लगानीकर्ताको 'मूड' जाँच्दै एसियन लाइफको सेयर

सुदर्शन सापकोटा,
काठमाडौं, कात्तिक ११-
एसियन लाइफ इन्स्योरेन्सले मंगलबारबाट साधारण सेयर निष्कासन गरेको छ। निकै लामो समयपछि बिमा कम्पनीको प्रतिनिधित्व गर्दै साधारण सेयर निष्कासन गरेको कम्पनीले एक सय रुपैयाँ दरका १० लाख ८० हजार कित्ता सेयर बजारमा ल्याएको हो।

तुरुन्तै विक्रीका लागि लगानी गर्दै हुनुहुन्छ भने यो तपाइको रोजाइमा नपर्न सक्छ। सेयर बजारमा बिमा कम्पनीको कारोबारलाई दृष्टिगत गरी विश्लेषक यही बताउँछन। बजारमा बैंक तथा वित्त कम्पनीजस्तै बिमा कम्पनीहरुको कारोबार हुदैन। बिमा कम्पनीका सेयर सिमित व्यक्तिका हातमा भएकाले पनि कारोवार नभएको अवस्था छ। बजारमा प्रायः कारोबार नहुने सेयर लगानीका लागि उपयुक्त मानिदैन।

पछिल्लो ३ महिनामा ५४ दिन कारोबार भएकोमा बिमा कम्पनीको औसत ८ दिन मात्र कारोबार भएको छ। सबैभन्दा बढी कारोबार भएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ३४ दिनमात्र कारोबार भएको छ। प्रुडेन्सियलको मुस्किलले २ दिन कारोबार भएको छ भने राष्ट्रिय बिमा संस्थानको कुनै कारोबार भएन। नेसनल लाइफ, हिमालयन जनरल, युनाइटेड, एभरेष्ट, नेको, एलाइन्स, सगरमाथा, एनबी, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन कारोबार एकदमै न्यून छ। प्रिमियर, शिखर, सिद्धार्थको कारोबार सातामा दुई पटकजस्तो भइरहेको छ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा १७ बिमा कम्पनी सूचीकृत भएकोमा केहि समयपछि एसियन थपिनेछ। स्थापनादेखि नै नाफा कमाउन सफल यो कम्पनीले पुराना जीवन बिमा कम्पनीलाई उछिन्दै गत वर्ष सबैभन्दा बढीलाई बिमा सुविधा उपलब्ध गराएको थियो। एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ लाख ३७ हाजरको जीबन बिमा गराएको थियो। कम्पनीको नाफा पनि गत वर्ष वृद्धि भएर ४७ लाख पुगेको थियो।

बैंक तथा वित्त कम्पनीसंग तुलना गर्दा बिमा कम्पनीको चुक्ता पुँजी कम हुन्छ। गैर-जीबनका लागि १५ करोड र जीवन बिमा कम्पनीका लागि २५ करोड रुपैयाँको चुक्ता पुँजी भए पुग्ने भएकाले यिनीहरुको सेयर संख्या पनि कम हुन्छ।

हाललाई बैंक तथा वित्त कम्पनीजस्तो पुँजी बढाउनका लागि बिमा कम्पनीले बोनस तथा हकप्रद सेयर जारी गर्न आवश्यक पनि हुदैन। त्यसैले बोनस तथा हकप्रद सेयरको अपेक्षा गर्ने लगानीकर्तालाइ एसियन लाइफको सेयरले नतान्न सक्छ।

यद्यपी एसियनको सेयरबाट आशा गर्न सक्ने अवस्था पनि छ। नाफा कमाएको कम्पनी, धेरैको बिमा गराउन सक्षम र अनुभवी व्यवस्थापकका कारण यसको सेयर आकर्षक मानिएको छ। तर समग्र बिमा कम्पनीको सेयर नै कारोबार नभएको अवस्थामा एसियनको मात्र कारोवार हुन्छ भन्ने आधार कम छ।

कम्पनीले धेरैको हातमा सेयर पुगोस भनेर न्युनतम १० कित्ता सेयरमा पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ। बढी लगानीकर्ता सहभागी होउन र सेयर कारोबार बारम्बार होस भन्ने उद्देश्य कम्पनीले राखेको छ। यसअघि साधारण सेयर निष्कासन गर्ने कम्पनीले कम्तिमा ५० कित्ता सेयरका लागि मात्र आवेदन दिन पाउने व्यवस्था गरेका थिए।

No comments:

Post a Comment

thanks for comment