गएको वर्ष सेयर बजारमा कमाउनेभन्दा गुमाउने बढी

सुदर्शन सापकोटा, काठमाडौं, पुस १७- सेयर लगानीकर्ता राजकुमार तिमिल्सिनाले सन् २००९ मा करिब २ करोड रुपैयाँ घाटा खाए।
दुई वर्षअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ हजार १ सय ७५ अंकमा छँदा उनले सेयर बजारमा जति रकम लगानी गरेका थिए, त्यसको ४५ प्रतिशत गुमेको उनी बताउँछन्।

बिहीबार डिसेम्बर ३१ मा नेप्से ५ सय ४८ दशमलव ११ अंकमा छ। उनलाई सबभन्दा बढी नोक्सान नेपाल एसबिआई, नेपाल इन्भेस्टमेन्ट, नेपाल सेयर मार्केट, सनराइज, प्राइम, ग्लोबल, रिलायबल फाइनान्सको सेयरबाट भएको थियो।

‘२००९ मेरा लागि अफापसिद्ध भयो,' २००४ बाट सेयरमा लगानी गर्न थालेका उनले भने, ‘लगानी गर्न थालेदेखि सबभन्दा बढी गुमाएको वर्ष हो।'

अर्का लगानीकर्ता दुर्गा उप्रेतीलाई पनि यो अवधिमा ८ लाख रुपैयाँ घाटा भयो। नेसनल हाइड्रो, नेपाल बंगलादेश, बैंक अफ एसिया नेपालको सेयरले बढी घाटा परेको उनले बताए।
उनी सेयरलाई दुई भागमा विभाजन गरेर कारोबार गर्छन् - केही सेयर किनेर तुरुन्त बेचिहाल्छन्, केही अलि बढी समय राख्छन्।

‘त्यही भएर अरूले जति घाटा खानुपरेन,' सेयर बजारमा एक करोड रुपैयाँ लगानी गरेका उप्रेतीले भने, ‘तैपनि यो वर्ष मेरा लागि मध्यम रह्यो। होल्ड गरेर राखेको सेयरले पनि त्यति नाफा दिन सकेन।' धेरै समय सेयर होल्ड गरेर राख्नेलाई बजारबाट घाटा नहुने उनको बुझाइ छ। नेपाल टेलिकमको सेयरबाट धेरैले नोक्सान बेहोरेको अवस्थामा उनी आफूले भने नाफा कमाएको बताउँछन्।


गत वर्ष सेयर बजारमा धेरै उतारचढाव आएकाले गुमाउने लगानीकर्ता बढी भएका हुन्।
‘सुरुवातदेखि नै सेयर बजार घटो टे्रन्डमा गएकाले धेरैले गुमाएका छन्,' बिड इन्भेस्टमेन्टकी अनुसन्धान प्रमुख अदिती श्रेष्ठले भनिन्, ‘गत जेठपछि सेयर खरिद गर्नेले अझ बढी गुमाएका छन्।' जेठअघि खरिद गर्नेले भने कमाएको उनले बताइन्।

सेयर लगानीकर्ताका लागि सन् २००९ नौ वर्षयताकै सबभन्दा नराम्रो वर्ष रहेको विश्लेषकहरूको भनाइ छ। ज्याम्ब टेक्नोलोजीका सेयर विश्लेषक विकास चौधले अधिकांश लगानीकर्ताले यो वर्ष गुमाएको बताए। ‘बजारमा नयाँ प्रवेश गरेका अधिकांश लगानीकर्ताले गुमाएका छन्,' उनले भने।

बजार किन घट्यो ?
बजारमा सेयर किन्नेभन्दा बेच्ने बढी भएकाले सेयर घटेको विश्लेषकको भनाइ छ। उनीहरूका अनुसार २००९ मा सेयरको आपूर्ति बढे पनि लगानीकर्ता त्यही अनुपातमा बढ्न सकेन। गत वर्ष बोनस, हकप्रद र साधारण गरी २० अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन भएको थियो। कात्तिक मसान्तसम्ममा मात्रै थप ५ अर्बको सेयर बजारमा आइसकेको छ। थप ९ अर्बको सेयर निष्कासनको प्रक्रियामा छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरूले चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी पुर्‍याउन हकप्रद तथा बोनस सेयर निष्कासन गर्नु नपर्ने व्यवस्था गरेपछि सेयर लगानीकर्ताको आकर्षण घटेको छ। बैंकले दिने नगद लाभांशभन्दा बोनस र हकप्रद सेयरमा लगानीकर्ताको आकर्षण बढी हुने भएकाले लगानी गर्नेको संख्या घटेको हो।

