दसैंमा ३० अर्बको नयाँ नोट वितरण गरिँदै

काठमाडौं, भदौ १९
आउँदो दसैंमा नयाँ नोटको अवाभ हुन नदिन नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ छुट्याएको छ। असोज पहिलो साताबाट नयाँ नोट बजारमा ल्याउने तयारी गरिरहेको राष्ट्र बैंकले सानो दरका नोट बढी वितरण गर्ने भएको छ।
'दसैंमा नयाँ नोटको अभाव हुन नदिन प्रशस्त मौज्दात राखेका छौं,' राष्ट्र बैंकका प्रबक्ता भास्करमणि ज्ञवालीले बिहीबार नागरिकसँग भने, '३० अर्ब छुट्याएका छौं यसले पनि नपुग्ने देखिए थप नोट वितरण गर्ने छौं।'
राष्ट्र बैंकले नयाँसहित एक पटक प्रयोग भइसकेको सफा तथा सुकिला नोटहरु पनि वितरण गर्ने छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आकार अनुसार पाँच लाखदेखि १० करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउने योजना बनाएको छ। 
वाणिज्य बैंकहरुले १० करोडका दरले नयाँ नोट पाउने छन् भने विकास बैंक, फाइनान्स कम्पनीहरुले योभन्दा कम नोट पाउने छन्। गत बर्ष बैंक तथा वित्तीय संस्थालाई दिइएको नोट सर्वसाधारणसम्म नपुग्दै बैंकका कर्मचारीका आफन्त र ग्राहकलाई साटेर सकिएको गुनासो थियो। गत बर्षको गुनासोलाई पनि शंवोधन गर्ने गरी राष्ट्र बैंकले नोट वितरण गर्ने योजना बनाएको जनाएको छ। 
राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरु र राजधानीको थापाथपी बैंकिङ कार्यालयबाट ग्राहकलाई मागेजति नयाँ नोट वितरण गरिने ज्ञवालीले जानकारी दिए। राष्ट्र बैंकले थपाथलीमा आधा दर्जनको हाराहारीमा सटही काउन्टरबाट नोट वितरण गर्ने छ। 

ग्राहकबाट बढी माग हुने  ५, १०, २०, ५० र १०० का नोटहरु वढी वितरण गरिने छ। यसमध्ये २० र ५० का नोटको माग वढी छ। राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरका नोटमध्ये ६० प्रतिशतभन्दा वढी नयाँ हुने छन्। वाँकी नोट सुकिला तथा सफा हुन् छन्। 
राष्ट्र बैंकले पोहोर दसैंका लागि २५ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो। राष्ट्र बैंकका अनुसार, अहिले बजारमा दुई खर्ब १७ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको नोटहरु चलनचल्तिीमा छ। साउन मसान्तसम्मको विवरण अनुसार, राष्ट्र बैंकको बैंकिङ कार्यालयमा चार अर्ब रुपैयाँ नोट मौज्दात त। 
गत बर्ष नयाँ नोट वितरण गर्नुअघि बजारमा १ सय ८८ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए। राष्ट्र बैंकले काठमाडौं बैंकिङ कार्यालय, विराटनगर, जनकपुर, वीरगन्ज पोखरा, भैरहवा, धनगढी, नेपालगन्जबाट नोट सटही गर्ने जनाएको छ।
चार वर्षअघि राष्ट्र बैंकले कम नोट निस्कासन गरेका कारणले सर्वसाधारणले अभाव झेल्नु परेको थियो। त्यसयता पनि राष्ट्र बैंकबाट नोट ल्याएर वितरण गर्ने जिम्मा लिएका बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई मागेजति नयाँ नोट दिन सकेका थिएनन्। गत बर्ष बैंकहरुले ग्राहक र सर्वसाधारणमा फरक व्यवहार गरेको र राष्ट्र बैंकले आफूले प्रतिवद्धता गरेजस्तो आवश्यकता अनुसार थप नोट बैंकहरुलाई नदिएकाले सर्वसाधारणले दुःख पाउनु परेको गुनासो आएको थियो।
राष्ट्र बैंकले पर्वमा नोट प्रयोग गर्दा मैलो नबनाउन पनि सर्वसाधारणसँग अनुरोध गरेको छ। सुकिलो नोट प्रयोग गर्ने प्रवृत्ति विकास गरी राष्ट्रको खर्च बचाउन ज्ञवालीले आग्रह गरे।  'जति छिटो नोट मैलो बनाउँछौं, त्यति चाँडो नयाँ छाप्नुपर्ने हुन्छ,' उनले भने, 'यसले देशको खर्च बढाउँछ।' 
पर्वमा पानीले नोट नभिजाउने, रङ नलगाउने र नपट्याई जतन गर्न उनले अनुरोध गरे। नोट नपट्याएमात्र ८ महिना आयु बढ्ने अनुमान छ। नोटको बन्डलमा जथाभावी स्टिच लगाउने प्रवृत्ति नियन्त्रण गर्न राष्ट्र बैंकले यसअघि निर्देशन दिइसकेको छ।  'चाडबाडपछि बैंकमा नोट फर्कंदा सफा भए देशलाई नै फाइदा हुनेछ,' ज्ञवालीले भने। हजार र पाँच सयको एक नोट छपाइमा दुई रुपैयाँभन्दा बढी खर्च हुन्छ।  

No comments:

Post a Comment

thanks for comment