अविश्वासले सहकारीको बचत घट्यो, २५ अर्ब निक्षेप घट्यो, ऋण भने १० अर्बले वृद्धि

काठमाडौं, फागुन १६
सर्वसाधारणले मागेको बेला पैसा फिर्ता पाउन छाडेको र कतिपय भागेका कारण बचत तथा ऋण सहकारीहरुको निक्षेप घटेको छ। ६ महिनाको अवधिमा सहकारी क्षेत्रबाट २५ अर्बभन्दा वढी निक्षेप वाहिरिएको छ।
सहकारी विभागका अनुसार, पुस मसान्तसम्म सहकारीहरुसँग जम्मा १ खर्ब १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप वाँकी छ। ६ महिनाअघि यो १ खर्ब ४० अर्ब रुपैयाँ थियो। यो निक्षेप सञ्चालनमा रहेका ११ हजार ९ सय १ सहकारीहरुको हो।
सहकारीहरुको ऋण लगानी भने वढेको छ। पुससम्म ऋण लगानी ८७ अर्ब ४ करोड रुपैयाँ छ। यसअघि सहकारीहरुले ७७ अर्ब ऋण लगानी गरेका थिए।
घरजग्गाको ऋण तिर्न नसकेर कर्जा सुचना केन्द्रको कालोसुचीमा पर्न थालेपछि व्यवसायीहरुले सहकारीबाट पैसा लिँदै बैंक तथा वित्तीय संस्थालाई तिर्न थालेका कारण पनि सहकारीको ऋण रकम वढेको हो। 'सहकारीको पैसा प्रयोग गरेर व्यवसायी तत्काललाई कालोसुचीबाट जोगिएका छन्,' स्रोतले भन्यो, 'यसले गर्दा सहकारीको ऋण वढेर बैंकहरुको भुक्तानी हुने गरेको हो।' तर, सहकारीमा पैसा जम्मा गर्ने सर्वसाधारणको भने विचल्ली हुन थालेको  छ।
देशभरका सहकारीमा सर्वसाधारणको कुल निक्षेपमध्ये ५० प्रतिशत रकम घरजग्गा तथा सेयर व्यवसायीहरुले चलाएको अनुमान छ। बचत तथा ऋण सहकारी संस्थाहरुका निक्षेकर्ताहरुको पैसा जोखिममा पर्ने देखिएपछि उनीहरुको कारोबारलाई अनुगमन गर्न राष्ट्र बैंकले प्राविधिक सहयोग समेत गर्न थालेको छ।
राष्ट्र बैंकले ऋण नतिर्नेलाई कालोसुचीमा सिफारिस गर्न कडाइ गरेसँगै सहकारीबाट लिएर बैंक तथा वित्तीय संस्थाको तिर्ने क्रम वढेको हो। केन्द्रीय बैंकको कडाइअघि बैंक तथा वित्तीय संस्थाहरुले कालोसुचीका लागि हत्तपत्त ऋणीको नाम सिफारिस गर्दैन थिए।
व्यवसायीले सहकारीबाट पैसा लिएर बैंकहरुको भुक्तानी गर्न थालेपछि घरजग्गा ऋणमा फसेका बैंकहरुले पुसमा ५० प्रतिशतले नाफा वढाएका छन्। असोजमा पनि ४१ प्रतिशतले नाफा वढेको थियो।
विभागका अनुसार, पछिल्लो ६ महिनामा ११ वटा सहकारी सर्वसाधार पैसा फिर्ता नगरी भागेका छन्। विभागबाट स्विकृति लिएर सञ्चालनमा आएका ठूला सहकारीहरुले पैसा फिर्ता गर्न छाडेका छन्।
पछिल्लो समय ठूला घरजग्गा कारोबारी आवद्ध भएका सहकारीहरु समस्याम पर्न थालेका छन्। चार अर्ब निक्षेप संकलन गरेको ओरियन्टल सहकारी, गुण सहकारी, एग्जिम, पाटनलगायका एक दर्जनभन्दा वढी सहकारी अहिले समस्यामा परेका छन्।
सहकारीहरुले सर्वसाधारणको पैसा फिर्ता गर्न छाडेको समाचारहरु सार्वजनिक हुन थालेपछि निक्षेपकर्ताले आफ्नो बचत झिक्न थालेका हुन्।
घरजग्गा व्यवसाय वढोत्तरी हुन थालेपछि एकाएक मौलाएको सहकारीमा सर्वसाधारणले आकर्षक व्याजको लोभमा पैसा जम्मा गरेका थिए। घरजग्गा कारोबारमा मन्दी छाएर सहकारीका विक्रृतिहरु सार्वजनिक हुन थालेपछि साना–ठूला सबै सहकारीबाट सर्वसाधारणले आफ्नो बचत झिक्न थालेका हुन्।
सहकारीबाट झिकिएको रकममध्ये केही बैंकिङ प्रणालीमा आएको छ। केही रकम भने निक्षेपकर्ताले  आफैसँग राखेको वा अन्यत्र प्रयोग गरेको अनुमान गरिएको छ।
'अधिकांस सहकारीमा आफ्नै नातागोता र परिवारका सदस्यहरु हुने गरेका छन्,' स्रोतले भन्यो, 'घरघरमा गएर पैसा उठाउने सुविधा भएका कारण सर्वसाधारणले सजिलै यस्तोमा पैसा राख्ने गरेका थिए।' उनका अनुसार, पछिल्लो समय सहकारीमा पैसा राख्ने क्रमसमेत घटेको छ। 
स्रोतका अनुसार, पहिले नाम कमाएका सहकारीहरुले मागेका बेला घरैमा गएर ऋण दिने गरेका कारण सर्वसाधारणहरु आकर्षित भएका थिए। 'अहिले सञ्चालकहरु घरजग्गाले गर्दा समस्यामा पर्न थाले। त्यहाँबाट उम्किन सर्वसाधारणको पैसा व्यक्तिगत प्रयोगमा लगाउन थाले,' स्रोतले भन्यो, 'अहिले सर्वसाधारणले आफ्नो पैसा झिक्न जाँदा कतिपय सहकारीबाट अर्को तारिख पाउने गरेका छन्।'
घरजग्गा व्यवसायी र कतिपय साना वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारीहरु सहकारीमा आवद्ध हुने गरेका छन्। स्रोतका अनुसार, दुवैतिरको …नेटवर्क' का कारण विगतमा व्यक्तिगत लगानी वढाएका उनीहरु बैंकले च्याप्न थालेपछि सर्वसाधारणको निक्षेपलाई आफ्नो ऋण तिर्न प्रयोग गर्न थालेका छन्।
'घरजग्गा कारोबार नभएका बेला बैंकको ऋण मात्र कसरी भुक्तानी हुन्छ?' स्रोत भन्यो, 'अहिले सहकारीको स्रोत प्रयोग गरेर उताको प्वाल टाल्ने काम भइरहेको छ।' उनका अनुसार, दैनिक मजदुरी गरेर सर्वसाधारणले जम्मा गरेको निक्षेप दुरुपयोग हुँदा ठूलो संख्या सडकमा आउने अवस्था छ।

No comments:

Post a Comment

thanks for comment