'लुम्बिनी बैंक : अर्को वर्ष लाभांश'

सुदर्शन सापकोटा, काठमाडौं, जेठ १८ - 'आगामी आर्थिक वर्षपछि लगानीकर्तालाई लाभांश दिन्छु,' चार वर्षअघि संकटग्रस्त घोषणा भएको लुम्बिनी बैंकलाई सफल अवतरण गराएपछिको पहिलो पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले भने, 'अहिले सबै हिसाबले हामी सुरक्षित भइसकेका छौं।'

बैंकमा पुँजीकोष ऋणात्मक, अधिक निष्त्रि्कय कर्जालगायतका समस्या देखिएपछि राष्ट्र बैंकले २०६२ चैतमा यसलाई संकटग्रस्त घोषणा गरेको थियो।

त्यसयता व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिएर पन्तले पुँजीकोष धनात्मक मात्र बनाएनन् केन्द्रीय बैंकले तोकेको खराव कर्जा अनुपातको सीमाभित्र यसलाई झारे। बैंक संकटग्रस्त घोषणा हुँदा पुँजी कोष अनुपात १३.९३ ऋणात्मक थियो। खराब कर्जा पनि ४०.५४ प्रतिशत पुगेको थियो। चालु वर्षको चैतमा अनुपात २४.२३ प्रतिशत धनात्मक भएको छ भने निष्क्रिय कर्जा ४.६६ प्रतिशतमा झरेको छ।

'यहाँसम्म आइपुग्न थुप्रै चुनौतीको सामना गर्नु पर्‍यो,' पन्तले भने, 'धेरै दुःखपछि यहाँसम्म आइपुगेका छौं, अब प्रतिस्पर्धी भएर अगाडि बढ्छौं।' उनले उच्चतम नैतिक स्तर तथा पेशागत मान्यताका आधारमा केन्द्रीय बैंक तथा अन्तर्राष्ट्रिय बैंकिङ मापदण्डको पूर्ण पालना गरेर अहिलेको सफलता हात लागेको जानकारी दिए।

बाह्र वर्षअघि स्थापित बैंकको वित्तीय अवस्था तीन वर्षपछि नै बिग्रिएपछि केन्द्रीय बैंकले यसको व्यवस्थापन जिम्मा लिएको थियो। २०६२ सालमा केन्द्रीय बैंकले निजी क्षेत्रलाई यसको व्यवस्थापन सुम्पियो। त्यसपछि पुन बैंकको अवस्था बिग्रिन थालेपछि यसलाई चार वर्षअघि संकटग्रस्त घोषणा गरिएको थियो।

बैंकको खराव कर्जा वेपत्ता बढेपछि कम्पनीमा नयाँ सञ्चालक समितिसँगै नयाँ व्यवस्थापन समूह पनि आयो। त्यसयता सुधार भएको बैंकले चालु वर्षको चैतसम्म आइपुग्दा ऋणात्मक रहेको जगेडा कोष १५ करोड ४८ लाख रुपैयाँले धनात्मक बनायो। 'असार मसान्तसम्म यसलाई १९ करोड रुपैयाँ पुर्‍याउँछौं,' पन्तले भने। राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थापनले बैंक जिम्मा लिँदा यसको जगेडा कोष १ अर्ब १९ करोड रुपैयाँ ऋणात्मक थियो।

'चार वर्षको अवधीमा खराब कर्जा १ अर्ब २० करोड रुपैयाँ असुल गर्‍यौं,' पन्तले भने, 'केही खराव ऋणी रहेका सञ्चालकको सेयर जफत गरेर पनि खराब कर्जा उठायौं।' उनले मल्ल प्रेस, माउण्ट एभरेष्ट ब्रुअरीलगायतका सञ्चालकको सेयर जफत गरी खराब कर्जा उठाएको जानकारी दिए।

सञ्चालन तथा खुद मुनाफा क्रमशः ७७ करोड र ८० करोड रुपैयाँ नोक्सानमा थियो। 'चार वर्षअघि सञ्चालक समितिमा आउँदा बैंकले अहिलेको रुपमा आउला भन्ने लागेको थिएन,' बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले भने, 'तर कायापलट नै भयो।' उनले आगामी दिनमा बैंकलाई व्यवसायिक आचरणभित्र रहेर सञ्चालन गर्ने बताए।
चार वर्षअघि बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ थियो। अहिले १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। 'बैंक संकटमा हुँदा पनि हामीले सेयरधनीबाट सहयोग पाएर पुँजी बढाउन सक्षम भयौं,' पन्तले भने, 'बाँकी ७० करोड पुँजी सेयरधनीले हाल्नु पर्दैन, बैंकबाटै कमाएर २ अर्ब पुर्‍याउँछौं।'

राष्ट्र बैंकले गत चैत ३ गते लुम्बिनी बैंकमाथिको सबै कारवाही फुकुवा गरिसकेको छ। 'अहिलेसम्म बाँच्नका लागि संघर्ष गरिरहेका थियौं,' उनले भने, 'अब प्रतिस्पर्धा गर्छौ।' उनले चाँडै बैंक शाखा विस्तारमा जाने जानकारी दिए। बैंकको अहिले पाँच शाखा सञ्चालनमा छ।

No comments:

Post a Comment

thanks for comment