सुदर्शन सापकोटा, काठमाडौं, पुस १- बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धाका कारण प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब बढेको छ।
विभिन्न वाणिज्य बैंकको वार्षिक प्रतिवेदनअनुसार सीईओको तलब सुविधा गत वर्षको तुलनामा यो वर्ष १५ देखि ३५ प्रतिशतसम्म बढेको देखिन्छ। राष्ट्र बैंकले वित्तीय क्षेत्रका प्रमुख कार्यकारीको तलब सुविधाबारे प्रश्न उठाइरहेका बेला वाणिज्य बैंकहरूले सुविधा बढाएका हुन्।
केन्द्रीय बैंकले तलब सुविधाबारे अध्ययन गरी मापदण्ड तोक्न चार महिनाअघि सुपरीवेक्षण विभागलाई निर्देशन दिएको थियो।

'जोखिम व्यवस्थापन गर्दै लगानीको उच्च प्रतिफल दिनुपर्ने, बैंकको सम्पूर्ण जिम्मेवा निर्वाह गर्नुपर्ने र अस्थायी प्रकृतिको पद भएकाले प्रमुख कार्यकारीको तलब बढेको हो,' सञ्चालनमा आउने तयामा रहेको मेगा बैंकका प्रमुख कार्यकारी अनिल शाहले भने।

पछिल्लो वृद्धिपछि पनि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी सुजित मुन्डुल सबभन्दा बढी तलब खानेमा परेका छन्। अहिले उनी वर्षको २ करोड १३ लाख ९१ हजार रुपैयाँ बुझ्छन्। यसअघि उनको तलब सुविधा १ करोड ७७ लाख रुपैयाँ थियो।

बैंकिङ क्षेत्रको बढदो प्रतिस्पर्धाले प्रमुख कार्यकारीको तलब सुविधा बढेको बैंकर्स बताउँछन्।
प्रतिस्पर्धाकै कारण सीईओहरू एउटाबाट अर्कोमा जाने क्रम पनि बढेको छ। हालै मेगा बैंकमा आबद्ध शाह केही अघि नबिल बैंकमा थिए। सनराइज बैंकका प्रमुख कार्यकारी किशोर महर्जन सञ्चालन अनुमति पर्खिरहेको सिभिल बैंक गएका छन् भने ग्लोबल बैंकका सुमन न्यौपाने सनराइज पुगेका छन्। यस्तै विजय पन्त सञ्चालन तयामा रहेको जनता बैंक गएका छन्। सीईओहरू यताबाट उता जाने क्रमले पनि तलबसुविधा बढाउन मुख्य भूमिका खेलेको हो।

नबिल बैंकले गत वर्ष तत्कालीन प्रमुख कार्यकारी शाहलाई वार्षिक ९१ लाख ५० हजार रुपैयाँ तलबसुविधा दिएको थियो। अघिल्लो वर्ष उनले ८० लाख रुपैयाँ तलब बुझेका थिए। नबिलभन्दा आकर्षक तलब सुविधाका कारण नयाँ बैंक गएको उनी बताउँछन्।

त्यस्तै, इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारीलाई १ करोड ५३ लाख रुपैयाँ तलब सुविधा दिएको छ। अघिल्लो बर्ष बैंकले १ करोड २८ लाख रुपैयाँ तलव सुविधा दिएको थियो। सिटिजन्स बैंकले गत वर्ष ७० लाख ११ हजार रुपैयाँ दिएको थियो। अघिल्लो बर्ष बैंकले ५२ लाख १५ हजार रुपैयाँ तलव सीईओलाई दिएको थियो।

'कर्मचारीका लागि जागिरको आकर्षक पक्ष नै तलब हो,' एक वाणिज्य बैंकका अध्यक्षले भने, 'तलब यति देऊ/उति देऊ भनेर राष्ट्र बैंकले रोक्न खोज्यो भने बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारीको अभाव हुनसक्छ।'
मूल्यवृद्धिका आधारमा अन्य कर्मचारीको तलब बढेजस्तै सीईओको पनि बढेको उनले बताए। 'एउटै तलबमा चार/पाँच वर्ष कसैले काम गर्न सक्दैन। बैंकले हासिल गरेको उपलब्धि, प्रतिस्पर्धा र बजार मूल्य वृद्धिका आधारमा वर्षेनी तबल समायोजन हुन्छ,' उनले भने।
सीईओको तलब बढी भयो भनेर नियन्त्रण गर्न खोज्नु प्रतिस्पर्धी बजारको मान्यताविपत हुने बैंकर्स बताउँछन्।
अस्थायी प्रकृतिको काम भएकाले सीईओले पाउने तलबसुविधा जागिर खाउन्जेलमात्र हुने उनीहरूको तर्क छ। अन्य कर्मचारीजस्तो प्रोभिडेन्ट फन्ड, बिमा, औषधि उपचारजस्तो सुविधा बैंकका प्रमुखलाई हुँदैन।
'जागिर खोसिएको भोलिपल्ट अरू कर्मचारीको हातमा धेरथोर पैसा हुन्छ, तर सीईओ खाली हात निस्कनुपर्छ,' बैंकका ती अध्यक्षले भने।
शाह भने बैंकको प्रतिफलका आधारमा सीईओले पाउने तलबसुविधा मूल्यांकन गर्नुपर्ने बताउँछन्।
बैंक सञ्चालक समितिले दिएको वार्षिक लक्ष्य हासिल गर्दै लगानीकर्तालाई उचित प्रतिफल दिनुपर्ने दबाब सीईओमाथि हुने भएकाले बढी तलब पाउनु स्वाभाविक भएको उनको भनाइ छ। 'सीईओले आकर्षक तलबका लागि नै चुनौतीपूर्ण जिम्मेवारी लिएका हुन्छन्,' उनले भने, 'तलब राम्रो नभए किन ठूलो जिम्मेवारी बोकेर जागिर खाने?'

http://www.nagariknews.com/news-highlights/139-highlights/8210-2009-12-16-03-15-53.html


No comments:

Post a Comment

thanks for comment