अर्को सातादेखि कर्जाको ब्याज बढने, घरजग्गा र सवारीमा सबभन्दा बढी

सुदर्शन सापकोटा
काठमाडौं, पुस ८
दुई साताअघि छोटो अवधिको कर्जामा ब्याज बढाएका बैंकहरुले आगामी सातादेखि लामो अवधिको समेत बढाउने भएका छन्। दसैंयता देखिएको तरलता अभावले निक्षेपमा ब्याज बढाएका बैंकहरुले पुँजी लागत बढ्न थालेपछि कर्जामा पनि वृद्धि गर्न लागेका हुन्।

'महँगोमा निक्षेप लिएकाले कर्जाको ब्याज बढाउने दबाब परिसकेको छ,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नागरिकसँग भने, 'केही दिनमा नै ब्याज दर वृद्धि हुन्छ।' बैंकहरुले ट्रस्ट रिसिभ्ड (टिआर) लगायत छोटो अवधिको कर्जाको ब्याज भने बढाइसकेका छन्।
बैंकरका अनुसार कर्जाको ब्याज दर साढे एक देखि २ प्रतिशत विन्दुसम्मले बढ्ने छ। एक वर्षअघिसम्म निक्षेप र कर्जाबीचको फरक (स्प्रेड दर) कम राखेर लगानी गरिरहेका बैंकहरु यति बेला महँगो लागतको कोष प्रयोग गर्न वाध्य भएकाले ब्याज बढाउनु परेको दाबी गर्छन्।

वाणिज्य बैंकहरुका अनुसार अब ब्याज दरमा हुने वृद्धिले सबैभन्दा महँगो कर्जा घरजग्गाको हुनेछ। १५/१६ प्रतिशतको हाराहारीमा रहेको यो कर्जा १८ प्रतिशतसम्म पुग्नेछ। यसपछि सवारी साधन र व्यक्तिगत कर्जाको ब्याज महँगो हुनेछ। यो कर्जा १६/१७ प्रतिशतसम्म पुग्नेछ। अहिले यो १५/१६ को हाराहारीमा छ। विकास बैंक र फाइनान्स कम्पनीको ब्याज दर वाणिज्य बैंकको भन्दा अझ महँगो हुनेछ। वाणिज्य बैंकभन्दा उनीहरुको पुँजी लागत महँगो भएकाले ब्याज पनि बढी परेको हो।
'एक वर्षदेखि १२ प्रतिशतमा निक्षेप लिइरहेका छौं। यो निक्षेपमध्ये २० प्रतिशत तरलता कोष समायोजन गर्दा ८० प्रतिशत मात्र लगानी गर्न पाइन्छ,' पौडेलले भने, 'यसले १२ प्रतिशतमा लिएकोे निक्षेपको लागत सोझै १३ प्रतिशत पुग्छ। सञ्चालनलगायत अन्य खर्च गरेर कर्जाको ब्याज निर्धारण गरिने हुँदा कम स्प्रेडमा दिन सकिन्न।'
महँगो ब्याज तिर्दासमेत निक्षेप बढ्न नसक्दा बैंकहरुले कर्जा निरुत्साहित गर्न यसको ब्याज बढाउनु परेको हो। अहिले सञ्चालनमा रहेका जलविद्युत र सिमेन्ट उद्योगमा बाहेक अन्यबाट कर्जा माग भएको छैन। 'गत वर्षदेखि माग कम हुन थालेको कर्जामा यो वर्ष पनि सञ्चालन भइरहेका जलविद्युत आयोजना र सिमेन्ट कारखानाबाहेक नयाँ र सञ्चालनमा रहेका अन्य कम्पनीबाट माग भएको छैन,' सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले नागरिकसँग भने।
उनले निक्षेप बढ्न नसकेकाले कर्जा लगानी बढाउन नसकिएको जानकारी दिए। बैंकहरुको छाता संगठन बैंकर्स संघका अनुसार दसैंयता वाणिज्य बैंकहरुको कर्जा ८ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ। गत वर्ष पनि कर्जामा वृद्धि भएको थिएन। यो अवधिमा निक्षेप ४ अर्ब रुपैयाँले मात्र बढेको छ। 'गत वर्षको जस्तो अवस्था नआओस् भनेर निक्षेप नबढेकाले कर्जा वृद्धि नगरिएको हो,' भण्डारीले भने, 'सुरक्षित रुपमा बस्न पनि यस्तो गर्नुपर्छ।'

पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकले अहिलेसम्म ६ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका छन्। यो अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। दसैंताका निक्षेप संकलन ६ खर्ब २३ अर्ब र कर्जा प्रवाह ४ खर्ब ८५ अर्ब रुपैयाँ थियो।
गत आर्थिक वर्षको अन्त्यतिर निक्षेप करिब ४० अर्बले वृद्धि भएपछि ब्याज दर घटाएका उनीहरुले अहिले ब्याज दर १२ प्रतिशत पुर्‍याइसकेका छन्। अहिले बैंकहरुसँग गत वर्ष महँगोमा लिएको निक्षेप छ। 'महँगो निक्षेप भएकाले लागत घटाउन सक्ने अवस्था छैन,' पौडेलले भने।

No comments:

Post a Comment

thanks for comment