बैंकिङ क्षेत्रको लगानी १०८ अर्बले वढ्यो


काठमाडौं, फागुन २८
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा लगानी ११.२ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष ६.५ प्रतिशत अर्थात ५५ अर्ब २५ करोड रुपैयाँले बढेको ऋण लगानी यसपाली ११.२ प्रतिशत (१०८ अर्ब १७ करोड) ले वढेको हो।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको १०.७ प्रतिशत, विकास बैंकको ७.२ प्रतिशत र फाइनान्स कम्पनीहरुको ५.८ प्रतिशतले कर्जा लगानी बढेको छ। गत वर्ष वाणिज्य र विकास बैंकको लगानीमा वृद्धि भएन पनि फाइनान्स कम्पनीको ०.४ प्रतिशतले घटेको थियो। 
अहिले ३२ वाणिज्य बैंक, ९० विकास बैंक र ६७ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा छन्। पछिल्लो समय मर्जरतिर वित्तीय संस्थाहरु आकर्षित भएका कारण फाइनान्स कम्पनीको संख्या घटेर विकास बैंकहरु वढ्दै गएका छन्। 
बैंक तथा वित्तीय संस्थाहरुले पुससम्म निजी क्षेत्रमा १२.३ प्रतिशत वढीले कर्जा लगानी गरेका छन्। एक वर्षको अवधिमा यो क्षेत्रमा ९५ अर्ब ७८ करोडले लगानी वढेको छ। अघिल्लो वर्ष जम्मा ३१ अर्ब ९४ करोड मात्र लगानी वृद्धि भएको थियो। तरलता अभावका कारण बैंकहरुले लगानी गर्न सकेका थिएनन्। तरलता सहज भएर व्याज दर घट्न थालेपछि यसपाली निजी क्षेत्रमा बैंक लगानी वृद्धि भएको हो।
निजी क्षेत्रमा वाणिज्य बैंकहरुको १२.१ प्रतिशतले लगानी वृद्धि भएको छ। विकास बैंकहरुको १२.४ प्रतिशत र वित्त कम्पनीहरुको १३.८ प्रतिशतले बढेको छ। गत वर्षको पुससम्म वाणिज्य बैंकहरुको कर्जा ६.५ प्रतिशत र विकास बैंकहरुको १.७ प्रतिशतले बढेको थियो। तर फाइनान्स कम्पनीहरुको भने ४.२ प्रतिशतले घटेको थियो।   

बैंक तथा वित्तीय संस्थाले यसपाली कृषि, उर्जा लगायत उत्पादनशील क्षेत्रमा लगानी बिस्तार गरेका छन्। राष्ट्र बैंकले अर्थतन्त्रको दिगो विकासको लागि उत्पादन, रोजगारी र आय आर्जन अभिवृद्धि गर्ने भन्दै कृषि, उर्जा र उत्पादनशिल क्षेत्रमा लगानी वढाउन नीतिगत व्यवस्थाहरु गरेकाले पनि यस क्षेत्रमा कर्जा विस्तार भएको हो। 
कृषि क्षेत्रमा गत वर्षको पुसमा २१ प्रतिशतले ऋण लगानी वढेकोमा यसपाली २८.८ प्रतिशत पुगेको छ। यो ८ अर्ब २९ करोडको वृद्धि हो। १२ प्रतिशतले बढेको उत्पादन क्षेत्रतर्फको कर्जा यसपाली १३.९ प्रतिशत अर्थात २१ अर्ब ७८ करोडले वृद्धि भएको छ। निर्माणतर्फ ६.४ प्रतिशतले कर्जा विस्तार भएको छ। एक  वर्षमा निर्माण कर्जा ५ अर्ब २९ करोडले थपिएको हो। 
बैंक तथा वित्तीय सस्थाहरुले कुल लगानीको ४.२ प्रतिशत कृषिमा ऋण दिएका छन्। २०.१ प्रतिशत उत्पादन क्षेत्र र ९.९ प्रतिशत निर्माण क्षेत्रमा लगानी वढाएका हुन्। २०.७ प्रतिशत थोक तथा खुद्रा व्यापारतर्फ, ९.४ प्रतिशत वित्त, बीमा तथा स्थिर सम्पत्तितर्फ र ७.६ प्रतिशत सेवा क्षेत्रतर्फ कर्जा वृद्धि भएको छ। 
पछिल्लो समय निक्षेप वृद्धिको तुलनामा कर्जा व्यापक वृद्धि भएकाले कर्जा–निक्षेप अनुपातसमेत वढेको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुात  ७४.९ प्रतिशत पुगेको छ। अघिल्लो पुससम्म यस्तो अनुपात जम्मा ६८.५ प्रतिशत थियो। राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको छ। 
पुससम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५४ अर्ब १२ करोडले वढेको छ। यो ५.३ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्ष भने १०.४ प्रतिशत अर्थात ८५ अर्ब ६८ करोडले निक्षेप वढेको थियो। विदेशमा काम गर्ने नेपालीले पठाएको पैसा रेमिट्यान्स वृद्धिदरमा कमी आउनुको साथै सरकारी खर्चमा ह्रास अएर निक्षेप वृद्धि दर घटेको हो। 
वाणिज्य बैंकहरुको निक्षेप वृद्धि दर ४.६ प्रतिशतले वढेको छ। विकास बैंकहरुको ७.४ प्रतिशत र वित्त कम्पनीहरुको ५.८ प्रतिशतले निक्षेप बढेको छ। 

No comments:

Post a Comment

thanks for comment