बैंक खोल्न पूँजी बढाउने तयारी

काठमाडौं, वैशाख १८ (नागरिक)- नेपाल राष्ट्र बैंकले नयाँ बैंक खोल्नको लागि आवश्यक पूँजी बढाउने संकेत गरेको छ। गभर्नर युवराज खतिवडाले अहिलेको पूँजी प्रावधान ज्यादै कम भएकोले त्यसलाई बढाउने र थप योग्यताहरु पनि राख्ने तयारी भैरहेको वताएका छन्।
'अहिले नयाँ बैंक खोल्न आवश्यक पर्ने रकम खास ठाउँको २ रोपनी जग्गा बेच्दैमा आउँछ,' खतिवडाले इन्डिपेन्डेन्ट बिजनेश न्यूजद्वारा आयोजित 'वित्तीय क्षेत्रमा संस्थागत सुशासन विषयक कार्यक्रममा भने। अहिले राष्ट्रिय स्तरको नयाँ बाणिज्य बैंक खोल्नको लागि कम्तिमा दुई अर्ब रुपैयाँ चुक्ता पूँजी चाहिन्छ।

दुई अर्ब पूँजी पुर्‍याउन १२/१४ सय संस्थापक सेयरधनी भएर नयाँ बैंक खुलिरहेको र यस्ता बैंकहरु व्यवस्थित हुन समस्या देखिएको पनि खतिवडाले वताए। 'बैंकिङ क्षेत्रमा संस्थागत सुशासनमा समस्याहरु देखापरेकोले नयाँ बैंक खोल्नको लागि केही नयाँ नीतिगत व्यबस्थाहरु हुँदैछन्,' खतिवडाले भने। उनले नयाँ नीतिगत व्यबस्थाका बारेमा अहिलेनै थप सार्वजनिक गर्न अस्विकार गरे।

वित्तीय क्षेत्रमा सुशासनको लागि सञ्चालक समिति र व्यबस्थापन आफैंले आचार संहिता तयार गरेर अघि बढ्नुपर्ने देखिएको उनले वताए। बैंकको सञ्चालक हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्थालाई कतिपय बैंकहरुले नटेरेको गुनासो खतिवडाको थियो।

बैंकिङ क्षेत्रमा व्यबसायीक घरानाहरुबीचको अस्वस्थ प्रतिस्पर्धापनि देखिदा समस्या आएको उनले वताए। 'असल कर्जाको विषयमा निर्णय गर्नुपर्दा पनि व्यबसायीक घरानाहरुबीचको प्रतिस्पर्धा देखिने गरेको छ,' खतिवडाले भने।

राष्ट्र बैंकले बैंकमा स्वतन्त्र विज्ञ सञ्चालक राख्नुपर्ने अनिवार्यताको विषयमा खतिवडाले असन्तुष्टी जनाए। 'स्वतन्त्र विज्ञ सञ्चालकको विषयमा गुनासो आएको छ, उनीहरु कति स्वतन्त्र छन्? यस विषयमा केही सोच बनाउनुपर्ने मैले देखेको छु,' उनले भने। तर उनले कस्तो सोच बनाउन लागिएको भन्ने बारेमा थप केही वताएनन्।
राष्ट्र बैंकले सूचिकृत गरेका स्वतन्त्र विज्ञलाई बैंकहरुले अनिवार्य रुपमा सञ्चालक समितिमा राख्नुपर्ने प्रावधान छ। यो प्रावधानलाई बैंकहरुले आपत्ति जनाएर हटाउन आग्रह गर्दै आएका छन्।

राष्ट्र बैंकले गर्ने गरेको बैंक तथा वित्तीय क्षेत्रको अनुगमन, नियमनको विषयमा पनि गभर्नरले आवश्यक सुधार गरिने वताए। उनले सुधारको लागि सुझाव दिन बैंकर्सहरुसँग आग्रह पनि गरे।

