एकै दिन चेक राफसाफ, सेवा सोमबारबाट

काठमाडौं, चैत २१
एक बैंकको चेक अर्को बैंकको खातामा जम्मा गरी पैसा झिक्न दुई तीन दिन लाग्दै आएकोमा अबदेखि त्यही दिन झिक्न सकिने भएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडले आगामी सोमबारबाट विद्युतीय प्रणालीमार्फत चेक साट्ने सेवा सुरु गर्न लागेको हो।
राष्ट्र बैंकले अहिले 'मानव शंसाधन' प्रयोग गरी चेक राफसाफ (एक बैंकको चेक अर्को बैंकको खातामा जम्मा गर्ने) गरिरहेको छ। व्यक्ति खटिएर काम गर्दा एउटा चेक राफसाफ गर्न राष्ट्र बैंकलाई दुई तीन दिन लाग्ने गरेको छ। सुदूर क्षेत्रका शाखाबाट आएको चेक राफसाफ हुन एक महिनासम्म पनि लाग्ने गरेको छ।
विद्युतीय प्रणालीबाट चेक राफसाफ गर्न राष्ट्र बैंकले सोमबार क्लियरिङ हाउसलाई निर्देशन दिएको छ। क्लियरिङ हाउसले विदेशी मुद्रामा जारी गरिएको चेकको राफसाफ भने गत माघ २० गतेबाट सुरुगरिसकेको छ। क्लियरिङ हाउसमा विदेशी मुद्राको चेक दैनिक औषदमा २ सय वटा राफसाफ हुने गरेको छ।
'नेपाली मुद्राको चेक राफसाफ गर्नका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको छ,' क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले सोमबार नागरिकसँग भने, 'सेवा सुरु भएपछि भौतिक रुपमा वोकेर ल्याउनु पर्ने चेक विद्युतीय माध्यमबाट राफसाफ हुने भएकाले समयको बचत हुने छ।'
राष्ट्र बैंकले तत्काललाई क्लियरिङ हाउसको सदस्य भएका बैंक तथा वित्तीय संस्थालाई विद्युतीय माध्यममार्फत चेक राफसाफ गर्न निर्देशन दिएको छ। सदस्य नभएका बैंक तथा वित्तीय संस्थाको चेक भने राष्ट्र बैंकले नै राफसाफ गरिदिने छ। क्लियरिङ हाउसमा राष्ट्र बैंकसहित ३६ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। ३२ वाणिज्य बैंकमध्ये नबिल र सेञ्चुरी कमर्सियल बैंक क्लियरिङ हाउसका सदस्य छैनन्।
राष्ट्र बैंकले चेक राफसाफ गर्दा आफ्ना ग्राहकसँग कुनै पनि सेवा शुल्क नलिनसमेत निर्देशन दिएको छ। चेक राफसाफ सेवा सातै दिन चौविसै घन्टा उपलब्ध हुने छ।
चेक कसरी राफसाफ हुन्छ?
एउटा बैंकको चेक आफ्नो खाता भएको अर्को बैंकमा जम्मा गरेपछि सम्बन्धित बैंकले चेक काटिएको बैंकमा त्यसलाई 'स्क्यान' गरेर पठाउँछ। त्यसपछिका सबै कामहरु स्क्यान गरिएको चेकको आधारमा हुन्छन्।
उदाहरणका लागि, न्युरोडमा रहेको 'क' बैंकको शाखा कार्यालयमा तपाईको खाता छ। तपाईको साथीको खाता भने 'ख' बैंकको पुल्चोक शाखामा छ। अब तपाईको साथीले 'ख' बैंकको पुल्चोक शाखाको चेकमार्फत भुक्तानि गर्‍यो। तपाई आफ्नो खाता रहेको 'क' बैंकको न्युरोड शाखा जानु हुन्छ।
न्युरोड शाखाले तपाईको चेकलाई स्क्यान गर्छ। शाखाले स्क्यान गरेको चेकको विद्युतीय प्रतिलिपी (कपी) नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) पठाउँछ। प्राप्त चेकको तस्विरलाई एनसिएचएलले 'ख' बैंकमा पठाइदिन्छ। बैंकले त्यो चेकमा भएको हस्ताक्षर, खातामा उपलब्ध रकमलगायत अन्य आवश्यक पक्षहरु भिडाउँछ। चेकको विवरणमा भएको कुरा खातामा मिले बैंकले भुक्तानीका लागि स्विकृत गर्छ, नमिले अस्विकृत।
चेक स्विकृत भए वा नभएको जानकारी 'ख' बैंकले विद्युतीय प्रणालीमार्फत 'क' बैंकलाई गराउँछ। यसको आधारमा 'क' बैंकले तपाँइको खातामा रकम जम्मा गर्ने वा नगर्ने निर्णय गर्छ। तपाईले 'क' बैंकमा जम्मा गर्नुभएको चेक त्यही बैंकमा सुरक्षित रहन्छ। तर, तपाईले चाहेमा चेकको 'इलेक्ट्रोनिक' प्रतिलिपी भने प्राप्त गर्न सक्नुहुनेछ। यो सेवाका लागि मेचीको बैंकले महाकालीको बैंकमा एकै दिन भुक्तानी गर्न सक्छ ।
विद्युतीय चेक राफसाफ प्रणालीले बैंक तथा वित्तीय संस्थाहरुको लागत घटाउँ छ। नगदको प्रयोग घट्छ। साथै एकै दिनमा खातामा पैसा जम्मा हुने भएकाले चेकको माध्यमबाट हुने भुक्तानीमा बृद्धि भई औपचारीक अर्थतन्त्रको विकास हुन्छ।

No comments:

Post a Comment

thanks for comment