ठूला लगानी ठप्पै, बैंकहरु जोखिम कम हुने खुद्रा लगानीतिर

सुदर्शन सापकोटा, काठमाडौं, माघ १ - संविधानसभा विघटन (१४ जेठ) यता ठूला परियोजना तथा उद्योगमा बैंक लगानी ठप्प देखिएको छ। राजनीतिक अन्योलले आकर्षक परियोजना नआउनु र संक्रमण गहिरिँदा ऋण जोखिममा पर्ने डरले बैंकहरु ठूला लगानीमा निरुत्साही देखिएका हुन्।
'राजनीतिक कारणले कुनै क्षेत्र पनि अगाडि बढ्न सकेको छैन। त्यसैले ठूलो ऋण दिने अवस्थामा छैनौं,' बैंकर्स संघका उपाध्यक्ष तथा ग्रान्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले आइतबार नागरिकसँग भने, 'राम्रो परियोजना लिएर निजी क्षेत्रबाट कोही आएको पनि छैन।'
मंसिरसम्म बैंकहरुको कूल ऋण ७.९ प्रतिशतले वृद्धि भएको छ।
बैंकहरुले पछिल्लो समय जोखिम कम भएका साना-साना क्षेत्रमा लगानी गरिरहेका छन्। उनीहरुले अघिल्लो वर्ष नै प्रतिबद्धता जनाएका परियोजनाबाहेक नयाँमा गाडी, घरजस्ता क्षेत्रमा मात्र लगानी गरेका हुन्। छोटो अवधिमै पैसा उठ्ने आयात-व्यापारमा बैंक लगानी विस्तार हुन थालेको छ।
सरकारले कार्यक्रमसहितको पूर्ण बजेट ल्याउन नसकेर विकास निर्माणमा खर्च गर्न छाडेका बेला ठूला परियोजनाहरुमा बैंक लगानी ठप्प देखिएको हो। बैंक लगानी बन्द हुँदा विकास-निर्माण रोकिनुका साथै रोजगारीमा समेत प्रभाव पर्छ।
राष्ट्र बैंकका अनुसार जेठदेखि मंसिरसम्म सुन, घर, गाडी किन्न खुद्रा कर्जा लगानी बढेको छ । यस अवधिमा आवासीय निर्माणका लागि बैंकहरुले ३ अर्ब ८४ करोड लगानी गरेका बेला जलविद्युत, सडक र पुलका लागि जम्मा ५६ करोड रुपैयाँ मात्र लगानी भएको छ। ६ महिनामा सवारीसाधन खरिद गर्न १ अर्ब २३ करोड रुपैयाँ ऋण गएको छ।
'अहिले खुद्रा ऋण बढेर ठूलो ऋणको हिस्सा घट्न थालेको छ,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'राजनीतिक अन्योलले जोखिम उठाएर ठूलो ऋण लगानी गर्न कठिन भएको हो।' उनले गत वर्ष राम्रो देखिएको ऊर्जा र सिमेन्ट उद्योगमा अहिले राजनीतिक कारणले समस्या देखिएकाले लगानी बढाउन समस्या भएको प्रस्ट पारे।
बैंकरका अनुसार जेठ लागेपछि तरलता बढेर ब्याज घटेपछि निर्माण, उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी बढ्ने आधार तयार भएको थियो। जेठ १४ मा संविधान निर्माण नगरी संविधानसभा विघटन भएको र त्यसयता राजनीतिक अन्योल झन् बढेकाले कोही पनि जोखिम लिएर लगानी गर्ने अवस्थामा छैनन्।
'बैंकले जोखिम लिन चाहेका छैनन्। नयाँ लगानीका लागि माग पनि आएको छैन,' खत्रीले भने, 'अहिले लगानीका लागि बैंकर पनि सतर्क छन् र लगानीकर्ता पनि सतर्क भएर बसेका छन्।'
राष्ट्र बैंकले चालु वर्षभित्र कूल कर्जाको २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेका कारण कृषि र पर्यटन क्षेत्रमा भने केही कर्जा स-साना आकारमा गएको छ। बैंकहरुले लघुवित्त, साना तथा मझौला उद्योगका नाममा यस्तो कर्जा बढाएका हुन्। होमस्टे, कोठा वृद्धि र राजधानीबाहिरका केही रिसोर्टहरुमा पनि स-साना ऋण लगानी भएको छ।
'सबै पर्ख र हेरको अवस्थामा भएकाले ठूला खालको आयोजना आएको छैन,' सिटिजन्स बैंक इन्टरनेसनका नायब महाप्रबन्धक राजु नेपालले नागरिकसँग भने, 'पुरानो प्रतिबद्धता भएका कारण केही किस्ता ऋण जलविद्युतमा गएको छ। नयाँ ऋण कुनै आयोजनामा गएको छैन।' उनले बैंकहरुले पहिले लगानी गर्न प्रतिबद्धता गरेका जलविद्युतमा समस्या आए बैंकको ऋण जोखिममा पर्ने बताए।
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकले अहिलेसम्म ८ सय ९२ अर्ब निक्षेप उठाएर ६ सय ७४ अर्ब ऋण लगानी गरेका छन्। पछिल्लो समय बढेको केही लगानी भने पुरानो ऋणको किस्ता भुक्तानमा गएको छ। घुमाउरो पारामा जाने यस्तो कर्जा दुई वर्षयता घरजग्गाको ऋणब्याज भुक्तानमा प्रयोग हुने गरेको छ।
'गाडी, घरबाहेक बाख्रा, गाई, माछापालनमा ऋण जाने गरेको छ। यो भनेको लघुकर्जा हो,' किस्ट बैंकका नायब महाप्रबन्धक बिएन घर्तीले भने, 'लघुजलविद्युतमा पनि केही रकम गइरहेको छ। तर यसको आकार १ करोडको हाराहारीमात्र हुन्छ।' उनले लगानी वातावरण नबनेसम्म ठूला क्षेत्रमा ऋण बढाउन बैंकहरुलाई समस्या हुने जनाउ दिए।
लगानीका लागि वातावरण असहयोगी भएकैले साना फाइनान्सले गर्ने काम बैंकहरुले गर्न थालेको उनले बताए। 'सानोतिनो लगानी फाइनान्स कम्पनीहरुले गर्छन् भन्ने थियो,' घर्तीले भने, 'वातावरणका कारण बैंकहरुले जोखिम कम हुने साना क्षेत्रमा लगानी गर्न थालेकाले पुरानो मान्यतामा परिवर्तन आएको हो।'

No comments:

Post a Comment

thanks for comment