नेप्सेमा अर्बको सेयर कारोबार : एनबी समूहको साढे ७५ करोडको सेयर आइएफआइसीको स्वामित्वमा

काठमाडौं, भदौ १६
एनबी समूहअन्तर्गतको नेपाल बंगलादेश (एनबी) बैंकको प्रवर्द्धक सेयर बंगलादेशी साझेदारको नाममा नामसारी भएको छ। आइतबार एनबी समूहअन्तर्गत रहेको २९ लाख १४ हजार १२ कित्ता सेयर बंगलादेशी आइएफआइसी बैंकको स्वामित्वमा गएको हो।
प्रति कित्ता २ सय ६० रुपैयाँका दरले सेयर नामसारी भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित कारोबार समय (दिउँसो १२ बजेदेखि ३ बजेसम्म) पछाडि भएको नामसारीपछि एनबी समूहको स्वामित्व एनबी बैंकबाट लगभग सकिएको छ। 
'बिहान १० बजेदेखि आफूसहित बैंकको टिम लागेर सेयर नामसारी गराइएको छ,' बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङगानाले आइतबार साँझ नागरिकसँग भने, 'अब  वाँकी सेयर नामसारी गर्न पनि बाटो खुलेको छ।' एनबी समूहका सदस्यहरु सञ्चालक रहेको सेयर र अर्को साझेदार बैंक एसियाको प्रबर्द्धक सेयर नामसारीपछि एनबी बैंकमा आइएफआइसीको स्वामित्व ५१ प्रतिशत पुग्ने छ।
नेप्सेमा २६० रुपैयाँका दरले एनबी बैंकको २९ लाख कित्ताभन्दा वढी सेयर नामसारी भएपछि कुल कारोबार रकम एक अर्ब तीन करोड ४१ लाख रुपैयाँ नाघेको छ। एनबी बैंकको ७५ करोड ७६ लाख ४३ हजार रुपैयाँभन्दा बढीको प्रबर्द्धक सेयर कारोबार भएको छ। बाँकी नियमित कारोबार अन्तर्गत २७ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

आइएफआइसी बैंकको नाममा बाँकी सेयर पनि नामसारी भएपछि एनबी बैंकको व्यवस्थापन पनि उसैले सम्हाल्ने छ। 'अब सञ्चालक समितिसहित व्यवस्थापन पनि उनीहरुले नै हेर्ने छन्,' ढुङगानाले भने,'दोस्रो र तेस्रो चरणमा आइएफआइसीबाट जनशक्ति आउने छ। तर अन्य प्रकृया पनि बाँकी रहेकाले व्यवस्थापन तिहारपछि मात्र उनीहरुले लिने छन्।'
आइएफआइसीले मनास्लु इन्भेष्टमेन्ट र क्यापिटल इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिद गरेको हो। दोस्रो चरणमा बैंक एसियाको २६ लाख ६७ हजार ५ सय कित्ता सेयर र तेस्रो चरणमा एनबी समुहका सदस्यहरुका नाममा रहेको सेयर नामसारी हुने छ। बैंकमा एनबी समुहका लक्ष्मीवहादुर श्रेष्ठको प्रत्यक्ष ३.५ प्रतिशत र जितवहादुर श्रेष्ठको ३.३ प्रतिशत सेयर छ। जितवहादुरका छोरा जेन श्रेष्ठको ०.६९ प्रतिशत सेयर छ। उनीहरु तीनै जना कालोसुचीमा छन्। सञ्चालक समितिमा प्रतिनिधित्व गरेको सेयर त्यहाँबाट हटेको एक वर्ष नपुगेकाले विक्री नगरिएको हो। आउँदो कात्तिकपछि यो सेयर पनि नामसारी हुने छ। 
आइएफआइसी बैंकलाई विक्री गरिएको सेयरको रकम विभिन्न बैंक तथा वित्तयी संस्थाको ऋण तिर्न प्रयोग हुने छ। स्रोतका अनुसार, समूहले एनबी बैंकबाट विभिन्न व्यक्ति तथा कम्पनीको नाममा लिएको करिव ६० करोड रुपैयाँ ऋण तिर्न वाँकी छ। श्रीलंका मर्चेन्टसँग जोडिएको ३८ करोडसहित ६० करोड तिर्न वाँकी हो। नबिल बैंकको २० करोड रुपैयाँ ऋण पनि तिर्न वाँकी छ। समूहले एनसिसी बैंक, वल्ड मर्चेन्ट, यति विकास, एनडिइपीलगायत अन्य वित्तीय संस्थाहरुबाट पनि ऋण चलाएको छ।
एनबी समूहका सदस्यहरु ऋण नतिरेका कारण विभिन्न बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कर्जा सुचना केन्द्रको कालोसुचीमा छ। लक्ष्मीवहादुर श्रेष्ठ प्रहरीको खोजी सुचीमा छन्। 
एनबी समूहले ऋण दूरुपयोग गरेर संस्था धरायसी भएपछि करिव १० वर्षअघि राष्ट्र बैंकले बंगलादेश बैंकको व्यवस्थापन जिम्मा लिएको थियो। समूहले केही ऋण भुक्तानी गरेपछि २०६६ माघ १  गते राष्ट्र बैंकले व्यवस्थापन हस्तान्तरण गरेको थियो। त्यतिखेर लिएको ऋण अझै भुक्तानी भएको छैन। 
वित्तीय क्षेत्रमा बद्नाम एनबी समूहको झल्को दिने नाम भएकाले यसलाई परिवर्तन गर्ने तयारीमा सञ्चालक समिति छ। बैंकको साधारणसभाले नाम परिवर्तन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजना गरिसकेको छ। 

