सुन धितो राखी ऋण कसरी लिने?

सुदर्शन सापकोटा, काठमाडौं, पुस २७- सुन महँगिएको मौका छोपेर इन्द्रचोककी गीता महर्जनले एक लाख रुपैयाँ लगानी गरेकी थिइन्। 'गहना बेच्दा जर्ती काटिन्छ,' उनको भनाइ थियो, 'बरु ढिक्कै सुन किने अलिअलि कमिसन काटिनेबाहेक घाटा पर्दैन।'
तर, उनको अनुमान गलत साबित भयो। मंसिरमा तोलाको ३४ हजार ४ सय ५० रुपैयाँ तिरेर किनेको सुन अहिले बेच्दा ३१ हजार ७ सय ५० मात्र हात पर्छ।

'म त एकदम दुविधामा छु - बेचुँ परेको पैसा पनि उठ्दैन, नबेचुँ आफूलाई अपर्झट परिसक्यो,' इन्द्रचोकमा 'कस्मेटिक्स' व्यापार गर्ने गीता भन्छिन्।

उनलाई आफ्नो गर्जो टार्ने एउटा उपाय सुझेको छ - बैंकमा सुन धितो राखेर कर्जा लिने।

तर, कहाँ र कसरी?

अधिकांश वाणिज्य बैंकले सुनचाँदीको धितोमा कर्जा दिँदै आएका छन्। पहिले सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले मात्र यस्तो कर्जा दिन्थे। अहिले बैंकिङ क्षेत्रको बढ्दो प्रतिस्पर्धाले निजी क्षेत्रका नयाँ बैंक पनि यसमा लागेका छन्।

नेपाल इन्भेस्टमेन्ट, प्राइम, सिटिजन्स, सनराइज, एनआइसीलगायत अधिकांश निजी बैंकले सुनचाँदी धितोमा कर्जा दिन थालेका छन्।

यसरी कर्जा लिँदा सुनचाँदीको बजार मूल्यको ६० देखि ७० प्रतिशत रकम पाइन्छ। यसमा लाग्ने ब्याज पनि अन्य ऋणको तुलनामा सस्तो छ - वार्षिक १० देखि १३ प्रतिशत। अरू ऋणमा १६ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ। खासगरी घरजग्गा, गाडीजस्ता उपभोग्य ऋणमा ब्याज दर महँगो छ। त्यसमाथि राष्ट्र बैंकले घरजग्गा कर्जामा सीमा तोकेपछि ह्वात्तै बढेको छ।

बैंकहरूका अनुसार सुनचाँदी धितो राखेर कर्जा लिने प्रचलन सहरभन्दा ग्रामीण क्षेत्रमा बढी छ। कर्जा दिनेमा निजी बैंकभन्दा सरकारी बैंक अगाडि छन्। 'धेरै उपभोक्तालाई निजी बैंकमा पनि सुनचाँदी धितो राखेर कर्जा पाइन्छ भन्ने नै थाहा नहुनसक्छ,' एक बैंक अधिकारीले भने।

सरकारी बैंकले पहिल्यैदेखि यस्तो कर्जा दिइरहेकाले गाह्रोसाह्रो पर्दा सबै त्यतै जान्छन्। तर, सहरी क्षेत्रमा बढी केन्द्रित निजी बैंकहरूले आफ्नो यो कर्जा क्षेत्रको खासै प्रचारप्रसार गरेका छैनन्। 'त्यही भएर धेरैलाई निजी बैंकमा यो सुविधा नभएको भ्रम हुनसक्छ,' उनले भने।

बैंकहरू आफैं पनि सुनचाँदी धितोमा दिइने कर्जालाई 'राम्रो' भन्छन्। अन्य क्षेत्रमा दिइने कर्जाभन्दा यसमा जोखिम कम हुने उनीहरूको अनुभव छ।

'सुन धितोमा दिइने कर्जामा जोखिम कम हुन्छ,' नेपाल इन्भेस्टमेन्ट बैंकका महाप्रबन्धक ज्योति पाण्डेले भने, 'इनभेस्टमेन्टले नै यो क्षेत्रमा करिब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरिसक्यो।'

अन्य वाणिज्य बैंकबाट पनि सुनचाँदी धितोमा जाने कर्जा निरन्तर बढिरहेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म सुनचाँदी धितोमा ७ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो बैंकिङ क्षेत्रबाट प्रवाह भएको कुल कर्जाको साढे एक प्रतिशत हो। अघिल्लो वर्ष यसै अवधिमा ४ अर्ब ५९ करोड प्रवाह भएको थियो।

किन जोखिम कम हुन्छ?
बैंकहरूले सुनचाँदी धितोमा बजार मूल्यको ६० देखि ७० प्रतिशतमात्र कर्जा दिने हुँदा जोखिम कम हुने नेपाल बैंकका प्रमुख कार्यकारी विनोद आत्रेय बताउँछन्।

