मंहगो ब्याजले लघुवित्त संस्था निक्षेप संकलन गर्न गएनन्


सुदर्शन सापकोटा
काठमाडौं मंसिर २८
निक्षेप संकलन गर्न स्वीकृति पाएपनि अहिलेसम्म कुनै लघुवित्त कम्पनीले निक्षेप उठाउन सकेका छैनन् । सस्तोमा कर्जा लिएर विपन्न वर्गमा लगानी गर्दै आएका बैंकहरुले बैंक तथा वित्तीय कम्पनीले भन्दा वढी ब्याज दिनु पर्ने भएकाले निक्षेप संकलन गर्न नसकेका हुन् ।

'अहिले ८/१० प्रतिशत ब्याजमा ऋण लिएर लगानी गरिरहेका छौं,' निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत हरिहरदेव पन्तले मंगलबार नागरिकसँग भने, 'बैंकहरुले १२ प्रतिशतसम्म निक्षेपमा ब्याज दिइरहेका छन् उनीहरुसँग प्रतिस्पर्धा गरेर त्योभन्दा वढी दिनु पर्ने हुन्छ । यसले लघुवित्त बैंकहरुको लागत वढाउने भएकाले निक्षेप संकलन गर्न उत्साहित नभएका हौं ।'
लघुवित्त कम्पनीहरुले पनि निक्षेप संकलन गर्न पाउनु पर्ने माग पटक पटक राख्दै आएपछि राष्ट्र बैंकले गत चैतमा उनीहरुलाई यो अधिकार दिएको थियो । तर अहिलेसम्म कुनै पनि कम्पनी निक्षेप संकलन गर्नका लागि स्वीकृति लिन गएका छैनन् ।
'उनीहरुकै माग अनुसार निक्षेप संकलन गर्न पाउने नीति बनाएका हौं,' राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्लेले नागरिकसँग भने, 'तर कोही पनि स्वीकृति लिन भने आएका छैनन् ।' केन्द्रीय बैंकले तीन बर्षदेखि खुद नाफा कमाएको कम्पनीले चुक्ता पुँजीको ५ गुणासम्म निक्षेप संकलन गर्न पाउने व्यवस्था गरेको छ ।


'कर्जा मात्रै लगानी गर्दा एकदिन त्यसको स्रोत बन्द हुने भएकाले निक्षेप संकलन गर्न पाउने माग गरिएको हो,' पन्तले भने 'निक्षेप संकलन गर्न थालेपछि राष्ट्र बैंकका केही निष्चित व्यवस्था मान्नु पर्ने भएकाले कठिन भएको छ ।' उनले कम्पनी आत्मनिर्भर हुनका लागि पनि निक्षेप संकलन गर्न आवश्यक भएको भन्दै यसका लागि तयारी थालिएको जानकारी दिए ।
खुद्रा बैंकिङ कारोवार गर्नका लागि सम्वन्धित संस्थाले आफ्नो प्रबन्धपत्र र नियमावलीमा सर्वसाधारणबाट निक्षेप परिचालन गर्नसक्ने व्यवस्था गरेर केन्द्रीय बैंकले तोकेको न्युनतम पुँजीकोष पुरा गरेको हुनु पर्नेछ । साथै पूर्व साचालन खर्च पनि पूर्ण रुपमा अपलेखन भएको हुनु पर्ने सर्त केन्द्रिय बैंकको छ ।
निक्षेप संकलन गर्न पाउने व्यवस्थासहित अहिलेसम्म निर्धन उत्थान र छिमेक विकास बैंकले मात्र आफ्नो प्रबन्धपत्र र नियमावलीमा संशोधन गरेका छन् । 'निक्षेप संकलनका लागि चाँडै औपचारिक अनुमति माग्दैछौं,' छिमेक विकास बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले नागरिकसँग भने, 'अनौपचारिक जानकारी गराइसकेका छौं ।'
निक्षेप परिचालन गर्न लघुवित्त संस्थाको बचत कर्जा र कोष परिचालन नीति तयार गरेर पछिल्लो त्रैमासको विवरणमा निस्कृय कर्जा ५ प्रतिशतभन्दा तल हुन पर्छ । साथै कुल समुह सख्या कम्तिमा ५ सय वा २५ सय सदस्यसँग कर्जाको कारोवार गरिरहेको हुनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । अहिले ३० लघुवित्त संस्था साचालनमा छन् ।
'निक्षेप परिचालनका लागि अन्य निकायबाट प्राप्त गरेको ऋण शत प्रतिशत नै आफ्ना ग्राहकमा लगानी गरेको हुनु पर्ने राष्ट्र बैंकको नीतिले अलिकति गाह्रो पारेको छ,' एक लघुवित्त कम्पनीका प्रमुख कार्यकारीले भने , 'सबै हिसाबले योग्य हुँदा हुँदै पनि यो व्यवस्थाले निक्षेप संकलन स्वीकृति लिन हामी जान नसकेका हौं ।'
लघुवित्त कम्पनीलाई निक्षेप संकलन गरेपछि कर्मचारी खर्च अनिवार्य नगद अनुपात र तरलता अनुपातमा बृद्धि गर्नु पर्ने कारणले पनि यसमा जान नसकेका हुन् । संस्थाले कुल निक्षेप दायित्वको २ प्रतिशत अनिवार्य मौज्दात वापत राष्ट्र बैंकमा जम्मा गर्नु पर्ने हुन्छ ।

No comments:

Post a Comment

thanks for comment