सडक निर्माण सकिन लाग्दा रोजगारीको चिन्ता

सुदर्शन सापकोटा
भूमिराज (बैतडी), मंसिर २२ - 
वैतडीको भूमिराज-श्रीभावर सडक खण्ड निर्माण पूरा हुनै लाग्दा स्थानीय विष्णा धानुक यतिबेला चिन्तित छिन्। अढाइ वर्षदेखि सडक खनेरै गुजारा गर्दै आएकी उनी काम सकिन लागेकोमा चिन्तामा परेकी हुन्।

एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले सुरु गरेको यो सडकको निर्माण आगामी वर्ष सकिँदैछ। सडक निर्माण सम्पन्न हुने दिन छोटिँदै गएपछि उनीसँगै जिल्लाका ५ गाविस बासिन्दा चिन्तित भएका हुन्।
'काम सँधै पाए हुन्थ्यो,' धानुकले नागरिकसँग भनिन्, 'ढुङ्गा बोक्न थालेपछि केटाकेटी स्कुल जान पाएका थिए। यो काम पनि सकिदैछ अब के गर्नु।' उनले सडक खन्न थालेपछि दैनिक अढाइ सय रुपैयाँसम्म कमाउन थालेको जानकारी दिइन्।

निर्माण लक्ष्य २४ किलोमिटर रहेको यो सडकमा १४ सय २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अहिलेसम्म सडक १५ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। बाँकी आगामी वर्षभित्र सकिने स्थानीय विकास अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
सडक निर्माण सुरु हुनअघि यस क्षेत्रका बासिन्दाको प्रमुख आय स्रोत भारतमा मजदुरी थियो। अहिले उनीहरु गाउँमै सडक खनेर जीविकोपार्जन गर्न थालेका छन्। खड्काका अनुसार सडक निर्माण सुरु भएपछि भारत जाने क्रम रोकिएर गाउँका पुरुषहरु मलेसिया कतार जान थालेका छन्।
'सडक खनेर भएको आम्दानीबाट पुरुषहरु खाडी मुलुक तथा मलेसिया गएका छन्,' उनले भने। अहिले सडक खन्ने काममा अधिकांश महिला खटिन थालेका छन्।
'पारी (भारतमा) काम गरेको पैसाले खान पनि राम्ररी पुग्दैन थियो,' धानुकले भनिन्, 'अहिले सडक खन्न थालेपछि खर्च गर्न समस्या परेको छैन, गहना पनि लाउन पाइएको छ।' उनले सडकबाट भएको आम्दानीमध्ये दिनको ४० रुपैयाँ बचत हुने गरेको जानकारी दिइन्।
उनको २२ जनाको परिवारमध्ये १० जना सडक खन्ने काममा खटिएका छन्। एक वर्षअघिसम्म उनका पति पनि यही सडक खन्थे। अहिले उनी मलेसिया पुगेका छन्। उनका दुई छोराछोरी स्कुल जान्छन्।
'सडक निर्माण सुरु भएपछि यहाँको स्थानीयमा धेरै कुरामा परिवर्तन आएको छ,' खड्काले भने, 'पैसासमेत चिन्दैन थिए अब पैसा चिन्ने मात्र होइन कारोबार पनि राम्ररी गर्न सक्छन्।'
वैतडीको ६२ गाविसमध्ये पाँच गाविस छोएको यो सडक निर्माणपछि २४ सय ४६ घरपरिवार प्रत्यक्ष लाभाम्वित हुने छन्। कुनै प्रविधि प्रयोग नगरी मानवीय श्रमबाट निर्माण गरिएको यो सडकमा हरेक दिन ६ सय महिला खटिने गरेका छन्।
सडक निर्माणका लागि ६५ वटा समूह खटिएको खड्काले बताए। उनका अनुसार एउटा समूहमा कम्तिमा २० जनाका दरले सडक निर्माणको काम भइरहेको छ।
कुल लगानी ५१ करोड रुपैयाँभन्दा बढी रहेको यो सडकका लागि एडिबीले करिब ३० करोड रुपैयाँ सहयोग गरेको छ। बाँकी लगानी सरकार, जिल्ला विकास समितिको छ।

No comments:

Post a Comment

thanks for comment