राष्ट्र बैंक पछाडि फर्किदैन : गभर्नर


सुदर्शन सापकोटा

काठमाडौं पुस १७
कसिलो नीति लिएको आरोपको खण्डन गर्दै गभर्नर युवराज खतिवडाले आफू कहिले पछाडि नफर्किने बताएका छन् । 'राष्ट्र बैंक पछाडि फर्कियो भन्ने आरोप लाग्न थालेको छ,' वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक र वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुसँगको छलफलमा उनले भने, 'यो कदापी होइन पछाडि फर्किदैनौं यसमा शंका नगर्नु होला ।'


खतिवडा गभर्नर नियुक्त भएपछि केन्द्रीय बैंकलाई सोधेर शाखा खोल्नु पर्ने ब्यवस्था ब्याज दर र सेवा शुल्क मार्गनिर्देशन तथा प्रमुख कार्यकारीको तलब सीमा निर्धारणलगायतका नीति आएपछि राष्ट्र बैंकलाई पछाडि फर्किएको आरोप लागेको हो । गभर्नरले यही आरोपको खण्डन गर्दै आफू खुला अर्थतन्त्रको पक्षपाती भएकाले पछाडि फर्कन नसक्ने बताएका हुन् ।
'तपाईहरु मलाई शंका नगर्नु होला मैले व्यवस्थित पार्न मात्र खोजेको हुँ,' अनुसन्धान विभागले शुक्रबार आयोजना गरेको छलफलमा उनले भने । गभर्नरले बजारमा राष्ट्र बंैकले हस्तक्षेपकारी नीति लियो भन्ने चर्चा चलिरहेको भन्दै यस्ता हल्लाका पछाडि नदौडिन बैंकरलाई आग्रह गरे ।
'बैंकहरुको लाइसे_िन्सङ खोल्नु पर्छ भनेर त्यसको मस्यौदा बनाउनेमध्येको म पनि एक हो,' उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'मैले नै ब्याजदर खुला छाडिदिनु पर्छ भनेर पनि मस्यौदा तयार पारेको थिएँ ।' करिव १५ मिनेटको संवोधनम उनले आधाभन्दा वढी समय राष्ट्र बैंक पछाडि फर्किन लाग्यो भन्ने चर्चालाई विश्वास नगर्न आग्रह गर्दै विताएका थिए ।

गभर्नरले विकास बैंक र वित्तीय कम्पनीको तथ्यांक ढिला र अपूर्ण आउँदा वित्तीय क्षेत्रको वास्तविक अवस्था थाहापाउन कठिन भएको बताए । 'तीन महिनाअघिको अवस्था कस्तो थियो भनेर कसैले सोध्यो भने पनि भन्न सकिने अवस्था छैन,' उनले भने, 'तपाईहरुले यस्तो तथ्यांक चाँडो र पूर्ण दिएर सहयोग गर्नु होला ।' गभर्नरले पछिल्लो समयमा तरलता अभाव भएको देखिएको भन्दै यसमा केन्द्रीय बैंकले गर्नु पर्ने सहयोगका बारेमा लिखित सुझाव दिन बैंकरलाई आग्रह गरे । 'हामीले प्रक्षेपण गरेजस्तो निक्षेप वढ्न सकेको छैन,' उनले भने, 'यसले तरलता अभाव भएको हो यसमा हामीले के गर्नु पर्छ लिखित सुझव दिनु होला ।'
गभर्नरकॊ भनाइमा समर्थन गर्दै दुई डेपुटी गभर्नरले वित्तीय नीति नै उदार भएकारले मौदि्रक नीति त्यसको विपरित भएर आउन नसक्ने हुँदा राष्ट्र बैंक पछाडि नफर्किने बताए ।
'केन्द्रीय बैंकको गरिमालाई तपाईहरुले बुझिदिनु होला,' डेपुटी गभर्नर गोपाल काफ्लेले भने, 'गरिमा कायम राख्न केही नीति आएका हुन् । यसको अर्थ हामी पछाडि फर्किएको होइन ।' उनले अर्थतन्त्रलाई सवल बनाइ राख्न नियम कानुन पालना गराउनु परेकाले यसमा सम्झौता गर्न नसक्ने बताए । 'तपाई हामी सबै मिलेर अगाडि वढ्ने हो,' उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'त्यही भएर केन्द्रीय बैंकलाई अविश्वास गर्नु हुँदैन ।'
उनले हिजोका दिनमा केन्द्रीय बैंकको नेतृत्व कमजोर भएर वाहिरियाको हस्तक्षेपले नीति नियममा प्रभाव परेको उल्लेख गर्दै दुई डेपुटीको नियुक्तिपछि राष्ट्र बैंकको नेतृत्व वलियो भएको दावी गरे । 'आज राष्ट्र बैंकको नेतृत्व वलियो छ,' उनले भने, 'अब वाहिरियाको सुझाव लिन सकिन्छ तर उनीहरुले भनेको मान्न सकिदैन ।'
अर्का डेपुटी गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक जहिले पनि वित्तीय क्षेत्रको सवलता चाहने हुँदा कडा हुन खोज्यो भन्ने हल्लाको पछाडि नदौडन आग्रह गरे । 'राष्ट्र बैंक कडा हुन खोजेको होइन,' उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो , 'यसलाई नकारात्मक रुपमा नवुझ्नु होला ।'
उनले राष्ट्र बैंकले ल्याएका सबै मार्गनिर्देशन तथा नीतिहरु पूर्ण नभएको भन्दै समय अनुरुप समायोजन गरिदै लगिने बताए । 'धारणा फरक हुने भएकाले नीति पूर्ण नभएका हुनसक्छन्,' उनले भने,  'छलफल र सहकार्यबाट यसलाई पूर्ण बनाउँदै लैजानु पर्छ ।'
डेपुटी गभर्नर नियुक्तिपछि असन्तुष्ट रहँदै आएका १० विभागीय प्रमुखहरु कार्यक्रममा उपस्थित थिएनन् । ती कार्यकारी निर्देशकले डेपुटी गभर्नरको सपथ ग्रहण कार्यक्रमसमेत वहिस्कार गरेका थिए । लोकवहादुर खड्का र विष्णु नेपाल मात्र छलफलमा सहभागी भएका थिए । दुई डेपुटी गभर्नरलाई चिनाउने हिसबले छलफल कार्यक्रम आयोजना गरिएको सहभागी एक बैंकरले जानकारी दिए ।


No comments:

Post a Comment

thanks for comment