'सुनको बजार मूल्य र हामीले दिने कर्जाबीच ३० देखि ४० प्रतिशतसम्म फरक हुन्छ,' उनले भने, 'त्यही भएर यो हाम्रालागि जोखिम कम भएको क्षेत्र हो।'

जोखिम कम हुनुमा सामाजिक मान्यता अर्को कारण हो। नेपालमा अझै पनि सुनलाई लगानीको क्षेत्रभन्दा बिहे-ब्रतबन्धमा प्रयोग हुने गहनाका रूपमा बढी लिइन्छ। यसरी जीवनकै महत्वपूर्ण अवसर पारेर किनेको सुन बेच्नै हुँदैन, बरु अप्ठ्यारो परे धितो राखेर भए पनि काम चलाउनुपर्छ भन्ने परम्परागत सामाजिक मान्यता छ। ग्रामीण क्षेत्रमा यस्तो मान्यता अझ बढी छ। त्यही भएर ऋण लिएकाहरू सुन उकास्नुपर्छ भन्दै ढिलोचाँडो तिर्न आइहाल्छन्। यसले बैंकको लगानी डुब्ने सम्भावना कम हुन्छ।

'आफूले जोडेको सुन सकभर बेच्न हुँदैन भन्ने सामाजिक मान्यताले पनि बैंकको यो लगानी सुरक्षित बनाएको छ,' उनले भने।

कर्जा लिन के/के प्रक्रिया पूरा गर्नुपर्छ?

सुनचाँदी धितोमा कर्जा लिन चाहनेले सबभन्दा पहिला सम्बन्धित बैंकमा कर्जाको फारम भर्नुपर्छ। त्यसमा ऋण लिनुको उद्देश्य, धितो राख्ने सुनको परिमाण, कर्जा रकम, आफ्नो तीन पुस्तेलगायत विवरण भर्नुपर्छ।

बैंकलाई ऋण माग्नेको विवरण चित्त बुझेपछि उसको आयस्रोत वा ऋण तिर्नसक्ने क्षमताको पनि जानकारी माग्नसक्छ। भरिएको विवरणपत्र ऋण अधिकृतमार्फत स्वीकृत भएपछि बैंकले कर्जा उपलब्ध गराउँछ। ऋण लिँदा कति अवधिका लागि लिन चाहेको पनि खुलाउनुपर्छ।

कुन बैंकमा कति ब्याज? (प्रतिशतमा)

नेपाल बैंक १०
नेपाल इन्भेस्टमेन्ट ११
राष्ट्रिय वाणिज्य बैंक १२
कृषि विकास १२
एनआइसी १३

यस्तो कर्जा लिनु सही हो त?

'समस्या पनि सुल्झन्छ, लगानी पनि गुम्दैन'

सिर्जना तिवारी
वित्तीय विश्लेषक (मर्निङ स्टार, कमोडिटिज फ्युचर बजारको दलाल कम्पनी)

तपाईंलाई अहिल्यै पैसा चाहिएको छ, महँगोमा किनेको सुन बेच्दा लगानी पनि उठ्दैन भने सुन धितो राखेर कर्जा लिनु राम्रो उपाय हो। यसले तपाईंको तत्कालको समस्या पनि समाधान गर्छ र भोलि सुनको भाउ बढ्दा फेरि बैंकबाट धितो उकासेर बजारमा बेच्न पनि सकिन्छ। कम समयका लागि मात्र ऋण चाहिएको हो भने त यो अझै राम्रो उपाय हो।

अहिले सुनको मूल्य केही समयलाई घटे पनि दीर्घकालमा यो फाइदाजनक लगानी हो। त्यही भएर हतारमा बेचिहाल्नुभन्दा बैंकमा धितो राखेर गर्जो टार्नु उपयुक्त हुन्छ। अहिले सरकारी तथा निजी बैंक थुप्रोले उपभोक्तालाई यो सुविधा दिइरहेका छन्। किनकि, उनीहरूका लागि पनि यो जोखिममुक्त क्षेत्र हो। यसमा ब्याज पनि त्यति धेरै पर्दैन। त्यसैले, तपाईंसँग सुन छ र पैसाको आवश्यकता छ भने धितो राखेर ऋण लिन नहच्किए हुन्छ।

अहिले अन्तर्राष्ट्रिय बजारको ट्रेन्ड हेर्दा सुनको मूल्य अझै केही समय ओरालो लाग्ने देखिन्छ। आगामी सेप्टेम्बरबाट यसको मूल्य बढ्ने विश्लेषण बलियो छ। यसले नेपालको बजारलाई पनि असर पार्छ। त्यसैले, तपाईंले पनि सुनमा लगानी गरिसक्नुभएको छ भने अहिले बेचिहाल्ने हतार नगर्नु राम्रो। अहिले बेच्दा घाटामात्रै हुन्छ। बरु ८/९ महिना पर्खिंदा लगानी उठ्नसक्छ।


No comments:

Post a Comment

thanks for comment