चिनिया मुद्रा वलियो हुँदा नेपाली बजारमा असर

सुदर्शन सापकोटा
काठमाडौं वैशाख ६
चिनिया मुद्रा युआन नेपाली रुपैयाँभन्दा निरन्तर वलियो हुँदै गएपछि व्यापार घाटा वढ्ने भएको छ । प्रत्येक वर्ष निर्यात घट्ने र आयात वढ्ने गरेकाले युआन वलियो भएर घाटा वढ्ने भएको हो ।
'चीनतर्फको आयात वढिरहेका बेला युआन वलियो भएर जाँदा यसको असर व्यापार घाटामा पर्छ,' अर्थशास्त्री चिरन्जिवी नेपालले मंगलबार नागरिकसँग भने, 'चीनिया वस्तुमा निर्भरता वढिरहेका बेला यसले मूल्य पनि वृद्धि हुन्छ ।'
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चिनतर्फको आयात १९ प्रतिशतले वढेको छ । तर निर्यात भने साढे ४५ प्रतिशतले घटेको छ । माघसम्मको तथ्यांक अनुसार चीनबाट ३९ अर्ब २१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यसअघि यो ३२ अर्ब ८५ करोड रुपैयाँ थियो । निर्यात १ अर्ब ८४ करोड रुपैयाँबाट घटेर १ अर्ब ८ करोड रुपैयाँमा सिमित भएको छ ।
पछिल्लो तीन महिनामा एक रुपैयाँ बराबार युआन १० रुपैयाँ ४ पैसाबाट वढेर ११ रुपैयाँ ९८ पैसासम्म पुगेकॊ छ । केही दिनयता सामान्य घटेर १० रुपैयाँ ९२ पैसा पुगेको छ । चार वर्षअघि यो जम्मा ६ रुपैयाँ थियो । युआनमा भएको वृद्धिसँगै चीनिया वस्तुको मूल्य नेपाली बजारमा वढेको छ । 

व्यवसायीका अनुसार मुद्रामा भएको वृद्धिले चिनिया उत्पादको मूल्य नेपाली बजारमा २० देखि ३० प्रतिशतले वढेको छ । 'मुद्रा वलियो भएर चिनिया वस्तुको मूल्य उकालो लागेको छ,' नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष दुर्गावहादुर श्रेष्ठले मंगलबार नागरिकसँग भने, 'सस्तोमा पाइएको सामान तीन महिनायता एकाएक महँगो भएको छ ।'
पछिल्लो समयमा युआन डलर र भारतीय रुपैयाँसँग वलियो भएर गएको छ । नेपाली रुपैयाँको विनिमय दर भारुमा निर्भर हुने भएकाले यो कमजोर हुँदा युआन नेपालीभन्दा वलियो हुन्छ । 'युआन वलियो हुनु नेपालका लागि राम्रो होइन,' अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले नागरिकसँग भने, 'यसले व्यापार घाटासँगै सरकारी ऋण तिर्न पनि वढि पैसा खर्च गर्नु पर्ने हुन्छ ।'
चिनिया अर्थतन्त्र वलियो हुँदै गएपछि त्यहाँको मुद्रा पनि वलियो भएको हो । अहिले चिनको अर्थतन्त्र ९.७ प्रतिशतका दरले विस्तार भइरहेको छ । अर्थशास्त्री नेपालका अनुसार इन्धनमा आएको मूल्य वृद्धिपछि चिनिया उत्पादनको मूल्य पनि वढेको हो । साथै अर्थतन्त्रको विस्तारले चिनियाको जीवनस्तर सुधार भएर श्रमको मूल्यमा पनि वृद्धि भएको छ । यसले चिनिया मुद्रालाई वलियो बनाएको हो । युआन वलियो भएपछि अहिले त्यहाँ मूल्यवृद्धि पनि वढेको छ ।
नेपालले चिनियातर्फको आयात वढिरहेका बेला मुद्र वलियो हुँदा यसको असर शोधानन्तर घाटामा समेत पर्ने बताए । 'शोधनान्तर घाटा थप वढ्न जान्छ,' उनले भने । अहिले शोधनान्तर घाटा १२ अर्ब ४३ करोड रुपैयाँ छ । चिनबाट खासगरी विद्युतीय उपकरण लत्ताकपडा टायल वाथरुम फिटिङ स्टेशनरी सामान वढी आउँछ । नेपालबाट भने चाउचाउ विस्कुट वनस्पति घिउ चकलेटलगायतका सामान निर्यात हुन्छ ।
आचार्यले निर्यात व्यापार र चिनिया लगानी भने आकर्षित गर्न सकिने जानकारी दिए । पहिले वढी युआन खर्च गर्नु पर्ने नेपाली सामानलाई अब थोरैमा किन्न सकिने भएर हाम्रो निर्यात व्यापारमा सहयोग पुग्ने भन्दै उनले चिनिया पर्यटकका लागि नेपाल सस्तो मुलुक हुने बताए । 'उनीहरुलाई पहिलेभन्दा थोरै पैसा खर्च गरेर लगानी विस्तार गर्न सक्छन्,' आचार्यले भने 'पर्यटन वर्षका बेला यतातिर आकर्षित गर्न सकिन्छ ।'
व्यवसायीका अनुसार युआन वलियो भएका बेला नेपालको निर्यात व्यापार वढाउन सकिन्छ । 'चीनले हामीलाई करिव ५ सय वस्तुमा भन्सार छुट दिएको छ,' श्रेष्ठले भने, 'छुट पाएका वस्तुको निर्यात वढाएर फाइदा उठाउन सकिन्छ ।'

No comments:

Post a Comment

thanks for comment