जीवन बीमा गराउने सेलिवि्रटी वढे


सुदर्शन सापकोटा, काठमाडौं, असोज २२-
'बचत र सुरक्षाका लागि बीमा गरेकी हुँ,' भर्खरै जीवन बीमा गराएकी चलचित्र अभिनेत्री रेखा थापाले भनिन्, 'आम्दानी बढाउनलाई होइन।'

तीन महिनाअघि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) मा बीमा गराएकी उनले वार्षिक १ लाख ८५ हजार प्रिमियम तिर्छिन्। चलचित्र क्षेत्रमा कलाकारले ज्यान जोखिममा राखेर 'स्टन्ट' गर्नु परेपनि दुर्घटना परेमा बीमा नहुने भएकाले आफैले जीवन बीमा गराएको उनले बताइन्। 'दर्शकलाई मनोरञ्जन गराउन कहिले बन्जी गर्नु पर्छ, अग्लो पर्खालबाट हाम फाल्नुपर्छ,' उनले भनिन्, 'तर दुर्घटना भएमा निर्माताले क्षतिपूर्ति दिँदैनन्, आफ्नो सुरक्षा आफै गर्न बीमा राम्रो विकल्प लाग्यो।'

५० वर्ष उमेर पुगेपछि रेखाले बीमा गराएको रकम फिर्ता पाउँछिन्। उनी अहिले २६ वर्षकी भइन्। '२५ लाख रुपैयाँ बराबरको बीमा गराएकी छु,' रेखाले भनिन्, 'बीमा गरेको अवधि पुरा हुँदा वोनसलगायत अन्य सुविधा सहित ६० लाख रुपैयाँ मेरो हातमा पर्छ।' बार्षिक रुपमा प्रिमियम बापतको रकम घुमघाम र खानपीनमा नै खर्च हुने गरेको बताउँदै उनले सुरक्षाका साथै बचतका लागि त्यो पैसा प्रिमियम तिर्न खर्च गरेको जानका दिइन्। 'त्यसै खर्च हुने पैसा बचत नै हुने भएको छ,' उनले भनिन्।

रेखा मात्र होइन अन्य 'सेलिब्रिटी' कलाकारले पनि अहिले बीमा गराउन थालेका छन्। रेखाका श्रीमान् तथा चलचित्र निर्माता छवि ओझा, राजेश हमाल, अर्जुन श्रेष्ठलगायत धेरै कलाकारले अहिले जीवन बीमा गराएका छन्। सेलिव्रिटी मात्र होइन 'लो प्रोफाइल' का सर्वसाधारणमा पनि बीमाप्रति आकर्षण बढेको छ।

गत आर्थिक वर्षमा ४ लाख ६३ हजार २ सय ९४ जनाले जीवन बीमा गराएका छन्। अघिल्लो वर्ष यस्तो बीमा १ लाख ४५ हजार ३ सय ७ जनाले गराएका थिए। जीवन बीमा गराउने कम्पनीले विक्री गरेको बीमा लेखको वृद्धि अघिल्लो वर्षको तुलनामा निकै बढी भएको बीमा कम्पनीको नियमन निकाय बीमा समितिले जनाएको छ।

गत वर्ष मान्छेको आम्दानी बढेको तथा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्समा वृद्धि भएकाले बीमा गराउने बढेको समितिका अध्यक्ष फत्तबहादुर केसीले बताए। गरिबीको रेखामुनि रहेको जनसंख्या ३० प्रतिशतभन्दा तल झरेको छ। यसले सर्वसाधारणको आयमा वृद्धि भएको पुष्टि गर्छ। केन्द्रीय तथ्यांक विभागका अनुसार ३० प्रतिशत नेपाली परिवारले रेमिट्यान्स पाउँदै आएका छन्।

बीमा गराउनेको संख्या कम्पनीको सक्रियताले पनि बढेको हो। प्रतिस्पर्धा बढेपछि बीमा कम्पनी गाउँ-गाउँ जान थालेकाले संख्या बढेको केसीले बताए। उनले कम्पनी संख्या बढेकाले प्रतिस्पर्धा गर्न उनीहरुले एजेन्टको संख्या वढाएर गाउँ(गाउँमा परिचालन गरेकाले बढेको जानकारी दिए। अहिले सबै कम्पनीको गरेर ४० हजारभन्दा बढी बीमा गराउने एजेन्ट कार्यरत छन्। एजेन्टको आधिकारिक तथ्यांक नभए पनि यो पहिलेको भन्दा निकै बढी भएको समितिले जनाएको छ।

जिन्दगीको भर नहुने भएकाले बीमाः रेखा थापा
मान्छेको जिन्दगीको भर हुँदैन। कहिले के हुन्छ, कहिले के हुन्छ। आफ्नो सुरक्षाका लागि बीमा राम्रो विकल्प हो। चलचित्र क्षेत्रमा कसैको पनि बीमा नहुने भएकाले आफ्नो बीमा गराएकी हुँ। बीमा गर्दा सुरक्षा मात्रै होइन बचत पनि हुन्छ। मेरो श्रीमान् छवि जीले पनि बीमा गराउनु भएकाले मैले बीमा गरेकी हुँ।

सुटिङमा 'स्टन्ट' दृश्य दिन जोखिम उठाउनु पर्ने भएकाले दुर्घटना भएपनि आर्थिक समस्या नपरोस् भनेर मैले बीमा गराएकी हुँ। आगोमा 'फाइटिङ' दृश्य दिनुपर्छ, पर्खालबाट हाम फाल्नु पर्छ। त्यस्तो जोखिम उठाउँदा दुर्घटना भएमा मलाई बीमा रकमले आर्थिक सहुलियत पुग्छ। अहिले बीमा गरेर पछि दोब्बर आम्दानी गर्छु भनेर मैले बीमा गराएकी होइन। बीमा गराएपछि केही परे समस्या हुँदैन भन्ने मनोवैज्ञानिक आत्मविश्वास पनि बढेको छ।

मैले ५० वर्षको उमेरमा बीमा रकम फिर्ता पाउने गरी बीमा गराएकी हुँ। वार्षिक रुपमा १ लाख ८५ हजार प्रिमियम तिर्नुपर्छ। मैले २५ लाख रुपैयाँ प्रिमियम तिरेपछि एकमुस्ट ६० लाख रुपैयाँ पाउने गरी बीमा गराएकी छु। तीन महिना अघि बीमा गराउँदा सुरुमा मैले दुई लाख रुपैयाँ रकम कम्पनीलाई बुझाएकी थिए। अब प्रिमियम मात्र तिरे पुग्छ।

प्रिमियम बापतको रकम खानपिन र घुमघाममा खर्च भइरहेको हुन्छ। त्यो रकम बराबरको बीमा गराएर बचत नै भएको छ। पछि केही नभएपनि मैले ६० लाख रुपैयाँ एकमुस्ट पाउँछु। यसले कुनै ठाउँमा लगानी गर्न पुग्छ।

No comments:

Post a Comment

thanks for comment