धितोपत्र सम्वन्धि तथ्यांक बैंक

नागरिक संवाददाता
धितोपत्र वोर्डले पुँजी बजार सम्वन्धि सम्पूर्ण तथ्यांक सर्वसाधारणसम्म पुर् याउन धितोपत्र तथ्यांक व्यवस्थापन प्रणाली एसडिएमएस को विकास गरेको छ । यो वेभ प्रणालीमा पुँजी बजार सम्वन्धि तथ्यांकका साथै साधारण वोनस निष्कासन हकप्रद सेयरलगायत सम्वन्धित कम्पनीको बारेमा जानकारी हुने छ । वोर्डले यसलाई केन्द्रिय धितोपत्र तथ्यांक बैंकका रुपमा विकास गरेको हो ।
प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रणाली विकास गर्नु मात्र ठूलो कुरा नभइ यसलाई अद्यवधिक गर्नु प्रमुख कुरा भएको बताए । उनले धितोपत्र बजारमा लगानी गर्न चाहनेका लागि यो प्रणालीले मद्दत गर्ने बताए ।
व्यवस्थित सुचना प्रणालीको अभावबाट समस्या भोगिरहेका लगानीकर्ताका लागि यसले लाभ पुर् याउने छ- उनले भने ।
उनले वहुचर्चित केन्द्रिय निक्षेप प्रणाली सिडिएस का लागि बम्वइ स्टक एक्सचेन्जसँग कुराभइरहकेको जानकारी दिए ।
उनीहरुसँग हामी नियमित सम्पर्कमा छौं- अर्थमन्त्रीले भने -यसको विकास गरेर कार्यान्वयनमा चाँडै ल्याउन प्रतिवद्ध छौं ।
सिडिएस कार्यान्वयनमा आएपछि लगानीकर्ताले घरमै बसेर सेयर खरिद विक्री गर्न सक्ने उनले बताए ।
यसो हुँदा सर्वसाधारणलाई सजिलो भइ बजार विस्तार हुने छ-उनले भने ।
सरकारले चालु आर्थिक बर्षको बजेटमा यो प्रणाली गएको असोज मसान्तभित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएको थियो । तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । यद्यपी अध्ययन भने भइरहेको छ ।
कार्यक्रममा वोल्दै राष्ट्र बैंकका डेपुटी गभर्नर कृष्णवहादुर मानन्धरले वोर्डको यो तथ्यांक प्रणालीबाट लगानीकर्ताले धेरै लाभ उठाउन सक्ने बताए । उनले वोर्ड र राष्ट्र बैंक मिलेर साधारण निष्कासनमा लगानी गर्नेलाई एउटा प्रणालीमा समेटेर पुँजी बजारमा हुने विकृति घटाउन सकिने बताए । यसका लागि राष्ट्र बैंक अन्तर्गतका बैंक वित्तीय संस्थाको साजाललाई प्रयोग गरी यो प्रणालीलाई विकास गर्न सकिने जानकारी दिए ।
वोर्डले विकास गरेको यो प्रणाली विश्व बैंकको आर्थिक सहयोगमा तयार गरिएको हो । यसका लागि विश्व बैंकले १ करोड ११ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । यसमध्ये यो प्रणाली विकास गर्दा ९ लाख रुपैयाँ बचत भएको छ । वोर्डका नवराज अधिकारीको नेतृत्वमा यो प्रणाली विकास गरिएको हो ।

No comments:

Post a Comment

thanks for comment