बैंकको ३० प्रतिशत निक्षेप मात्र महँगो


सुदर्शन सापकोटा
काठमाडौं पुस १०
कुल दायित्वमध्ये ३५ प्रतिशत मात्र महँगोमा निक्षेप लिएका बैंकले कर्जाको ब्याज भने सत्प्रतिशतको बढाउने गरेका छन् । नाफाको बृद्धि दरमा कमी हुन नदिनका लागि बैंकहरुले तरलता लगानी योग्य पुँजी अभावको वहानामा सत् प्रतिशत कर्जाको ब्याज बढाउने गरेका हुन् ।

राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार बैंकहरुले लिएको कुल निक्षेपमध्ये ३० देखि ३५ प्रतिशत मात्र महँगो दरको छ । 'बैंकहरुले कुल निक्षेपको एक तीहाइ मात्र अहिलेको महँगो दरमा लिएको निक्षेप हो,' उनले भने , 'तर प्रवाह गरेको सवै कर्जाको ब्याज बढाएका छन् ।' गत शुक्रबारसम्म ३० वाणिज्य बैंकसँग ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप छ । राष्ट्र बैंक स्रोतका अनुसार यसमध्ये करिब २ खर्ब १० अर्ब मात्र महँगो दरको निक्षेप हो ।

जनवरी १ देखि लागू हुने गरी बैंकहरुले सबै किसिमका कर्जाको ब्याज बढाइसकेका छन् । जबकी डेढ महिनाअघि निक्षेपको ब्याज बढाउँदा उनीहरुले त्यसअघिको बचतकर्तालाई बढेको ब्याज दिएका थिएनन् ।
पूर्वगर्भनर दिपेन्द्रवहादुर क्षेत्रीका अनुसार बैंकहरुको नाफा वढी खोज्ने प्रबृतिले कुल निक्षेपको केही भाग मात्र महँगोमा लिएर सबै कर्जाको ब्याज बढाउने गरेका हुन् । 'बैंकहरुले नाफा खोज्नु स्वभाविक हो तर उनीहरुले सुपर नाफा खोज्न थाले,'  उनले शनिबार नागरिकसँग भने, 'उनीहरुले नैतिक रुपमा व्यवसाय गर्ने गरेको भए अर्थतन्त्र कमजोर हुँदा उनीहरुले मात्र कसरी बॄद्धि हाँसिल गर्न सक्थे ।'
अघिल्लो वर्ष नेपालका २७ वटा वाणिज्य बैंकले १४ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेका थिए । यो त्यसअघिको नाफाका तुलनामा औसतमा २० प्रतिशत बढी हो । खुद निक्षेप आम्दानी पनि २८ प्रतिशतले बृद्धि भएको थियो ।
'नाफाका लागि बढाएको ब्याजले बैंकहरुलाई तत्काल फाइदा गरेपनि महँगो ऋणको बोझले कर्जा्र लिनेले तिर्न नसक्ने अवस्था आउँदा बैंक ठूलो दुर्घटनामा पर्नसक्छ,' क्षेत्रीले भने, 'नाफालाई मात्र हेरेर हुँदैन दीगो बृद्धि बारे सोच्न आवश्यक छ ।' उनका अनुसार बैंकरहरुले तत्काल नाफा बढाएर नियमित तलब वाहेक पाउने इन्सेन्टिभ सुविधा वढी पाउने लोभले जथाभावी कर्जाको ब्याज बढाएकाले यसलाई केन्द्रीय बैंकले नै हस्तक्षेप गरेर सुधार गर्नु पर्ने बताए । 'सबै कुरा खुला छाडिदिएर हुँदैन,' क्षेत्रीले भने , 'वित्तीय अनुसासन कायम गर्न पनि हस्तक्षेप आवश्यक छ । अनौपचारिक रुपमा बोलाएर मौखिक भएपनि हस्तक्षेप गर्नु पर्छ ।'
बैंकहरुले ब्याजदर डेढदेखि २ प्रतिशत विन्दुसम्मले बृद्धि गरेका छन् । यो बृद्धिले घरजग्गा कर्जाको १८ र सवारी साधनको १७ प्रतिशतसम्म ब्याज पुग्ने छ । विकास बैंक र वित्तीय संस्थाबाट कर्जा लिनेको ब्याज दर थप महंँगो हुनेछ । यसपालीको समेत गरेर बैंकहरुले एक बर्षभित्र पाँच पटक ब्याज बृद्धि गरिसकेका छन् ।
बैंकरहरु भने यो मान्न तयार छैनन् । उनीहरुका अनुसार पछिल्लो डेढ बर्षको अवधिमा सबै किसिमका निक्षेपको ब्याज बढेर महँगो भइसकेकाले कर्जाको बढाउन वाध्य भएको हो ।
'एक बर्षदेखि १२ प्रतिशतमा निक्षेप लिइरहेका छौं । लिएको निक्षेपमध्ये २० प्रतिशत तरलता कोष समायोजन गर्दा ८० प्रतिशत मात्र लगानी गर्न पाइन्छ,'  एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नागरिकसँग भने, 'यसले १२ प्रतिशतमा लिएकॊ निक्षेपको लागत सोझै १३ प्रतिशत पुग्छ । साचालनलगायत अन्य खर्च गरेर कर्जाको ब्याज निर्धारण गरिने हुँदा कम स्प्रेड राखेर दिन सकिन्न ।' उनका अनुसार बैंकहरुले अहिले ३ देखि ४ प्रतिशतको स्प्रेड निक्षेप र कर्जाको ब्याज दरबीचको फरक मा काम गरिरहेको जानकारी दिए ।
उनले अहिले बैंकहरुले नाफाका लागि नभइ स्थायित्वका लागि ब्याज दर बढाएको दावी गरे । 'अहिले वास्तवमै बैंकहरु अप्ठ्यारो अवस्थामा छन,'  उनले भने, 'केही बर्षअघि डेढ करोड लगानी गरेर ७ करोड नाफा हुन्थ्यो । अहिले ८ अर्ब लगानी गर्दा १६ करोड रुपैयाँ मात्र लगानी छ । यसबाटै थाहा हुन्छ नाफाको अनुपात धेरै नै घटिसकेको छ बैंकहरु अप्ठ्यारोमा छन् भन्ने ।'
'बैंकहरु अप्ठ्यारोमा परेको भन्छन् तर उनीहरुको नाफा त घटेको छैन,' एभरेष्ट बैंकबाट १२ लाख रुपैयाँ ऋण लिएका हिमाल पौडेलले नागरिकसँग भने, 'उनीहरुले ऋण दिँदा गरेको सम्झौतालाई आधार बनाएर 'ब्ल्याकमेलिङ' गरिरहेका छन् ।'


No comments:

Post a Comment

thanks for comment