वोर्डको दबाबले नाफा बढाउनु पर्ने बाध्यता : बैंकर


सुदर्शन सापकोटा
काठमाडौं पुस १५
संस्थापक सेयरधनीहरुको दवावले असामान्य अवस्थामा पनि नाफा बढाउनु पर्ने वाध्यतामा प्रमुख कार्यकारी अधिकृत सिइओ हरु हुने गरेको बैंकरहरुले बताएका छन् । तरलता अभावको वहानामा पछिल्लो पटक भएको कर्जाको ब्याज दर बृद्धि पनि यही कारणले भएको हो ।

'प्रमुख कार्यकारीलाई ठूलो लक्ष्य दिएर चाँडो प्रतिफल खोज्ने प्रवृत्ति संस्थापक सेयरधनीमा हुने भएकाले नाफा बढाउनु पर्ने दवाब छ,'  डिसिबिएल बैंकका सिइओ सुधिर खत्रीले नागरिकसँग भने । उनका अनुसार अधिकांस संस्थापक सेयरधनी व्यापारमा जस्तो चाँडो प्रतिफल खोज्ने खालका छन् । यसले गर्दा प्रमुख कार्यकारीहरुलाई नाफा बढाउनु पर्ने दवाब हुन्छ । 'सेयरधनीले बैंकलाई व्यापार जस्तो नठानेर दीर्घकालिन रुपमा सोच्न आवश्यक छ,' उनलॆ भने ।
एक बैंकरका अनुसार साचालक समितिले हरेक बर्ष सिइओलाई नाफाको लक्ष्य दिन्छन् । सिइओको कार्यदक्षता उसले आर्जन गर्ने नाफासँग जोडिने हुँदा प्रमुख कार्यकारीले अघिल्लो बर्षको तुलनामा केही न केही बृद्धि हाँसिल गर्नु नै पर्छ । 'राष्ट्र बैंकको मार्गनिर्देशन पनि पालना गर्नु पर्यो,' ती बैंकरले भने , 'सँगै वोर्डको लक्ष्य पनि हाँसिल गर्नु पर्ने भएकाले नाफा गर्नु पर्ने दबाब हुन्छ ।'
'पूर्वगभर्नर दिपेन्द्रवहादुर क्षेत्रीले बैंकरको तर्कसँग असहति राख्दै भने , 'राष्ट्र बैंकको मार्गदर्शन पच्छ्याएर काम गर्नु पर्ने भएकाले ठूलो बृद्धिमा नाफा गर्न सकिदैन भनेर वोर्डलाई सम्झाउनु पर्छ ।' उनले सिइओहरुले व्यवसायिक धर्म र नैतिकता पालना गरेर सामान्य समस्याको भारी जनतालाई बोकाउन नहुने बताए ।
'नाफाका लागि दबाब त भइहाल्छ,' हालै साचालनमा आएको कमर्ज एण्ड ट्रष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनल भट्टराईले नागरिकसँग भने, 'बोर्ड सदस्यलाई बुझाउन सकेमा नाफाको दबाब हुँदैन ।' यद्यपी उनले पछिल्लो समयमा तरलता अभाव बढ्दै गएकाले बैंकहरु ब्याज दर बृद्धि गर्नु पर्ने दवावमा रहेको बताए ।
खत्रिका अनुसार पछिल्लो अवधिमा प्रतिस्पर्धा वढेर निक्षेपको ब्याज बढाउनु परेकाले कर्जाको पनि बढेको बताए । निक्षेपको ब्याजमा बृद्धि गर्दा पनि पैसा नआएको भन्दै उनले अहिले लगानी विस्तारका लागि बैंकहरु अप्ठ्यारो अवस्थामा रहेकेा जानकारी दिए । 'मैले राष्ट्र बैंकबाट १२ प्रतिशतमा निक्षेपका लागि बोलकबोल गर्दा त पैसा पाइन,' खत्रीले भने, 'अनि कसरी लगानीको ब्याज दर तल जान्छ ?' उनले सस्तोमा पैसा पाउन थालेपछि कर्जाको ब्याज दर आफै तल आउने बताए ।
गभर्नर युवराज खतिवडाले पनि निक्षेपमा बृद्धि नभएको स्वीकार गर्दै तत्काल कर्जाको ब्याज दर तल आउन गाह्रो हुने बताएका छन् । 'तरलता अभावका कारण सस्तो दरमा कर्जा पाउन सकिने अवस्था छैन,' एक कार्यक्रममा उनले भने, 'तर बैंकहरुले पनि अस्वभाविक दरले कर्जाको ब्याजदर बढाउनु हुँदैन ।' उनले ब्याजदरको निगरानी गर्ने बताए ।
गभर्नरका अनुसार सरकारी खातामा रहेको १५ अर्ब रुपैयाँ खर्च हुन नसक्दा तरलता समस्या आएको हो । 'बजेट समयमै आएर कार्यान्वयन हुन थालेको भए हामीले प्रक्षेपण गरेजस्तै निक्षेप १५ देखि २० प्रतिशतले बृद्धि हुन्थ्यो,' उनले भने, 'यसले तरलता सहज हुन्थ्यो ।'
बैंकरहरु पनि बजेट कार्यान्वयन हुन नसक्दा तरलता अभाव भएर ब्याज दर बृद्धि गर्नु परेको बताउँछन् । बजेट समयमा नआएर सरकारी खर्च हुन नसक्दा तरलता अभाव भइ कर्जाको ब्याज दर बढाउनु परेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । 'बजेट समयमा आएको भए बैंकहरुको निक्षेप वृद्धि भएर यसको सँगै कर्जाको पनि ब्याज घट्थ्यो,' उनले भने, 'अहिले कच्च पदार्थ निक्षेप को मूल्य ब्याज दर बढेपछि उत्पादन कर्जा को पनि मूल्य बढ्छ ।'
बैंकहरुले पछिल्लो समयमा ३ प्रतिशत विन्दुसम्म कर्जाको ब्याज बढाएका छन् । अहिले घरजग्गाको १८ र सवारी साधनको १६ प्रतिशतसम्म ब्याज दर पुगेको छ । पुराना ऋणीको ब्याजदर पनि १५ प्रतिशतसम्म पुगिसकेको छ ।

No comments:

Post a Comment

thanks for comment