घरजग्गा कर्जाले वाणिज्य बैंकहरुलाई असर गदैन : गभर्नर खतिवडा


विदेशीसँग प्राविधिक सहायता मात्रै लिने
अर्थतन्त्रमा अनौपचारिकीकरण बढ्यो
सिमा क्षेत्रमा व्याजदर घटनु हुँदैन
शंकास्पद कारोवार अध्ययन हुँदैछ


नागरिक संवाददाता
काठमाडौं मंसिर २६

 
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले उच्च मूल्यांकनमा घरजग्गा कर्जा प्रवाह गर्ने केही वित्तीय संस्थालाई असर परेपनि वाणिज्य बैंकलाई प्रभाव नपर्ने जनाएका छन् ।


बैंक तथा वित्तीय संस्थाको घरजग्गामा कुल कर्जाको ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा प्रवाह मध्ये हाउजिङमा ७ प्रतिशत हुन आउँछ । हाउजिङको कर्जा अझ बढि सुरक्षित रहेको केन्द्रीय बैंकको विश्लेषण छ । बाँकी कर्जा रियल स्टेटमा गएको छ । यो कर्जाले बैकिङ क्षेत्रलाई कुनै नकारात्मक प्रभाव नपार्ने खतिवडाले जनाएका छन् ।

बैंकहरुको कुल कर्जा ५ खर्ब छ । यसको करिव २० प्रतिशत कर्जा घरजग्गामा गएको छ । रियल स्टेटमा धेरै कर्जा दिने केही विकास बैंक र वित्त कम्पनीलाई समस्या परेपनि वाणिज्य बैंकहरुलाई केही समस्या नपर्ने खतिवडाले आईतबार आर्थिक पत्रकारलाई बताए ।

यो क्षेत्रमा गएको सवै कर्जा नउठने अवस्था नभएको पनि उनले जनाए । 'जग्गामा गएको सवै कर्जा डुब्ने अवस्था छैन,' खतिवडाले भने । अनौपचारिक क्षेत्रबाट उच्च व्याजदरमा कर्जा लिएर बैंकहरुको कर्जा बुझाउने काम भैरहेको जानकारी उनले दिए । जग्गाको भाउ बढेर कृत्रिम नाफा कमाउने अवस्था अन्त्य भएको खतिवडाले जनाए ।

दाताको सहयोग नभए पनि वित्तीय सुधारका कार्यक्रम अगाडी बढाउने योजना राष्ट्र बैंकले बनाएको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको सुधारका लागि दाताहरुसँग प्राविधि सहायता लिइने जनाउँदै उनले भने- 'प्रमुख कार्यकारी अधिकृतलाई वैदेशीक ऋण लिएर तलव खुवाउने अवस्था अन्त्य हुनेछ ।'
राष्ट्र बैंकले चाँडै नेपाल बैंकबाट आफनो प्रतिनिधि फिर्ता बोलाउने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकमा स्थायी प्रकारको व्यवस्थापन हुने खतिवडाले बताए । 'यी दुई बैंक व्यवसायिक रुपमा साचालन हुनेछन्,' उनले भने । यी बैंकमा सरकारको सेयर राख्ने कि नराख्ने रणनीतिक साझेदार ल्याउने विषयमा छलफल भैरहेको उनले बताए ।

पर्यटन क्षेत्रको आय घटेकोले मुलुकको शोधनान्तर घाटा बढेको खतिवडाले बताए । 'पर्यटन क्षेत्रको आय विगतको तुलनामा एक तिहाईले घटेको छ,' उनले भने । पर्यटन क्षेत्रको आय लुकाइएको आगमन घटेको र पर्यटकले खर्च कम गर्न थाल्नु मध्येका कारणले यो क्षेत्रको आय घटेको विश्लेषण खतिवडाले गरे । अर्थतन्त्रमा अनौपचारिकीकरण बढेकोले चालु खाता घाटा तल झरेपनि शोधनान्तर घाटा बढेको खतिवडाले बताए ।

तीन महिनाको तथ्यांकका आधारमा आयात भन्दा निर्यातको वृद्विदर माथी देखिएको छ । यो नेपालको इतिहासमा नै पहिलो पटक भएको खतिवडाले बताए । चालु आर्थिक वर्षमा वैदेशीक सहायता खर्च हुन नसकेकोले शोधनान्तर घाटा बढेको उनले जनाए । 'बजेट आउन ढिला भएकोले यो वर्ष वैदेशीक सहायता खर्च हुन सकेन र विदेशीबाट शोधभर्ना लिनबाँकी रकम पनि आएन,'  उनले भने ।
असोज सम्म सुधार नभएपनि कातिक र मंसिरमा शोधनान्तर घाटा नबढ्ने खतिवडाको अनुमान छ ।

भारतिय सिमा क्षेत्रमा भन्दा यताका बैंक तथा वित्तीय संस्थाले दिने व्याजदर कम हुन नहुने र विमा कम्पनीको सेवा त्यहाँ पुगेमा पुँजी बाहिरिने अवस्थामा कमी आउने खतिवडाले बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृतको तलवको सिमा तोक्ने निर्णयलाई सवैले स्वीकार गरेको खतिवडाले जनाए । 'बचतकर्ता ऋणी सेयर सदस्य सवैको हितका लागि यस्तो नीति लिईएको हो,' उनले भने ।

मुलुकमा कालोधनको प्रयोग हुन नदिन शंकास्पद कारोवारको अध्ययन गर्ने काम भैरहेको पनि खतिवडाले जनाए । मुद्रा निर्मलीकरण हुन नपाओस भनेर राष्ट्र बैंकले सवै वित्तीय कारोवार गर्ने निकायलाई निर्देशन दिइसकेको उनले बताए ।

No comments:

Post a Comment

thanks for comment