कर्जा दिन नयाँ क्षेत्रको खोजी

काठमाडौं, पुस ४- घरजग्गा कर्जा नियन्त्रण गर्ने राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय क्षेत्र सुरक्षित कर्जा प्रवाहको खोजीमा छन्। राष्ट्र बैंकले बिहीबार बैकिङ क्षेत्रबाट घरजग्गामा प्रवाह हुने कर्जा नियन्त्रण गर्न कुल कर्जाको २५ प्रतिशतमात्र रियलस्टेटमा प्रवाह गर्न निर्देशन दिएको थियो। रियलस्टेट र आवासीय घर दुवैमा यो सीमा ४० प्रतिशत छ।
अब कर्जा जानेसक्ने क्षेत्र

- साना तथा मझौला उद्योग
- लघुकर्जा
- सेयर बजार
- बैंक निक्षेप
- नयाँ क्षेत्रको खोजी


'नगद अभाव मेटिएपछि बैंक तथा वित्तीय संस्था सुरक्षित नयाँ क्षेत्रको खोजीमा लाग्नुपर्छ,' नेपाल विकास बैंक संघका अध्यक्ष झपड बोहराले शुक्रबार 'नागरिक'सँग भने।

राष्ट्र बैंकले बिहीबार बैकिङ क्षेत्रबाट घरजग्गामा प्रवाह हुने कर्जा नियन्त्रण गर्न कुल कर्जाको २५ प्रतिशतमात्र रियलस्टेटमा प्रवाह गर्न निर्देशन दिएको थियो। रियलस्टेट र आवासीय घर दुवैमा यो सीमा ४० प्रतिशत छ।

यसले बैंकहरू अब घरजग्गामा थप कर्जा दिनसक्ने अवस्थामा छैनन्। सीमाभन्दा बढी कर्जा प्रवाह गरेका बैंकलाई अधिकतम दुई वर्षभित्रै कर्जा असुल गर्नुपर्ने चुनौती छ। 'नयाँ आउने बैंकबाहेक अरूले घरजग्गामा कर्जा दिनसक्ने अवस्था छैन,' बैंक अफ एसियाका प्रमुख कार्यकारी परशुराम क्षेत्रीले भने- 'नगद अभाव हटेपछि कर्जा दिन नयाँ क्षेत्र खोज्नुपर्छ।'

आइएमई फाइनान्सका प्रमुख कार्यकारी योगेश्वर ढकाल साना उद्योग र सेयर धितो कर्जातर्फ बढी ऋण प्रवाह हुनसक्ने बताउँछन्।

'जोखिमयुक्त क्षेत्र छोडेर अब नयाँ ठाउँ खोज्नुपर्छ,' उनले भने। सहरभित्र र बाहिरका साना उद्योगसहित कृषि क्षेत्रमा बैंकको कर्जा प्रवाह गर्न बैंकिङ क्षेत्र बाध्य हुने उनीहरूको धारणा छ। 'गाउँ-गाउँमा बैंकिङ सेवा पुर्‍याउन लघुकर्जातर्फ समेत लाग्नुपर्ने हुन्छ,' ढकालले भने।

विगतमा सेयर बजार ओरालो लागेपछि लगानीकर्ता छिटो नाफा हुने घरजग्गामा आकर्षित भएका थिए। 'अब जग्गाको भाउ घट्ने भएकाले कर्जा कडाइ भैसकेको सेयरमा विस्तारै केही लगानी हुनसक्छ,' बोहराले भने। धेरै लगानीकर्ताले सेयरको पैसा झिकेर जग्गामा लगाएका थिए।

क्षेत्रीका अनुसार अब रोजगार सिर्जना हुने उपादनमूलक क्षेत्रमा भन्दा व्यापारिक क्षेत्रमा लगानी बढ्नसक्छ। 'रोजगार सिर्जना हुने उद्योग खोल्न यहाँ कोही पनि चाहँदैन,' उनले भने- 'राजनीतिक दल र मजदुर नेताले वातावरण नबनाएसम्म रोजगार सिर्जना हुने उद्योग खुल्दैन र कर्जासमेत जाँदैन।'

औद्योगिक क्षेत्रमा अशान्ति भएकाले कर्जा प्रवाह हुन नसक्ने क्षेत्रीले बताए। 'उत्पादनमूलक क्षेत्रमा कर्जा जाने वातावरण बनेको छैन,' उनले भने।

उत्पादनमूलक क्षेत्रमा पैसा पठाउन सस्तो ब्याजमा कर्जा दिन नहुने अर्थसचिव रामेश्वर खनालले बताए। कर्जा महँगो भए उत्पादनमूलक क्षेत्रमा जाने उनको अनुमान छ। नयाँ नीतिले रियलस्टेटमा कर्जा नियन्त्रण भई उत्पादनमूलक क्षेत्रको विकासमा बैंकहरूको ध्यान जाने गभर्नर विजयनाथ भट्टराईको विश्लेषण छ।

राजनीतिक वातावरण नहुँदा पछिल्लो समय औद्योगिक क्षेत्र संकुचित हुँदै गएको छ। अहिल्यै कर्जाको विस्तार उच्च भएकाले रकम बैकिङ क्षेत्रमा नथपिई कर्जा बढाउन सकिने अवस्था नभएको क्षेत्रीले बताए। बन्द, हड्ताल, राजनीतिक अस्थिरताले औद्योगिक क्षेत्रको लगानीसमेत जोखिममै रहेको उद्योगी बताउँछन्। वातावरण झन् बिग्रँदै गएकाले यो क्षेत्रमा लगानी बढ्ने अवस्था नभएको उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले बताए। 'स्वदेशी उद्योग सञ्चालन हुनसक्ने अवस्था छैन,' जोशीले भने, 'औद्योगिक क्षेत्रलाई हेर्न सरकारी र राजनीतिक दृष्टिकोणसमेत सकारात्मक पाइँदैन।'

पछिल्लो समय ठूला लगानीका उद्योगसमेत आउन सकेका छैनन्। 'अहिलेको असहज परिस्थितिमा कर्जा लिएर कोही उद्योग विस्तार गर्न चाहँदैन,' ढकालले भने, 'त्यसैले धेरैले उद्योगको नाममा लिएका ऋणसमेत घरजग्गा कर्जामा लगाएका हुनसक्छन्।'

र्थशास्त्री विश्वम्भर प्याकुर्‍याल अहिलेको अवस्थामा उत्पादनमूलक क्षेत्रमा लगानीको संभावना नरहेको बताउँछन्।

कर्जाको विस्तार उच्च भएकाले थप प्रवाह गर्न सक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था नभएको उनीहरूले बताए। कर्जा पूरै ठप्प नभए पनि धेरै न्यून हुने बैंकर्सको विश्लेषण छ। कर्जा नियन्त्रण भएपछि जग्गाको भाउ घट्ने भएकाले बैंकहरू असजिलोमा पर्न सक्ने प्याकुरेलले बताए।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गामा १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा दिएका छन। योसँगै कर्जाको विस्तार २८ प्रतिशत पुगेको छ। अहिलेको अर्थतन्त्रको अवस्थामा कर्जाको विस्तार १५ प्रतिशतमा सीमित भए पुग्ने सरकारी अनुमान छ।


No comments:

Post a Comment

thanks for comment