पाँचतारे बैंक बनाइदिन्छु : अनिल शाह


काठमाडौं, पुस २५ (नागरिक)- 'नेपालको पहिलो पाँच तारे बैंक हुने छ,' नविल छाडेर सञ्चालनको तयामा रहेको मेगा बैंकको प्रमुख कार्यका अधिकृतमा गएका अनिल शाहले भने, 'पाँच तारे होटलले आफ्ना ग्राहकलाई जस्तो सेवा दिन्छन् त्यस्तै सेवा हामी दिने छौं।'
नेपालको कुनै पनि बैंकले पाँच तारे सेवा दिन नसकेको बताउँदै उनले आफ्नो बैंकले पहिलो दिनबाट नै पाँच तारे सेवा दिने बताए। अनिल ८ वर्षअघि महाप्रवन्धकका रुपमा नविल छिरेका थिए।

आफै सहभागी भएर बैंक खोल्ने सोचाइ रहेको बताउँदै उनले मेगाले आफ्नो इच्छा पुरा गरेको जानका दिए। 'धुलो, वालुवा(सिमेन्टसँग खेलेर बैंक बनाउने मेरो सोचाइ थियो,' वीर शम्शेरले निर्माण गरेको दरवार (जहाँ मेगा बैंकको केन्द्रिय कार्यालय बन्दैछ) को धुलौटे कोठामा अन्तर्वार्ता दिँदै उनले भने, 'आफ्नो सोचाइअनुसार सुरुदेखि नै बैंक सञ्चालन गर्ने मेरो इच्छा पुरा भएको छ।

पुँजीका हिसावले सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा मेगा बैंक सञ्चालनमा आउन लागेको छ। संस्थापकको संख्या पनि संञ्चालनमा रहेका २६ वाणिज्य बैंकको भन्दा धेरै छ। सबै सञ्चालकलाई चित्त वुझाउँदै बैंक सञ्चालन गर्न भने उनका लागि सजिलो छैन। तर, यसलाई अनिलले अवशरका रुपमा लिएका छन्। 'मैले प्रत्येक सञ्चालकमा एउटा सल्लाहकार देखेको छु,' उनले भने, 'सबैको सल्लाहबाट बैंकले राम्रो प्रगति गर्नेमा आसावादी पनि छु।'

नयाँ बैंक र बजारले गर्ने विश्वास। किन यतिका बैंकलाई छाडेर मेगा नै ग्राहक आउने? बचतकर्तालाई कस आफूतिर तान्ने? के छ त अरु बैंकभन्दा फरक योजना? 'सेवाका हिसावले सबैभन्दा राम्रो हामी हुने छौं,' स्ट्यान्डर्ड चार्टर्डबाट बैंकिङ करियर सुरु गरेका उनले भने, 'कुरा रह्यो बचतकर्ताको त्यस बारेमा पनि मैले योजना बनाइसकेको छु।' उनले, पहिलो चरणमा प्रत्येक संस्थापक सेयरधनीबाट बैंकमा बचत खाता खोल्न लगाउने बताए। त्यसपछि उनले प्रत्येक संस्थापकबाट कम्तिमा ५ जनाको दरले निक्षेपकर्तालाई बैंकमा ल्याउने योजना सुनाए। 'एक लाखको दरले बचत संकलन हुन सक्यो भने पनि करिव ७४ करोड रुपैयाँ बैंकमा जम्मा हुने छ,' अनिलले भने।

उनले बजारको प्रतिस्पर्धा अनुसार नै बचतकर्तालाई व्याज उपलब्ध गराउने बताए। लगानीको क्षेत्र पनि पहिचन गरिसकेको उनले बताए। दिर्घकालीन लगानीको क्षेत्र पहिचान गरिएको जानका दिँदै उनले सञ्चालनको एक बर्षभित्र नै ५/६ ठाउँमा शाखा खोलेर सेवा विस्तार गरिने बताए। 'मेचीदेखि महाकालीसम्म नै हाम्रा संस्थापक छरिएका छन्,' अनिलले भने, 'जहाँ शाखा खोलिन्छ त्यहाँ पनि पहिलो चरणमा संस्थापककै तर्फबाट बचतकर्ता ल्याउँछौं।' बैंकले शाखा अरु बैंक नपुगेको ठाउँमा खोल्ने उनले बताए।

अहिलेसम्मको अत्याधुनिक सुचना प्रविधिबाट बैंक सञ्चालन गर्ने जानका दिँदै उनले पहिलो दिनबाटै आधुनिक बैंकिङमा जाने बताए।

बैंक सञ्चालनका लागि सञ्चालनका रहेका बैंकका कर्मचासँग कुराकानी भइरहेको बताउँदै उनले आफ्नो 'टिम' नेपाली बैंकिङको 'बेस्ट' टिम हुने जानका दिए। तर यसका लागि यो बैंकबाट फलानो, त्यो बैंकबाट तिलानो ल्याउँछु भनेर लिस्ट भने नबनाएको बताए। माथिल्लो तहमा अनुभवी बैंकर ल्याउन लागेको अनिलले जानका दिए।

No comments:

Post a Comment

thanks for comment