पछिल्लो समयमा बैंकर्सहरुको छुट्टाछुट्टै संस्थाहरु खुलेको विषयमा खतिवडाले असन्तुष्टी देखाए। 'बैंकर्स एसोसिएसनले सस्थापक, सञ्चालकहरुको पनि समेटेर सँगै ल्याउनुपर्थ्यो,' उनले भने। बैंकका सञ्चालकहरुले अहिले छुट्टै संस्था खोलेका छन्। एउटै संस्था भएको भए राष्ट्र बैंकले लिनुपर्ने नीतिका विषयमा एकै किसिमको धारणाहरु आउने र त्यसले केन्द्रिय बैंकलाई अघि बढ्न सजिलो पुग्ने उनले वताए।

बैंकिङ क्षेत्रमा सुशासनको विषयमा कार्यपत्र पेश गर्दै राष्ट्र बैंकका पूर्ब डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले निक्षेपकर्ताको भलाई र हकहितलाई ध्यान दिनु अहिले बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौति भएको वताए। उनले सुशासनको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत र कर्मचारीले लिने सुविधालाई पनि नियमन गर्नुपर्ने सुझाव दिए।
बैंक सञ्चालक समिति र व्यबस्थापनको बीचमा समय समयमा देखिने विवादले पनि सुशासनको अवस्था कमजोर हुने गरेको छ। यसको लागि सञ्चालक समिति र व्यबस्थापनका बीचमा सिमा स्पष्ट बनाउनुपर्ने देखिएको मानन्धरले वताए।

'उद्योगी, व्यापारी हो कि बैंकर्स हो छुट्याउन नसकिने गरि समस्या देखिएको छ,' मानन्धरले भने। उनले यसलाई व्यवस्थित गर्नुपर्ने अवस्था रहेको पनि उल्लेख गरे। बैंकका सेयरधनी हुँदैमा बैंकको मालिक भन्दै नहुने भन्दै मानन्धरले सेयरधनीहरु पूँजीको मालिक मात्र रहेकोले सेयरधनीले माग्दैमा जथाभावी सुविधा दिन नमिल्ने वताए। बैंकको साधारण सभामा सेयरधनीहरुले अरु सर्वसाधारणले भन्दा बढी व्याज पाउनुपर्ने, बैंकले सेयरधनीलाई विभिन्न सुविधा दिनुपर्ने माग गर्दै आएका छन्।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले कम्पनीको मूल्य बढाउन संस्थागत सुशासतको जरुरी रहेको वताए। 'जुन कम्पनीमा संस्थागत सुशासन छ त्यसको सेयरको मूल्य बढ्ने र नयाँ लगानी समेत आउँछ,' उनले भने।

पूर्ब गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ क्षेत्रमा सुशासनको अवस्था ज्यादै कमजोर रहेको वताए। 'बैंकहरुले आफैंले आफ्नो सेवाको मूल्य तोकेर आनन्द लिइरहेका छन्,' उनले भने। आफैंले सेवाको शुल्क तोक्ने गरेकोले पनि बैंकिङ क्षेत्र कहिल्यै पनि नोक्सानीमा नजाने गरेको उनले वताए। उनले बैंकले उद्योगी व्यापारीलाई मर्कामा पारेका छन् भन्ने विषयमा व्यापक गुनासो आइरहेकोले त्यसतर्फ गंभीर हुन आग्रह गरे।

कार्यक्रममा बैंकर्स एसोसिएसनका अध्यक्ष सशीन जोशी, विकास बैंक संघका अध्यक्ष झपट रावल, स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित मुण्डुलले बैंकिङ क्षेत्रमा सुशासनको अवस्था र राष्ट्र बैंकले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा सुझाव दिएका थिए।

इन्डिपेन्डेन्ट बिजनेश न्यूजका हृदयराज गौतमले बैक खोल्दा नाफा हुन्छ भन्ने सोचले यो क्षेत्रमा लगानी बढीरहेको र यसले सुशासनमा समस्या देखिएको वताए। उनले उद्योगपतिहरुले धमाधम बैंक खोल्न हात हालेको कारणले पनि समस्या बढेको वताएका थिए।

No comments:

Post a Comment

thanks for comment