अन्तर बैंक सापटी साढे ६ गुणाले बढ्यो, निक्षेप एक अर्बले घट्दा ऋण १८ अर्बले वृद्धि (तालिका सहित)

काठमाडौं, असोज १७- वाणिज्य बैंकहरुमा निक्षेप संकलनमा केही कमी आएपछि बैंकहरुले आपसमा लिने (अन्तर बैंक) सापटी दुई दिनयता साढे ६ गुणाले बढेको छ। दैनिक २४ करोड रुपैयाँको हाराहारीमा सापटी कारोबार हुँदै आएकोमा आइतबारबाट बढेर १ सय ५५ करोड पुगेको छ। 
 राष्ट्र बैंकका अनुसार नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरुको निक्षेप घटेको छ। असार मसान्तका दिन ३२ वाणिज्य बैंकसँग ८ सय ६२ अर्ब रुपैयाँ निक्षेप थियो। अहिले १ अर्बले घटेको छ। ऋण लगानी १८ अर्ब रुपैयाँले बढेको छ।
पूर्ण बजेट नआउँदा खर्च नभएर सरकार बचतमा रहेको, विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिटेन्स) र शोधनान्तर बचतको वृद्धि दर कम भएका कारण बैंकहरुबाट निक्षेप घटेको हो। निक्षेप घटेसँगै बैंकहरुले आपसमा लिने सापटीको कारोबार बढाएका हुन्।
'ऋण लगानी बढ्न थालेकाले केही बैंकको कर्जा-निक्षेप अनुपात साँघुरो भएको छ,' एक बैंकरले भने, 'यही बेला निक्षेप एक अर्बले घटेपछि अन्तर बैंक कारोबार बढेको हो।' ६ महिनादेखि ठूलो रकममा अन्तर बैंक सापटी कारोबार भएको थिएन।
सापटी कारोबार बढे पनि यसको ब्याज दरमा भने सुधार आएको छैन। बैंकले पहिले कारोबार गरेकै ब्याज दर (०.३२ देखि ०.५० प्रतिशत) मा सापटी चलाइरहेका छन्। दैनिक ६/७ वटा दैनिक कारोबार हुँदै आएकोमा अहिले २०/२२ वटा पुगेको राष्ट्र बैंकले जनाएको छ।
'निक्षेपमा बढ्न नसके पनि अझै पनि बैंकहरुसँग पर्याप्त तरलता छ,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले नागरिकसँग भने, 'तर, बजेट आउन सकेन भने अवस्था अहिलेको जस्तो सहज हुँदैन। तरलता अभाव हुन्छ।' उनले अहिले ऋणको माग नभएकाले निक्षेप नबढे पनि तरलता सहज भएको जानकारी दिए।
बैंकरका अनुसार निक्षेप घटेर तरलता अभाव हुन सक्ने भयले बैंकले सस्तोमा पाएको सापटीबाट लगानी वढाउन थालेका छन्। निक्षेप घटेर तरलता अभाव भए फेरि बैंकहरुले महँगोमा बजारबाट निक्षेप उठाउनुपर्ने हुन्छ। त्यही भएर सापटी कारोबार बढेको हो।
राष्ट्र बैंकका अनुसार साउनमा निक्षेप ८ सय ६६ अर्ब रुपैयाँ हुँदा अन्तर बैंक सापटी जम्मा ३ करोड रुपैयाँ बराबरको हुने गरेको थियो। भदौ पहिलो साता यो बढेर २० करोड पुग्यो।
भदौ अन्तिम साता २४ करोड पुगेको दैनिक सापटी तीन दिन अघिसम्म पनि यथावत थियो। तीन दिनअघि राष्ट्र बैंकले निक्षेप घटेको सूचना बैंकहरुलाई दिएसँगै अन्तर बैंक सापटीको रकम र कारोबार संख्या बढेको हो।
अर्थ मन्त्रालयका अनुसार राजस्वमात्र उठेको तर खर्च नभएका कारण सरकार अहिले २५ अर्ब रुपैयाँ बचतमा छ। राष्ट्र बैंक स्रोतका अनुसार रेमिटेन्स वृद्धि कम र आयात वढेसँगै अहिले देशको शोधनान्तर बचत केही घटेको छ।
गत वर्ष शोधनान्तर बचत १ सय २७ अर्ब ७० करोड रुपैयाँ थियो। गत वर्षको साउनमा बचत ८ अर्ब १० करोड रुपैयाँ थियो। यसपटकको साउन शोधनान्तर बचतको वृद्धि दर ४७.५३ प्रतिशतले घटेर ३ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ।
'अमेरिकी डलरको मूल्य घट्न थालेका कारण डलर खाताको मूल्यांकन कम भएको छ,' कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नागरिकसँग भने, 'त्यही भएर निक्षेप घटेको देखिएको हो।'
बैंकले बैंकलाई दिने सापटी कारोबार वाहेक बैंक-वित्तीय संस्थाबीचको सापटी रकम पनि बढेको छ। १८ प्रतिशतको ब्याज दरमा यि संस्थाबीच ५६ करोड रुपैयाँसम्म कारोबार भएको छ। यसअघि यि संस्थाबीचको कारोबार १०/१२ करोड रुपैयाँ बराबरको मात्र हुने गरेको थियो।
Deposit and Lending of the Commercial Banks ( Rs. in Billions)



    Date Deposit Lending
15/07/2009 555 384
17/10/2009 577 417
14/01/2010 587 464
16/04/2010 582 469
16/07/2010 617 465
22/10/2010 623 485
14/01/2011 626 504
15/04/2011 649 518
15/07/2011 673 521
14/10/2011 717 530
13/01/2012 754 555
13/04/2012 790 586
15/07/2012 862 618
20/07/2012 864 615
27/07/2012 866 616
03/08/2012 866 616
10/08/2012 868 619
17/08/2012 866 620
24/08/2012 862 621
31/08/2012 863 624
07/09/2012 864 626
14/09/2012 864 629
21/09/2012 862 633
28/09/2012 861 636

Deposits Loans
Growth -1 18
 

No comments:

Post a Comment

thanks for comment