वाणिज्य बैंक बन्न चार वित्तीय संस्थाबीच मर्जर सम्झौता

सुदर्शन सापकोटा
काठमाडौं, फागुन १६
वाणिज्य बैंक बन्नका लागि चार वित्तीय संस्थाले आपसमा गाभिन बुधबार औपचारिक सम्झौता गरेका छन्। मनकामना डेभलपमेन्ट बैंकको नेतृत्वमा दुई विकास बैंक र दुई फाइनान्स कम्पनीले गाभिनका लागि औपचारिक सम्झौता गरेका हुन्।
मनकामनासहित इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, यति फाइनान्स र भ्याली फाइनान्सले मर्जरका लागि सम्झौता गरेका हुन्। क्षेत्रीयस्तरको इन्फ्रास्ट्रक्चर यसअघि स्वस्तिक फाइनान्स कम्पनीसँग गाभिएर राष्ट्रिस्तरको विकास बैंक बनेको हो। मर्जरपछि नयाँ बैंकको नाम एपेक्स डेभलपमेन्ट  रहने छ।
'वाणिज्य बैंकमा स्तरोन्नति हुने लक्ष्यसहित मर्जर सम्झौता गरेका छौं,' मनकामनाका प्रमुख कार्यकारी अधिकृत भूषण राणाले बुधबार नागरिकसँग भने, ''केसम्म चाँडो मर्जर प्रकृया सकाएर स्तरोन्नतितर्फ लाग्छौं।'
चार वटै वित्तीय संस्थाले बिहीबार दिउँसो गाभिनका लागि राष्ट्र बैंकसँग सैद्धान्तिक स्वीकृतिका लागि आवेदन दिने छन्। बिहीबार विहान नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार रोका गर्न आवेदन दिने छन्। सेयर  कारोबार रोका राखेपछि मात्र सैद्धान्तिक स्वीकृतिका लागि आवेदन दिन पाइने व्यवस्था छ।
चार वटै वित्तीय संस्था बराबरी हैसियतमा मर्जर हुने तयारीमा छन्। तर, सबै कम्पनीको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डिडिए) ले वित्तीय अवस्थामा ठूलो फरक देखाएमा भने डिडिएअनुसार मर्जर हुने सम्झौता भएको छ। सम्झौतापछि नयाँ बैंकको शाखा सञ्जाल ३८ पुग्ने छ।
नयाँ बैंकमा मनकामनाबाट तीन, इन्फ्रास्ट्रक्चरबाट तीन, यतिबाट दुई र भ्यालीबाट दुई जनाका दरले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने छन्। नयाँ बैंकमा प्रमुख कार्यकारी अधिकृत मनकामनाका राणा नै हुने छन्। कर्मचारीको मिलान पनि समानुपातिक रुपमा गरिने सम्झौता भएको छ। चार वटै संस्थामा गरेर कर्मचारीको संख्या तीन सय नाघ्ने छ।
सबैको बराबरी हैसियतमा मर्ज भए नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड पुग्ने छ। वाणिज्य बैंकमा स्तरोन्नति हुनका लागि २ अर्ब पुँजी आवश्यक पर्छ। मनकामनाले वाणिज्य बैंक बन्नका लागि नै पुँजी बढाएर १ अर्ब पुर्‍याएको हो।
राष्ट्र बैंकले मनकामनालाई सकेसम्म धेरै संस्था मर्ज भइ सबै मापदण्ड पुरा गरेमा वाणिज्य बैंकमा स्तरोन्नति गरिदिने आश्वासन दिएको छ। राष्ट्र बैंकको आश्वासनकै कारणले एक वर्षदेखि मनकामनाले मर्जरका लागि  एक दर्जनभन्दा वढी संस्थासँग कुराकानी गरेको थियो। मनकामनाले मर्जरका लागि सदस्य संस्थाहरुसँग कुरा गर्न  चार्टर्ड एकाउन्टेन्ड भानु कँडेललाई परामर्शदाता नियुक्त गरेको थियो।
मर्जर सम्झौता गरेका चार संस्थामध्ये कम पुँजी भ्याली फाइनान्सको छ। भ्यालीको पुँजी जम्मा १४ करोड रुपैयाँ छ। यि संस्थामध्ये पुसमा इन्फ्रास्ट्रक्चरबाहेक सवै नाफामा सञ्चालित छन्। इन्फ्रास्ट्रक्चर पुसमा १ करोड ७० लाख घाटामा गएको छ। भ्यालीले तीन लाख नाफा कमाएको छ।
चार वित्तीय संस्थामध्ये सबैभन्दा वढी प्रति सेयर आम्दानी यति फाइनान्सको ६.५४ रुपैयाँ छ। वढी खराव कर्जा इन्फ्रास्ट्रक्चरको ७.९९ प्रतिशत छ। नेप्सेमा सबैभन्दा वढी सेयर मूल्य यति फाइनान्सको छ। यतिको प्रति कित्ता १४२ रुपैयाँका दरले कारोबार भएको छ। वाँकी कम्पनीको सेयर मूल्य अंकित मूल्य एक सयभन्दा कम छ। भ्यालीको ९३ रुपैयाँ, मनकामनाको ७७ रुपैयाँ र इन्फ्रास्ट्रक्चर ७८ रुपैयाँका दरले सेयर कारोबार भएको छ।
चार वित्तीय संस्थामध्ये गत वर्षको नाफाबाट यति फाइनान्सले मात्र सेयरधनीलाई लाभांस दिएको थियो। फाइनान्सले १०.५३ प्रतिशत नगद लाभांस दिएको थियो।



No comments:

Post a Comment

thanks for comment