‘बैंकले पुँजी बढाउन अब बोनस र हकप्रद निष्कासन गर्दैनन् भन्ने मनोविज्ञानले गर्दा पनि बजारमा सेयर किन्ने लगानीकर्ता घटेर मूल्य तल झरेको हो,' चौधरीले भने।


दैनिक १५ करोडभन्दा बढीको सेयर कारोबार हुने नेप्सेमा अहिले औसत ४ देखि ५ करोडको बीचमा कारोबार हुने गरेको छ। मौद्रिक नीतिपछि स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन, नेपाल इन्भेस्टमेन्ट, डिसिबिएललगायत बैंकको सञ्चित नाफा बढी भएकाले यी बैंकलाई पुँजी बढाउन गाह्रो छैन।

बैंक तथा वित्तीय संस्थाका संस्थापकहरूको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत भएर आउने हल्लाले पनि बजार घटाउन मद्दत पुर्‍यायो। धितोपत्र बोर्डले भने बजारमा असर नपर्ने गरी त्यस्तो सेयर आउन दिनका लागि छलफल चलाएको छ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुनुअघि माओवादी नेतृत्वको सरकारले पुँजीगत लाभकरको सीमा बढाएकाले पनि बजार घटेको हो। यो कर ५० प्रतिशत वृद्धि ग १० बाट १५ प्रतिशत पुर्‍याइएको थियो। यस्तै आयको स्वयं घोषणा, सम्पतिको स्रोत देखाउनुपर्ने लगायत कार्यक्रमले लगानीकर्ता अत्तालिएर सेयर मूल्य घटेको विश्लेषकहरूले बताए।

यस्तै सेयर धितो कर्जामा राष्ट्र बैंकले कडाइ गर्न बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिनु पनि मूल्य घट्नुको कारण हो। १ सय ८० दिनको औसत मूल्यको ५० प्रतिशत रकम सेयर धितोमा कर्जा पाइन्छ। एक वर्षका लागि पाइने यो कर्जामा कडाइ गर्दै बैंक तथा वित्त कम्पनीले यसको व्याजदर बढाएका छन्। सेयर लगानीकर्ताले सजिलै ऋण लिने गरेका सहकाले पनि व्याज बढाएका छन्। ८ देखि १३ प्रतिशसम्म पाइने यस्तो कर्जाको व्याजदर अहिले १३ देखि १६ प्रतिशसम्म पुगेको छ। सहकाहरुले १८ प्रतिशतसम्म पुर्‍याएका छन्।

अब के हुन्छ?
२०१० पछि सेयर बजार उकालो लाग्ने विश्लेषकहरूले बताए। उनीहरूको प्राविधिक तथा आधारभूत विश्लेषणअनुसार सेयर मूल्य बढ्ने संकेत देखिएको छ। ‘अहिलेको बजार मूल्य एकदमै कम हो,' श्रेष्ठले भनिन्, ‘अहिले केही सूचकांकले बजार बढ्ने संकेत गरेको छ।' उनका अनुसार बजार मूल्य तल झर्ने ट्रेन्डले केही दिनदेखि टेवा पाएको छ। यो लामो समय रहन्छ वा रहन्न भन्ने प्रष्ट नभइसकेको उनले बताइन्।

यस्तै नेप्सेमा बाहुल्य रहेको बैंक तथा वित्तीय कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, औसात मूल्य बढेकाले अब सेयर मूल्य बढ्नसक्ने विश्लेषकको अनुमान छ। अधिकांश कम्पनीको हकप्रद तथा बोनस सेयरको दर्ता पुस्तिका बन्द भइसकेकाले मूल्य बढ्छ भन्ने उनीहरूको तर्क हो।


No comments:

Post a Comment

thanks for comment