घर र गाडी कर्जाको ब्याज घट्न थाल्यो

काठमाडौं, भदौ ११
बैंकबाट ऋण लिएर घर र गाडी जोड्न खोज्नेहरुले सस्तो ब्याजमै पैसा पाउन थालेका छन्। बैंकहरुले अन्य ऋणको तुलनामा घर र गाडीको ब्याज घटाएका कारण उपभोक्ताले सस्तो ब्याजमा पैसा पाउने भएका हुन्। 
बैंक तथा वित्तीय संस्थाले घर र गाडी किन्न नियमित र राम्रो आम्दानी भएका ग्राहकलाई …स्किम' मार्फत सस्तोमा कर्जा दिन थालेका हुन्। बैंकसँग ब्याज तिर्नुपर्ने निक्षेप बढिरहँदा त्यस अनुपातमा लगानी नभएपछि उनीहरुले सजिलै घर र गाडीमा ऋण बढाउन थालेका हुन्। 
'बैंकहरुसँग तरलता बढेका कारण ब्याज दर घट्दै गएको छ। दसैंपछि यो अझ घट्छ,' कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले मंगलबार नागरिकसँग भने, 'घर, गाडीका साथै कर्पोरेट ऋणको ब्याज पनि घटेको छ।'
बैंकले एक करोडभन्दा कम मूल्यको घर तथा जग्गा किन्न ऋण दिन थालेका हुन्। यस्तो ऋणमा जोखिम कम हुने भएकाले मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै बैंकहरुले सानो–सानो आकारमा ऋण विस्तार गर्न ब्याज घटाएका हुन्। 
'दसैंमा अल्पकालिन ऋणको माग वढ्छ, यसले गर्दा ब्याज दर दुई महिना सामान्य मात्र घट्छ,' भट्टराईले भने, 'अल्पकालिन माग सकिएपछि बैंकसँग लगानी गर्ने सीमित ठाउँ हुने भएकाले घर, गाडी, अपार्टमेन्टमा जाने कर्जाको ब्याज अझ घट्ने छ।'

घर र गाडी किन्नका लागि १० देखि १२ प्रतिशत ब्याजमा बैंक ऋण पाइन थालेको छ। यसअघि घर र गाडीको कर्जा १३ देखि १४ प्रतिशत माथि थियो। नयाँ र साना बैंकको केही महँगो भएपनि ठूला र पुराना बैंकको ब्याज दर सस्तो भइसकेको छ। यद्यपी नयाँ खुलेका बैंकको कतिपय पुराना बैंकको हाराहारीमा झरेको छ।
बैंकले घर बनाउन लाग्ने खर्चको १ सय २० प्रतिशत र गाडी खरिदका लागि ८० प्रतिशतसम्म ऋण दिइरहेका छन्। गाडी किन्न १० वर्र्षसम्म र घर तथा अपार्टमेन्टका लागि २० वर्र्षे किस्तामा ऋण पाइन्छ। घर मर्मतका लागि पनि ऋण उपलब्ध छन्। त्यसमा चाहिने फनिर्चर किन्नसमेत बैंकले पैसा दिन थालेका छन्।
बैंकहरुले केही बर्षसम्म ब्याज परिवर्तन नहुने आश्वासनसहितको स्किम ल्याउन थालेका छन्। लगानी वातावरण अनुसार ब्याज थपघट हुने ऋणको ब्याज केही बर्ष ब्याज परिवर्तन नहुने ऋणको ब्याजभन्दा केही सस्तो छ। भर्खरै मात्र नबिल बैंकले घर किन्नेका लागि यस्तो स्किम ल्याएको छ। बैंकले १० देखि साढे १० प्रतिशतमा यस्तो कर्जा उपलब्ध गराउन थालेको छ। एनएमबी, हिमालयन, एनआइसी एसियालगायतका बैंकले यस्तो स्किम सञ्चालन गरिरहेका छन्।
अहिले सानिमा, एभरेष्ट, नेपाल बंगलादेश बैंक, ग्रान्ड, माछापुच्छे्र, सिटिजन्स्, प्राइम, जनता, कमर्ज एन्ड ट्रस्ट बैंक नेपाललगायतले १० देखि १२ प्रतिशतको हाराहारीमा यस्तो कर्जा दिइरहेका छन्। 
सामान्यतया राजधानीमा १७ देखि २० लाख रुपैयाँसम्ममा एक तले घर बन्छ। घर बनाउन २० लाख रुपैयाँ लिँदा वार्षिक १२ प्रतिशतका हिसाबले २० वर्षमा तिर्ने गरी मासिक २२ हजार रुपैयाँ किस्ता तिर्नुपर्छ। पुँजी लागत कम भएका ठूला बैंकमा त किस्ता अझ सस्तो पर्छ।
अहिले वाणिज्य बैंकसँग कर्जा दिन पर्याप्त तरलता छ। निक्षेेप संकलन भएको अनुपातमा ऋण लगानी नभएपछि बैंकहरुको ब्याज खर्च बढिरहेको छ। बैंकहरुलाई ब्याज घटाएर पनि जोखिम कम भएको क्षेेत्रमा लगानी गर्नुपर्ने बाध्यता भएको हो।
अहिले बजारमा १७ लाख रुपैयाँमा राम्रै खालको गाडी पाइन्छ। बैंकले यो गाडी किन्न साढे १३ लाख रुपैयाँसम्म ऋण दिन्छन्। १० वर्षसम्म तिर्न मिल्ने यस्तो ऋणको किस्ता मासिक २३ हजार रुपैयाँभन्दा माथि पर्दैन।
मुद्रा बजार (बैंकहरुले आपसमा दिने सापटी अन्तर बैंक, सरकारी ऋणपत्र) को ब्याज दर १ प्रतिशतभन्दा कम भएकाले पनि बैंकहरुलाई नियमित ब्याज ख्वाइरहने क्षेत्रमा लगानी गर्नुपर्ने भएको हो। 

No comments:

Post a Comment

thanks for comment