बैंकको ब्याज चर्को


सुदर्शन सापकोटा
काठमाडौं पुस ८
'बैंकले दुई प्रतिशत ब्याज बढ्ने सुचना दिइसक्यो,' वानेश्वर शान्तिनगरका हिमाल पौडेलले निरास हुँदै भने, 'एक बर्षभित्र चार पल्ट ब्याज वढिसक्यो ।'
पौडेलले तीन बर्षअघि एभरेष्ट बैंकबाट घर बनाउन ऋण लिएका थिए । बैंकको ब्याज सस्तो भएको बेला बार्षिक ९ प्रतिशतका दरले ऋण लिएका उनलाई बैंकले साढे १४ प्रतिशत ब्याज पुगेको जानकारी गराइसकेको छ ।

'आवश्यकता अनुसार ब्याज दर तलमाथि हुनसक्छ भनेर कागज गराएका छन्,' उनले भने, 'त्यही भएर विरोध गर्न पनि सकिदैन । जति भन्छन् त्यति तिर्दै जानु परेको छ ।' उनले बैंकबाट १२ लाख रुपैयाँ कर्जा लिएका थिए । मासिक १३ हजार रुपैयाँका दरले किस्ता पनि तिर्दै आएका छन् । तर अब भएको बृद्धिले कति किस्ता तिर्नु पर्ने हो उनलाई थाहा छैन ।
पौडेलको मात्र होइन बैंकबाट कर्जा लिएका सबै मध्यम वर्गीय परिवारको अहिले भएको ब्याज बृद्धिबाट बजेट विगि्रएको छ ।
बैंकहरुले आगामी साताबाट लागू हुने गरी ब्याजदर डेढदेखि २ प्रतिशत विन्दुसम्मले बृद्धि गरेका छन् । यो बृद्धिले घरजग्गा कर्जाको १८ र सवारी साधनको १७ प्रतिशतसम्म ब्याज पुग्ने छ । विकास बैंक र वित्तीय संस्थाबाट कर्जा लिनेको ब्याज दर थप महंँगो हुनेछ । यसपालीको समेत गरेर बैंकहरुले एक बर्षभित्र पाँच पटक ब्याज बृद्धि गरेका हुन् ।

बैंकरहरु दसैंयता निक्षेप घटेर तरलता अभाव हुन थालेपछि महँगोमा निक्षेप लिनु परेको र यसले पुँजी लागत बढाएकाले कर्जाको ब्याजमा पनि बृद्धि गर्नु परेको बताउँछन् । 'व्यापारको सिद्धान्तअनुसार खरिद मूल्य वढेपछि विक्री मूल्य पनि वढाउनु पर्छ,' बैंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले बिहीबार नागरिकसँग भने . 'महंगोमा निक्षेप लिनु परेको छ त्यही अनुपातमा कर्जाको ब्याज वढाउन वाध्य भएका हौं ।'
उपभोक्ताहरु भने बैंकको मनपरी ब्याज बृद्धिले आर्थिक स्थितिनै डामाडोल हुने अवस्था भएको बताउँछन् । 'ऋण लिएपछि ब्याज तिर्नु पर्छ । तर मनपरी ढंगले बीचबीचमा बृद्धि गरिदिँदा बजेट विगि्रन्छ,' पौडेलले भने , 'कतिसम्म ब्याज बृद्धि गर्ने भन्ने सीमा तोकिनु पर्छ । नत्र आफूलाई अप्ठ्रो पर्ने वित्तिकै ब्याज वढाउने प्रवृत्ति दोहोरिरहन्छ ।'
पटक पटकको ब्याज बृद्धिबाट सर्वसाधारण तथा उद्योगी ब्यवसायीलाई अप्ठ्यारो परेको गुनासो आउन थालेपछि नियामक निकाय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अनौपचारिक रुपमा त्यसो नगर्न आग्रह पनि गरेको हो । तर बैंकहरुले महंगो ब्याजमा निक्षेप लिएर पुरानै दरमा कर्जा दिँदा अस्थिरता आउने भन्दै राष्ट्र बैंकको आग्रहलाई स्वीकार गरेका छैनन् ।
'एक बर्षदेखि १२ प्रतिशतमा निक्षेप लिइरहेका छौं । लिएको निक्षेपमध्ये २० प्रतिशत तरलता कोष समायोजन गर्दा ८० प्रतिशत मात्र लगानी गर्न पाइन्छ,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नागरिकसँग भने, 'यसले १२ प्रतिशतमा लिएकॊ निक्षेपको लागत सोझै १३ प्रतिशत पुग्छ । साचालनलगायत अन्य खर्च गरेर कर्जाको ब्याज निर्धारण गरिने हुँदा कम स्प्रेड राखेर दिन सकिन्न ।'
राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्लेले ब्याज दरमा पटक पटक भएको बृद्धिबाट केन्द्रीय बैंक गम्भिर भएको बताए । 'यस विषयमा हामी गम्भिर भएका छौं,' उनले नागरिकसँग भने, 'पटक पटक भएको ब्याज दर बृद्धिले सर्वसाधारणदेखि उद्योगी व्यापारीको व्यवसायसमेत चौपट हुने अवस्था आउँछ । यसलाई शंवोधन गर्ने पक्षमा राष्ट्र बैंक गम्भिर छ ।'
राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार बैंकहरुले लिएको कुल निक्षेपमध्ये ३० देखि ३५ प्रतिशत मात्र महँगो दरको छ । 'बैंकहरुले कुल निक्षेपको एक तीहाइ मात्र अहिलेको महँगो दरमा लिएको निक्षेप हो,' उनले भने, 'तर प्रवाह गरेको सवै कर्जाको ब्याज बढाएका छन् ।' उनले बैंकहरुको ब्याज बृद्धिलाई केन्द्रीय बैंकले नजिकबाट हेरिरहेको भन्दै यसलाई मार्गनिर्देशनमार्फत चाँडै शंवोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।
गत शुक्रबारसम्म ३० वाणिज्य बैंकसँग ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप छ । राष्ट्र बैंक स्रोतका अनुसार यसमध्ये करिब २ खर्ब १० अर्ब मात्र महँगो दरको निक्षेप हो ।




No comments:

Post a Comment

thanks for comment