बजेट आएपनि तरलता अभाव कायमै


अन्तर बैंक दर ११ प्रतिशत
सुदशर्न सापकोटा
काठमाडौं मंसिर २९
बैंकिङ क्षेत्रमा निक्षेप वढ्न नसक्दा तरलता अभाव घट्न सकेको छैन । बजेट आएपछि वढ्ने अनुमान गरिएपनि गएको तीन महिनायता वाणिज्य बैंकको निक्षेप वढेको छैन ।

बैंक तथा वित्तीय कम्पनीले आपसमा लिने सापटी अन्तर बैंकदर बुधवार ११ प्रतिशत छ । मंगलबार यो १०।८७ प्रतिशत थियो । 'तरलता अभाव वढ्दै जान थालेको छ,' एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकस्र संघका सदस्य सिद्धान्तराज पाण्डेले नागरिकसँग भने, 'केही समय लम्बिए कर्जा प्रभावित हुन सक्छ ।'
दसैयता १३ प्रतिशतसम्म पुगेको अन्तर बैंक ब्याज दर साढे आठ प्रतिशतभन्दा तल झरेको छैन । दसैअघि अन्तर बैंक दर डेढ प्रतिशतको हाराहारीमा थियो ।
गत असोज अन्तिममा वाणिज्य बैंकसँग ६ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप थियो । मंसिर अन्त्यसम्म आइपुग्दा पनि वाणिज्य बैंकसँग त्यति नै निक्षेप छ । तीन महिनाको अवधिमा निक्षेप बढेर ६ खर्ब २१ अर्बसम्म र घटेर ६ खर्ब १५ अर्बसम्म पुगेको थियो । यो अवधिमा कर्जामा भने बृद्धि भएको छ ।

'पुँजी पर्याप्तता अनुपात सिएआर पर्याप्त भएका कारण निक्षेप नबढे पनि कर्जामा बृद्धि भएको हो,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'अब निक्षेप नवढी थप लगानी गर्न सकिदैन । तरलता अभावको दवाव वढ्दै गएको छ ।' तीन महिनाअघि वाणिज्य बैंकहरुले ४ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । मंसिर अन्तिमसम्म आउँदा कर्जा ४ खर्ब ९२ अर्ब रुपैयाँ पुगिसकेको छ ।
बजेटको रकम खर्च भइनसकेको दसैतिहारमा गएको पैसा फिर्ता नभएका कारणले तरलता अभावमा बल पुगेको हो । 'तत्कालै तरलता अभाव कम होलाजस्तो छैन,' ती बैंकरले भने , 'तर गत बर्षजस्तो भयानक भने हुँदैन ।' गत बर्ष तरलता अभाव हुँदा कुनै पनि बैैंक तथा वित्तीय कम्पनीले आर्थिक बर्षको पछिल्लो छ महिना कर्जा लगानी गर्न सकेका थिएनन् ।
निक्षेप वढ्न नसकेपछ तरलता अभाव हुँदा बैंकहरुले बढाएको पुरानै ब्याजलाई निरन्तरता दिन थालेका छन् भने केहीले बढाएका छन् । उच्च ब्याज दिँदै आएका बैंकले बिचमा तरलता सहज हुन थालेपछि घटाएका थिए । दुई महिनाको अवधिमा करिव ४० अर्ब रुपैयाँले निक्षेपमा बृद्धि भएपछि विज्ञापन गर्न छाडेका बैंक तथा वित्तीय कम्पनीले अहिले धमाधम आकर्षक ब्याज सहितको विज्ञापन छाप्न थालेका छन् ।
हालै मात्र नेपाल बैंक नबिल बैंक माछापुच्छे्र बैंक सिटिजन्स बैंक बैंक अफ एसिया नेपाल प्राइम बैंक लक्ष्मी बैंकलगायतले निक्षेपको ब्याज बढाएका छन् । तर केही बैंकरले भने तरलता अभावका कारण नभइ कर्जा विस्तार गर्न निक्षेपको ब्याज वढाएको बताउँछन् । 'तरलता अभावले व्याज बढाएको होइन,' प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले भने ,'निक्षेप नवढाइ कर्जा विस्तार गर्न नसकिने भएकाले त्यसलाई आकर्षित गर्न ब्याज बढाएका हौ।'
पछिल्लो समयमा विकास बैंक र वित्तीय संस्थाले निक्षेप खोस्न थालेकाले पनि वाणिज्य बैंकहरुको बढ्न नसकेको अनुमान छ । 'अहिले विकास बैंक र फाइनान्स कम्पनीको निक्षेपमा बृद्धि भएको छ,' पाण्डेले भने , 'बाणिज्य बैंकको भन्दा आकर्षक ब्याज भएकाले उता जाने निक्षेप यता आएको हुन सक्छ ।'
गत असार मसान्तसम्म १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको विकास बैंक र वित्तीय संस्थाको निक्षेप अहिले १ अर्ब ७० अर्बको हाराहारीमा पुगेको छ । बाणिज्य बैंकहरुले पछिल्लो समयमा निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । तर विकास बैंक र फाइनान्स कम्पनीले १५ प्रतिशतसम्म दिइरहेका छन् ।

No comments:

Post a Comment

thanks for comment