'३ बजे पछाडि कारोबारले अन्यौंल बढायो'
काठमाडौं। आइएफआइसी बैंकको नाममा सेयर नामसारी गर्न नेप्सेमा साविकको समयभन्दा आधा घण्टा ढिलासम्म कारोबार खुला गरिएको थियो। नेप्सेमा साढे तीन बजेसम्म कारोबार खुला थियो। 
लगानीकर्ता र सदस्य सेयर दलाल कम्पनीहरुलाई पूर्व जानकारी विनै कारोबार खुला राखिएको भन्दै व्रोकरहरुले गुनासो गरेका छन्। नेप्सेमा तीन बजेपछि पनि ५ मिनेट कारोबार समय थपिएर कारोबार गरिएको थियो। त्यसमा पनि नामसारी नभएपछि थप २६ मिनेट कारोबार समय थप थरिएको थियो। 
'साविकको समयपछि पनि कारोबार खुला राख्दा सेयर व्रोकर र लगानीकर्तामा अन्यौंल उत्पन्न भएको थियो,' सेयर व्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष अन्जनराज पौडेलले नागरिकसँग भने,'लगानीकर्ताहरु आक्रोशित भएक थिए।' उनले तीन बजेपछि कारोबार गर्न नपाइने नियमको उल्लङघन भएको दावी गरे।
नेप्सेले भने धितोपत्र वोर्डलाई जानकारी गराएर कारोबार समय थप गरिएको जनाएको छ। धितोपत्र वोर्डले पनि समय थप बारे जानकारी प्राप्त भएको बताएको छ। 'नेप्सेले विशेष परिस्थिति भन्दै समय थप गरेको जानकारी गराएको छ,' वोर्डका प्रवक्ता निरज गिरिले भने,'जानकारी गराएर कारोबार गर्न पाइने कानुनी व्यवस्था छ।'
व्रोकरका अनुसार, अन्तिम समयमा कारोबार गर्ने लगानीकर्ताहरु आक्रोशित भएका छन्।'अन्तिमतिरको मूल्यका आधारमा किन्ने र वेच्ने लगानीकर्ता हुन्छन्,' पौडेलले भने,'३ बज्न केही मिनेट अगाडि सेयर बेच्नेको सेयर मूल्य बढेयो, किन्नेको घट्यो।' 

No comments:

Post a Comment

thanks for comment