एभरेष्ट इन्स्योरेन्स युनियनद्वारा आफै प्रमुख कार्यकारी सिफारिस

सुदर्शन सापकोटा
काठमाडौं, भदौ १८ 
सम्पूर्ण कारोबार बन्द गरेर आन्दोलनमा बसेका एभरेष्ट इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले सहायक महाप्रबन्धकलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न सञ्चालक समितिमा सिफारिस गरेका छन्। वर्तमान प्रमुख कार्यकारी अधिकृतले समस्या सुल्झाउन पहल नगरेको भन्दै कर्मचारी युनियनको अगुवाइमा नयाँ प्रमुख कार्यकारी अधिकृतको सिफारिस गरिएको हो। 
युनियनले नयाँ प्रमुख कार्यकारीमा वित्त विभाग प्रमुख तथा सहायक महाप्रबन्धक अनिल ढुङगेललाई नियुक्तीका लागि सिफारिस गरेको छ। बर्तमान प्रमुख कार्यकारी केवलकृष्ण श्रेष्ठले नियामक निकाय बिमा समितिसँगको सम्वन्ध विगारेका कारण समस्या सुल्झनुको साटो बिग्रिएको भन्दै कर्मचारीहरुले नयाँ प्रमुख कार्यकारी नियुक्त गर्न सिफारिस गरेको बताएका छन्। केही दिनमै बस्ने कम्पनीको सञ्चालक समितिको वैठककमा नयाँ प्रमुख कार्यकारीको नाम अनुमोदन गराउन दवाव दिने पक्षमा युनियन छ। 
'कम्पनी सञ्चालन हुनु पर्छ भन्ने मान्यताले अहिले सबै कर्मचारी एक भएका छन्। बर्तमान प्रमुख कार्यकारी श्रेष्ठ एकातिर छन् बाँकी कर्मचारी अर्कातिर भएको अवस्था छ,' युनियनका अध्यक्ष शम्शेर रोकाले मंगलबार नागरिकसँग भने, 'त्यही भएर संस्था चलाउनका लागि नयाँ प्रमुख कार्यकारीको नाम सिफारिस गरेका हौं।'
कम्पनीमा समस्या हुनु पूर्व एभरेष्टमा ढुङगेलसहित तीन जना सहायक महाप्रबन्धक छन्। कम्पनी बन्दतर्फ लागेपछि यसमध्ये रमा दाहालले राजिनामा गरिसकेकी छन् । 

