बैंकहरुले ऋण लगानी रोके


सुदर्शन सापकोटा
काठमाडौं, चैत १
लगानी योग्य पुँजी (तरलता) अभावका कारण बैंकहरुले ऋण विस्तार रोकेका छन्। सरकारी खर्च नभएर तरलता अभाव भएपछि अधिकांस बैंकहरुले ऋण विस्तार रोकेका हुन्। 
डेढ महिनाअघिसम्म निक्षेप वृद्धिको अनुपातमा ऋण अधिक विस्तार गरेपछि बैंकहरु तरलता संकटमा परेका छन्। यसले गर्दा राष्ट्र बैंकले तोकेको सीमा छेउछाउ कर्जा–निक्षेप अनुपात  पुगेपछि  तत्काललाई थप लगानी रोकेका हुन्। 
'डेढ महिनाअिघसम्म बिना कुनै योजना ऋण विस्तार गरेर कर्जा–निक्षेप अनुपात वढेका कारण अहिले बैंकहरुले थप लगानी गर्न नसकेका हुन्,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बिहीबार नागरिकसँग भने, 'निक्षेप नवढाइ थप लगानी गर्ने अवस्थामा बैंक छैनन्।'
राष्ट्र बैंकको व्यवस्था अनुसार एक सय रुपैयाँ निक्षेप संकलन भए ८० रुपैयाँ मात्र ऋण लगानी गर्न पाइन्छ। ७२/७३ को कर्जा–निक्षेप अनुपात भएका बैंकहरुको अहिले बढेर ७८/७९ मा पुगिसकेको छ। विकास  खर्च नभएर बैंकहरुको निक्षेप नवढेका कारण अनुपात वृद्धि भएको हो। 
कर्जा–निक्षेप अनुपात तोकिएको सीमा छेउछाउ मात्र भएका बेला कसैले ठूलो निक्षेप झिकिदिए यो ८० प्रतिशतभन्दा माथि पुग्ने अवस्था छ। यही कारण बैंकहरुले लगानी विस्तार गर्न नसकेका हुन्। कतिपय बैंकहरुले दिन्छु भनेर कवोल गरेको ओभरड्राफ्ट कर्जा नदिइ ग्राहक फर्कानउ थालिसकेका छन्। 
'कर्जा र निक्षेपको वृद्धि दरबीच फराकिलो अन्तर भएकाले लगानी गर्न बैंकहरुलाई अप्ठेरो परेको हो,' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले भने, 'चुनावका कारणले औपचारिक प्रणालीभित्र नभएको पैसा बैंकिङमा छिरेर तरलता सहज हुने अवस्था छ।' उनले बजारमा पैसा आउने अवस्थाको श्रृजना भइसकेकाले बैंक लगानी वढ्ने जानकारी दिए। 

तरलता अभावका कारण बैंकबीच हुने आपसी कारोबारसमेत वढ्न थालेको छ। सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकमध्ये अधिकांसले सापटी माग गरिरहेका छन्। आधा दर्जन बैंक मात्र सापटी दिने अवस्थामा छन्। लामो समय १ प्रतिशतमा चलेको अन्तर बैंक सापटी अहिले ५ प्रतिशत पुगेको छ।
सरकारले कार्यक्रमसहितको पूर्ण बजेट ल्याउन नसकेर विकास निर्माणमा खर्च गर्न सकेको छैन। विदेशमा काम गर्ने नेपालीले ठाउने पैसा रेमिट्यान्सको वृद्धि दरसमेत घटेको छ। शोधनान्तर बचतसमेत उल्लेख घटेका कारण बैंकहरुमा तरलता अभाव भएको हो।
राष्ट्र बैंकका अनुसार, अघिल्लो वर्ष ३७.१ प्रतिशतले वढेको रेमटि्यान्सको वृद्धि दर घटेर २१.८ प्रतिशतमा आएको छ। यसपाली देश वाहिर जानेभन्दा भित्रिने रकम (शोधनान्तर) ६ अर्ब ७ करोडले बचतमा छ। अघिल्लो वर्ष यस्तो बचत ६६ अर्ब ७२ करोड रुपैयाँ थियो। 
'निक्षेप वृद्धि नगरुन्जेल बैंकहरुलाई लगानी गर्न समस्या छ,' सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत राजु नेपालले भने, 'निक्षेप वृद्धिसँगै बैंकहरुको लगानी विस्तार हुने छ।' उनले बैंकहरुको खराव कर्जा अनुपात वृद्धि हुँदै गएका कारण यसलाई कम देखाउन पनि लगानी गर्नु पर्ने अवस्था भभएको जानकारी दिए।
बैंकहरुले केही अघिसम्म ऋण लगानी वढाएपनि ठूला परियोजना र उद्योगमा भने दिएका थिएनन्। राजनीतिक अन्यौंलले आकर्षक परियोजनाहरु नआएको र गहिरिँदो संक्रमणले ऋण जोखिममा पर्ने भन्दै बैंकले लगानी गरेका छैनन्। उनीहरुले जोखिम कम भएका साना–साना क्षेत्रमा लगानी गरिरहेका थिए। 
'राजनीतिक कारणले कुनै क्षेत्र पनि अगाडि वढ्न सकेको छैन। त्यही भएर ठूलो ऋण दिने अवस्थामा हामी छैनौं,' बैंकर्स संघका उपाध्यक्ष तथा ग्रान्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने, 'राम्रो परियोजना लिएर निजी क्षेत्रबाट कोही आएको पनि छैन।' 
राष्ट्र बैंकका अनुसार, जेठदेखि फागुनसम्म सुन, घरगाडी किन्नका लागि खुद्रा कर्जा लगानी वृद्धि भएको छ । वाणिज्य बैंकहरुले अहिलेसम्म ९ सय ९ अर्ब निक्षेप संकलन गरेका छन्। बैंकहरुले अहिलेसम्म ७ सय ३ अर्ब ऋण लगानी गरेका छन्। 

No comments:

Post a Comment

thanks for comment