नेपाली रुपैयाँ भारतीयसँग २ प्रतिशतले अधिमूल्यन

सुदर्शन सापकोटा
काठमाडौं, चैत १५-
लामो समयदेखि स्थिर विनिमय दर रहेको नेपाली मुद्रा भारतीयसँग २ प्रतिशतले अधिमूल्यन गर्नु पर्ने अध्ययनले देखाएको छ। नेपाल र भारतको मूल्य वृद्धिका आधारमा गरिएको अध्ययन अनुसार नेपाली मुद्रा २ रुपैयाँले सस्तो बनाउनु पर्ने आवश्यकता उक्त अध्ययनले औंल्याएको छ।
२०४९ फागुन १ गतेबाट प्रति एक रुपैयाँ नेपाली मुद्रा बराबर भारतीय १ रुपैयाँ ६० पैसाको स्थिर विनिमय दर कामय गरिएको छ।
 नेपालको मुद्रा अहिलेकै अवस्थामा रहे भारतीय वस्तुभन्दा नेपाली वस्तुको मूल्य महँगो पर्नेछ। भारतसँगको व्यापार सन्तुलन मिलाउनका लागि नेपाली रुपैयाँलाई सस्तो पार्नु पर्ने अध्ययन देखाएको हो।
साउथ एसिया वाच अन टे्रड इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती) ले सार्वजनिक गरेको अध्ययन मस्यौदामा १९ वर्षमा औषत विनिमय दर २ प्रतिशतले अधिमूल्यन भएको उल्लेख छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले केही महिनाअघि नेपाली मुद्रा भारतीयभन्दा १५ प्रतिशतले महँगो भएको जनाएको थियो। कोषले नेपाली राजनीति अस्थिर भएकाले विनिमय दर तत्काल परिवर्तन गर्न नहुने सुझावसमेत दिएको थियो। कोषले राजनीतिक स्थिरतापछि भने विनिमय दर परिवर्तन गर्नु पर्ने आवश्यकता औंलाएको थियो।
सावतीको अध्ययन अनुसार विनिमय दर परिवर्तन गर्ने बेला भए पनि यसका लागि नेपालले आन्तरिक तयारी पर्याप्त गर्नु पर्ने छ। अहिले निर्यातभन्दा आयात बढी भइरहेकाले तत्काल विनिमय दर परिवर्तन गर्दा नेपाललाई घाटा छ। 'स्थिर राजनीति र अन्य पूर्वाधारको विकासपछि विनिमय दर परिवर्तन गर्नु पर्छ,' अध्ययनमा उल्लेख छ।

माघ मसान्तसम्मको तथ्यांकमा भारतबाट २ सय अर्बभन्दा बढीको आयात हुने गरेको छ। तर कुल निर्यात भने साढे ४२ अर्बभन्दा बढी छैन। स्थिर विनिमय दर कायम हुँदा २०४९ मा नेपालको आयात १२ अर्ब ५४ करोड रुपैयाँ थियो। गत वर्ष यो २ सय १७ अर्ब ११ करोड रुपैयाँ पुगिसकेको छ। निर्यात १ अर्ब ६२ करोडबाट बढेर जम्मा ३९ अर्ब ९९ करोड रुपैयाँ मात्र पुगेको छ। यो हिसाबले व्यापार घाटा १० अर्ब ९२ करोडबाट बढेर १ सय ७७ अर्ब १२ करोड रुपैयाँ पुगिसकेको छ।
नेपालसँग वस्तु तथा सेवा उत्पादन गरेर निर्यात गर्न सक्ने गरी उद्योग स्थापना नभएको कारणले अहिले विनिमय दर परिवर्तन गर्दा असहज हुने छ। उद्योग स्थापना भएर निर्यात बढ्न थालेमा नेपाली वस्तुले भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैन। नेपाली मुद्रा महँगो भएकाले भारतीय वस्तु छनोटमा पर्छ।
अध्ययनले अहिलेको अवस्थामा विनिमय दर परिवर्तनका लागि नेपालले निर्यातमूलक क्षेत्रको विस्तार गर्नु पर्ने सुझाव दिएको छ। ऊर्जा, श्रमका क्षेत्रमा सुधार गर्दै व्यापार नीति-२००९ र औद्योगिक नीति-२०१० लाई लागू गर्नु पर्ने हुन्छ।
नेपालको शोधनान्तर घाटा बढ्न थालेपछि विनिमय दर परिवर्तन गर्नुपर्ने कुरा उठेको थियो। गभर्नर युवराज खतिवडाले समेत विनिमय दर पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता भएपनि राजनीतिक तरलताले तत्काल परिवर्तन गर्न नहुने बताउँदै आएका छन्।
नेपालले करिब ७० प्रतिशत वस्तु भारतबाट आयात गर्छ। विनिमय दर बढाएपछि भारतबाट आयात हुने वस्तुको मूल्य आकासिने छ। भारतसँगको बढ्दो व्यापार घाटाका कारण भारतीय रुपैयाँको माग पुरा गर्न नेपालले अमेरिकी डलर बिक्री गरेर ठूलो परिमाणमा भारु किन्नुपर्ने बाध्यता छ।

No comments:

Post a Comment

thanks for comment