मायोज चाउचाउ उत्पादन गर्ने कम्पनी हिमालयन स्न्याक्सलाई पूर्ण विवरण आउनु पूर्व दावी भुक्तानी दिएको पुष्टी भएपछि बिमा समितिले एभरेष्टको अग्नी बिमा कारोबारमा रोक लगाएको थियो। एभरेष्टका तत्कालिन अध्यक्ष राजेन्द्रकुमार खेतानको आफ्नै कम्पनीले नियम विरुद्ध गएर रकम लगेको भन्दै कुल कारोबारमा २० प्रतिशत हिस्सा ओगट्ने अग्नी बिमामा रोक लगाइएको थियो। अग्नी बिमा कारोबारमा रोक लगापछि कम्पनी व्यवस्थापन र सञ्चालक समितिले कारोबार अवरुद्ध गरेका थिए। पछि बिमा समितिको हस्तक्षेपमा कारोबार सुचारु भएपनि नयाँ व्यापार गर्न छाडिएको थियो। 
'प्रमुख कार्यकारी श्रेष्ठले कर्मचारीहरुसँग छलफल हुँदा राजिनामा गर्छु भन्दै आउनु भएको छ, हामीले पनि राजिनामा गर्दा राम्रै हुन्छ भन्ने सल्लाह दिएका छौं,' कार्यकारीमा सिफारिस भएका ढुङगेलले भने, 'अहिलेको अप्ठेरो परिस्थितिमा यहीँकै एक जना प्रमुख कार्यकारी हुँदा राम्रो हुन्छ भनेर युनियनले मलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेको हो। सञ्चालक समितिले निर्णय गरेपछि मात्र युनियनको सिफारिस लागू हुन्छ।'
प्रमुख कार्यकारीका कारण कम्पनी समस्यामा परेको भन्दै कर्मचारी युनियनहरु श्रेष्ठको पक्षमा छैनन्। कम्पनीले साउन लागेदेखि कुनै पनि कारोबार गरेको छैन। कम्पनी सञ्चालन हुन छाडेपछि कर्मचारीहरुले कारोबार सुचारु गर्न धर्ना दिँदै आएका छन्। 
समितिले भदौ १३ गते एभरेष्टले हिमालयन स्न्याक्सको दावीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै बिमा रकम भुक्तानी गरेको भन्दै अग्नी बिमा कारोबारमा रोक लगाएको थियो। त्यसअघि कारोबारका हिसावले देशकै ठूलो एभरेष्टले व्यवसाय खुम्च्याउँदै आएको छ। अघिल्लो वर्ष ७४ करोडको कारोबार गरेको कम्पनीले असार मसान्तसम्म जम्मा ३४ करोडको कारोबार गरेको छ। कारोबार खुम्चिएका कारण कम्पनी घाटामा गएको छ। 
कर्मचारीहरुका अनुसार, सञ्चलक र व्यवस्थापनले कम्पनी नवीकरण र कारोबार सुचारु गर्न कुनै पहल गरेका छैनन्। व्यवस्थापनले चाहेमा कारोबार सुचारु गर्न कुनै कठिनाइ नभएको भन्दै सञ्चालकहरुको'इगो' का कारण कम्पनी बन्द भएको कर्मचारीहरुको आरोप छ।
'रोक लगाइएको बिमालेख बाहेक बाँकी कारोबार गर्न सकिन्छ, तर व्यवस्थापनले सबै बिमालेख जारी गर्न बन्द गरेको छ,' रोक्काले भने, 'सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत जसरी पनि कम्पनी बन्द गराउने पक्षमा लागेको छ।' उनले अग्नी बिमा लेखमाथि लागेको रोक हटाउन व्यवस्थापनले कुनै पहल नगरेको पनि जानकारी दिए।
'समितिले पैसा फिर्ता ल्याउन व्यवस्थापनको प्रतिवद्धता मागेको छ, प्रतिवद्धता पत्र पठाउने वित्तिकै अग्नी कारोबार पनि फुकुवा हुने अवस्था छ,' रोक्काले भने, …व्यवस्थापनले कम्पनी सञ्चालन नगर्ने अड्डी कसेका कारण कर्मचारीहरुलाई अप्ठेरो परेको छ।'
कम्पनीको नविकरण नभएका कारण एभरेष्टले गत असार मसान्तसम्म वृद्धि गर्नु पर्ने पुँजी पनि वढाएको छैन। १० करोड चुक्ता पुँजी रहेको कम्पनीले असार मसान्तसम्म बढाएर २५ करोड पुर्‍याउनु पर्ने थियो। 
कम्पनीका अन्य अधिकारीहरुले बिमा ऐन अनुसार कम्पनीको अस्तित्व नभएको भन्दै बिमा सम्वन्धि कारोबार बन्द गरेको जनाएका छन्। बिमा ऐनमा बिमा सम्वन्धि कारोबार गर्न कम्पनीको नवीकरण अनिवार्य छ। आंशिक कारोबारमा रोक लागेका कम्पनीको कारवाही फुकुवा नहुन्जेल कम्पनी नवीकरण गर्न पाइँदैन। कम्पनी नवीकरण नभएपछि कारोबार गर्न पाइँदैन। हरेक वर्षको चैत मसान्तसम्म कम्पनी नवीकरण गर्नु पर्छ।  

No comments:

Post a Comment

thanks for comment