बैंकको छुट र कमिसन आम्दानी बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, भदौ २५-
विश्व आर्थिक मन्दीले धेरै क्षेत्रलाई असर गरे पनि वाणिज्य बैंकहरुको छूट तथा कमिसनबापतको आम्दानी गत वर्ष २२ प्रतिशतले बढेको छ।

मन्दीले प्रतितपत्र (एलसी) लगायत विभिन्न बैंकिङ सेवा प्रभावित भइ बैंकको यस्तो आम्दानी घट्ने आँकलन भइरहेको थियो। तर, हालै सार्वजनिक बैंकहरुको वासलात (ब्यालेन्ससिट) मा कमिसन तथा छूट बापतको आम्दानी बढेको देखिएको हो। यसले बैंकिङ क्षेत्रलाई मन्दीले बढी असर नपारेको देखाएको छ।

अघिल्लो वर्षका तूलनामा गत वर्ष बैंकहरुको कमिसन तथा छूटवापतको आम्दानी २२ प्रतिशतले बढेको हो। २६ वाणिज्य बैंकमध्ये २० बैंकको आम्दानी बढेको छ। गत वर्ष वाणिज्य बैंकहरुले २ अर्ब ८९ करोड रुपैयाँ यस्तो आम्दानी गरेका छन्। अघिल्लो वर्ष बैंकको आम्दानी २ अर्ब ३६ करोड रुपैयाँ भएको थियो। प्रतितपत्र, बैंक ग्यारेन्टी, डेविट-क्रेडिट कार्ड शूल्क, न्यूनतम मौज्दात शूल्क, ट्राभलर चेकलगायतबाट बैंकले कमिसन तथा छूट आम्दानी गर्छन्।

यस्तो आम्दानी गर्नेमा सबैभन्दा बढी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ। कृषि विकास बैंकले एलसीवाहेक अन्य क्षेत्रबाट कमिसन तथा छूट आम्दानी गरेको छ। सरकारी स्वामित्वको अर्को नेपाल बैंकको आम्दानी पनि उच्च छ।

बढी आम्दानी गर्ने राष्ट्रिय वाणिज्य बैंकहरुको तूलनामा दोस्रो हिमालयन बैंकको आम्दानी आधा छ। राष्ट्रिय वाणिज्य बैकले गत वर्ष ५२ करोड २४ लाख रुपैयाँ आम्दानी गरेकामा हिमालयनले २७ करोड ३२ लाख रुपैयाँ गरेको छ।

ब्याजभन्दा कमिसनका आधारमा बढी आम्दानी गर्ने स्टान्डर्ड चार्टर्ड चौथो धेरै आम्दानी गर्ने बैंक भएको छ। तर, बैंकको यो आम्दानी अघिल्लो वर्षको तुलनामा भने कम हो। चार्टर्ड बैंकले अन्य बैंकको तूलनामा कमिसन तथा छूट आम्दानीलाई प्राथमिकतामा राख्ने गरेको छ। नयाँ बैंकमध्ये सनराइजको आम्दानी बढी छ। सनराइजले ५ करोड ९८ लाख छूट तथा कमिसनमा आधारित आम्दानी गरेको छ।

नयाँ खूलेका वाणिज्य बैंकको कमिसन तथा छूट आम्दानी अन्यको तूलनामा कम छ। सबैभन्दा कम कान्छो बैंक किष्टको छ। किष्टले वाणिज्य बैंकको कारोबार भर्खरै सूरु गरेकाले आम्दानी कम भएको हो। स्टान्डर्ड चार्टर्डसहित डीसीवीएल, सिटिजन्स, एनएमवी, लक्ष्मी र एनआइसी बैंकको आम्दानी घटेको छ।

गत आर्थिक वर्षमा प्रतितपत्रको शूल्क बढेकाले कमिसन आम्दानी बढेको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए। उनले आर्थिक वर्षको शुरुमा प्रतितपत्र खोल्ने घटेको भए पनि केही महिनाभित्रै त्यसले गति लिए पछि आम्दानीमा बृद्धि भएको जानकारी दिए।

पश्मिना, गार्मेन्ट तथा कार्पेट उद्योगले आर्थिक बर्षको सूरुमा निरास पारेकाले प्रतितपत्र खोल्ने क्रम घटेको थियो। बैंकहरुको कमिसन बापतको मख्य आम्दानी प्रतितपत्रबाट हुने गरेको छ। 'डलरको मुल्य वृद्धि, प्रतितपत्र सूधार र जग्गाको मुल्य बढेका कारण बैंक आम्दानी बढेको हो,' एनएमवी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले भने।

No comments:

Post a Comment

thanks for comment