चर्का ब्याजले सेयर बजार घटायो


नेप्से ४ सयबाट ओरालो लाग्यो 
-ब्याजमा वृद्धिले सेयरभन्दा बैंकमा राख्दा फाइदा
-कर्जामा कडाइले लगानीकर्ता सस्तोमा बेच्न बाध्य
-बजारमा सेयर आपूर्ति ह्वात्तै बढ्यो
-राजनीतिक अस्थिरताको असर


सुदर्शन सापकोटा
काठमाडौं मंसिर २३

लामो समयसम्म ४ सय अंक वरिपरी रहेको सेयर बजार परिसूचक नेप्से बिहीबार ३९८.८८ अंकमा झरेको छ । यो ५० महिनायताकै न्यून हो ।
लगानीकर्ता तथा विश्लेषकहरुका अनुसार राजनीतिक अस्थिरता बढ्दो ब्याजदर सेयर धितो कर्जामा कडाइ र सेयरको अधिक आपूर्तिले बजार घटेको हो ।

बिहीबारको कारोबारबाट बिमाबाहेक सबै समूहका परिसूचक घटेका छन् । नेपाल टेलिकम सूचीकृत अन्य समूह सबैभन्दा बढी ४.७ प्रतिशत घट्दा नेप्से ४ सयबाट ओरालो लागेको हो ।
गएको एक वर्षमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज दर ६ प्रतिशत बिन्दुसम्मले बढाएका छन् । निक्षेपको ब्याजमा भएको वृद्धिले लगानीकर्ताले सेयर बजारमा लगानी गर्ने जोखिम नउठाई बैंकमा पैसा जम्मा गर्न थालेका छन् । 'निक्षेपको ब्याजमा भएको वृद्धिले सेयरमा भन्दा बैंकमा पैसा जम्मा गरेर बढी आम्दानी हुन थालेको छ,' साधारण लगानीकर्ता संघका अध्यक्ष दीपक कार्कीले नागरिकसँग भने ।

पछिल्लो समयमा वाणिज्य बैंकहरुले १२ प्रतिशतसम्म र वित्त कम्पनीहरुले १५ प्रतिशतसम्म निक्षेपमा ब्याज दिन थालेका छन् ।
लगानीकर्ताका अनुसार कर्जाको ब्याजमा भएको वृद्धिले बैंकबाट पैसा झिकेर सेयरमा लगानी गर्दा नोक्सान हुन्छ । '१८ प्रतिशत ब्याज तिरेर लिएको पैसाबाट नाफा कमाउन सेयरबाट कम्तिमा ५० प्रतिशत नाफा हुनुपर्छ,' लगानीकर्ता राकेश अडुकियाले नागरिकसँग भने, 'बजार डेढ वर्षदेखि निरन्तर ओरालो लागेकाले लगानीबाट प्रतिफल आउने अवस्था छैन बजारमा लगानी बढ्न नसकेका कारण मूल्य घटिरहेको छ ।' पछिल्लो समयमा बजारमा नयाँ सेयरको आपूर्ति बढेकाले पनि मूल्य ओरालो लागेको हो । 'पछिल्लो समय सेयरको आपूर्ति बढिरहेको छ तर त्यसको अनुपातमा माग नबढेकाले बजार ओरालो लागेको हो,' सेयर बजार विश्लेषक कम्पनी बिड इन्भेस्टमेन्टकी अनुसन्धान प्रमुख अदिति श्रेष्ठले भनिन् ।
आर्थिक वर्ष २०६४/६५ सम्म सेयर बजारमा ३२ करोड ११ लाख कित्ता सेयर सूचीकृत थिए । २०६५/६६ मा यो संख्या ९८.६३ प्रतिशतले बढेर ६३ करोड ७८ लाख पुग्यो । गत वर्ष २८.८३ प्रतिशतले बढेर बजारमा सूचीकृत सेयर ८२ करोड १७ लाख कित्ता पुग्यो । यो क्रम अझै जारी छ । पछिल्लो तीन महिनामै थप ३ करोड ९५ लाख कित्ता सेयर बजारमा आइसकेको छ ।
केन्द्रीय बैंकले केही समयअघि सेयर धितो कर्जामा कडाइ गरेपछि पनि बजार ओरालो लाग्न थालेको हो । लगानीकर्ताका अनुसार केन्द्रीय बैंकको कडाइले बैंक तथा वित्तीय संस्थाले कर्जा उठाउन ताकेता गर्न थालेपछि लगानीकर्ताले सस्तोमा सेयर बिक्री गर्नुपरेको छ । 'ऋण तिर्न सस्तोमा सेयर बिक्री गर्नुपरेको छ,' लगानीकर्ता निर्मल प्रधानले भने, 'बैंकको कालो सूचीमा पर्ने डरले धमाधम सस्तोमा सेयर बिक्री हुन थालेपछि बजार ओरालो लागेको हो ।'
केन्द्रीय बैंकले कुल कर्जाको २५ प्रतिशत सावाँ र ब्याज भुक्तानी गरेपछि मात्र एक बर्षका लागि बाँकी ७५ प्रतिशत सेयर कर्जा नवीकरण हुने व्यवस्था गरेको छ ।
लगानीकर्ता तथा विश्लेषकका अनुसार सेयर बजार उकालो लाग्न राजनीतिक स्थिरता र बैंकको ब्याज घट्नुपर्छ । 'देशको स्थिति जस्तो छ त्यस्तै हुने हो भने बजार पनि उकालो लाग्दैन,' प्रधानले भने । उनका अनुसार ठूला लगानीकर्ता कसैले पनि अहिले बजारमा कारोबार गरेका छैनन् । 'नबेची नहुनेले मात्र बिक्री गरेका छन्,' उनले भने । बजार थोरै अंकले घट्ने र थोरै रकमको मात्र कारोबार हुने गरेको छ ।
अडुकियाले बैंकले ब्याज दर घटाए बजार उकालो लाग्ने बताए । 'राजनीतिक अवस्था नराम्रो भएका बेला पनि बजार बढेको थियो,' उनले भने, 'अहिले राजनीतिक कारणले बजार घटेको होइन ब्याज चर्को भएकाले हो । ब्याज घटेमा बजार उकालो लाग्छ ।'
बिहीबार एक हजार पाँच सय ४५ कारोबारमा २ करोड १० लाख रुपैयाँ बराबरका ८३ हजार ८ सय ९९ कित्ता सेयर किनबेच भएका छन् । बजार पुँजीकरण ३ खर्ब ४१ अर्ब रुपैयाँ कायम भएको छ । बुधबारको भन्दा यो २ अर्ब रुपैयाँ कम हो । बजार उचाइमा पुगेको बेला यो ६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो ।


No comments:

Post a Comment

thanks for comment