न सकिन्छ।' उनले घरजग्गा र सेयर कारोबारमा शिथिलता आएकाले यस क्षेत्रमा लगानी गरेर वृद्धि हासिल गर्न नसकिने बताउँदै बैंकहरुलाई गाउँ जान आग्रह गरे।
वार्षिकोत्सवमा प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले बैंकलाई प्रतिस्पर्धी बनाउँदै सेवा विस्तार गरेर लगिने बताए। बैंकको १ सय २८ वटै शाखा यान्त्रिकरण भएको जानकारी दिँदै उनले सोमबारबाट सय वटा शाखाबाट निःशुल्क अन्तर शाखा कारोबार गर्न सकिने व्यवस्था मिलाइएको बताए। बैंक विगत आठ वर्षदेखि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रक्रियामा छ।

 
बोनस बाँड्नु पर्छ


अर्थमन्त्री सुरेन्द्र पाण्डेले सन्चित नोक्सानी रहेको संस्थाले नाफा गरे बोनस बाँड्नु पर्ने व्यवस्थाको पक्षमा आफु रहेको बताएका छन्। 'कानुनले नै खान पाइन्छ भनेर व्यवस्था गरेकाले म पनि बोनस बाँड्नु पर्छ भन्ने पक्षमा छु,' उनले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिले सञ्चित नोक्सानीमा रहेका सार्वजनिक संस्थाले बोनस बाँड्न नमिल्ने भन्दै यसमा रोक लगाएको छ। नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँड्न लागेपछि उसले रोक लगाएको थियो।

अर्थमन्त्रीले सबैलाई मिलाएर बोनस बाँड्ने निर्णय गरिने बताउँदै बोनस खानका लागि केही समय पर्खिन आग्रह गरे। राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले बोनसमा रोक लगाउन नहुने माग राखेपछि उनले चाँडै बोनस खान स्वीकृति दिने बताएका हुन्।

'सबै पक्षलाई पहिले मिलाउँ अनि बाँडौला,' उनले भने, 'मैले बाँड्ने निर्णय गरेपछि अन्य निकायले रोकिदिँदा यो राम्रो हुँदैन। त्यसैले केही समय पर्खिनुस्। तपाईहरुको बोनस कही जाँदैन।'

No comments:

Post a Comment

thanks for comment