आवसीय कर्जालाई खुकुलो बनाइने


सुदर्शन सापकोटा
काठमाडौं पुस २१

घर बनाउनका लागि बैंक तथा वित्तीय कम्पनीबाट ऋण लिन चाहनेका लागि अब भने केही सजिलो हुने भएको छ ।
राष्ट्र बैंकले रियलस्टेटमा कुल कर्जाको २५ प्रतिशतलाई यथावत राख्दै आवासीय घर कर्जाको सीमा ४५ प्रतिशत पुर् याउने भएको छ । यसले सर्वसाधारणलाई घर बनाउनका लागि बैंकबाट ऋण लिन सजिलो हुन्छ । दुई साताअघि राष्ट्र बैंकले रियलस्टेट र आवसीय घर कर्जा दुवैमा गरी ४० प्रतिशतसम्म मात्र लगानी गर्न पाउने निर्देशन दिएको थियो । रियलस्टेटको कर्जा सीमा परिवर्तन नगरिने राष्ट्र बैंक स्रोतले बतायो ।
आवसीय कर्जालाई कडाइ गर्दा सर्वसाधारणलाई अफ्ठ्यारो पर्ने भन्दै यसलाई खुकुलो बनाउनु पर्छ भन्नेमा राष्ट्र बैंक सहमत भएको छ-स्रोतले भन्यो ।
यसका लागि राष्ट्र बैंकले दुई साताअघिको निर्देशनलाई अझ परिस्कृत गर्दै व्यवसायिक र आवसीय कर्जाको सीमा परिवर्तनका लागि नयाँ निर्देशन दिने भएको छ ।
आगामी साताभित्र निर्देशन दिने तयारी गरिरहेको राष्ट्र बैंकले अहिले क्षेत्रगत कर्जाको सीमा निर्धारण गरिरहेको स्रोतले बतायो ।
केही विषयमा अझै छलफल गर्न बाँकी रहेकाले निर्देशन दिन ढिलाइ भएको हो- उनले भने -अर्को साताभित्र सबैलाई परिपत्र भइसक्छ ।
बैंक तथा वित्तीय कम्पनीले राष्ट्र बैंकको निर्देशनमा असन्तुष्टि जनाएपछि उसले अघिल्लो निर्देशनलाई केही सच्याउँदै नयाँ निर्देशन दिने तयारी गरेको हो । ुनयाँ निर्देशनपछि घर बनाउनलाई बैंक तथा वित्तीय कम्पनीबाट कर्जा चाहनेलाई सजिलो हुने छु राष्ट्र बैंकका एक अधिकारीले भने । राष्ट्र बैंकको निर्देशनपछि अधिकांस बैंकहरुले रियलस्टेटका साथै आवसीय कर्जामा पनि रोक लागाएका छन् ।
निर्देशनपछि बैंक तथा वित्तीय कम्पनीले प्रकृयामा रहेको घरजग्गा कर्जालाई पनि रोकिराखेको एक बैंकका प्रमुख कार्यकारीले बताए ।
बैंकहरु अहिले पर्ख र हेरको अवस्थामा छन्-उनले भने -प्रकृयामा गएको कर्जालाई पनि केही समयका लागि रोकिएको छ ।
कुल लगानीको २५ प्रतिशतभन्दा वढी घरजग्गामा लगानी गरेका बैंकले प्रकृयामा गएको कर्जालाई रोकेका हुन् ।
रियलस्टेट र आवसीय घर कर्जाको सीमालाई छुट्याएपछि आवसीयमा जाने कर्जा खुकुलो हुने एक बैंकरले बताए । उनका अनुसार सबैलाई एउटै डालोमा राखेर सीमा निर्धारण गर्दा सर्वसाधारणलाई असर परेको थियो । राष्ट्र बैंकले पुरानो निर्देशनलाई सच्याएर नयाँ निर्देशन दिएमा आवसीयका लागि कर्जा लगानी फराकिलो हुने छ । उनले एक करोडभन्दा माथिलाई रियलस्टेट र एक करोडभन्दा कमलाई आवसीय भनेर क्षेत्रगत कर्जालाई वर्गीकरण गरिनु पर्ने बताए ।
आवसीय कर्जालाई पनि रियलस्टेट सरह राखेर कर्जा सीमा तोकेपछि ऋण लिएर बस्नका लागि घर बनाउन चाहने मर्कामा परेका छन् । गत असोज मसान्तसम्ममा बैंकहरुले आवसीय कर्जाका लागि ३६ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । तीन महिनाभित्र मात्रै बैंकहरुले आवसीय र व्यवसायिक गरी घर जग्गामा ८ अर्व ९३ करोड रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।
कर्जामा सीमा तोकिएपछि अधिकांसले त्यसको व्याजदर पनि वढाइसकेका छन् । बैंकहरुले २ देखि ४ प्रतिशत विन्दुसम्म घरजग्गा कर्जाको व्याजदर बढाएका हुन् । साथै आवसीय कर्जा लिएका पुराना ग्राहकको पनि व्याजदर १ दशमलव ५ प्रतिशत विन्दुले वृद्धि गरिसकेका छन् ।



No comments:

Post a Comment

thanks for comment