विभागीय प्रमुखमार्फत अर्थमन्त्रीको खन्डन


काठमाडौं चैत १७
भरतमोहन अधिकारी

नक्कली भ्याट विल सरुवा क्यासिनो र युनिटिमा आफूले अनावश्यक दवाव दिएर सचिव रामेश्वर खनालले राजिनामा दिएको भन्ने आरोपको उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सम्बन्धित विभागका प्रमुखमार्फत खन्डन गराएका छन् ।

उनले मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन डाकी खनाललाई काममा दवाव दिएर राजिनामा गर्न वाध्य नपारेको भन्दै यसबारेमा विभाग प्रमुखलाई बोल्न समय दिएका थिए । सम्मेलनमा विभाग प्रमुखहरुले अर्थमन्त्रीबाट कुनै किसिमको दवाव नपरेको स्पष्टीकरण दिएका थिए ।
'रामेश्वरजीले नै पत्रिकामार्फत भनिसक्नु भयो मन्त्रीज्युबाट कुनै दवाव आएको छैन भनेर,' अर्थमन्त्री अधिकारीले भने, 'म सुरुदेखि नै नक्कली भ्याट विलको कारवाहीलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु । अन्य कुरामा पनि मेरो सहयोग हुन्छ भनेको थिए । अब मैले कसरी दवाव दिएको हुन्छ ।'
उनले पत्रकार सम्मेलन सुरु भएको दुई मिनेट आफ्नो कुरा राखेपछि वास्तविकता के हो भनेर विभागिय प्रमुखहरुलाई बोल्न लगाए ।
रामेश्वर खनाल

'मन्त्रीज्यु आएपछिको पहिलो निर्देशन नै नक्कली भ्याट विलको कारवाहीलाई अगाडि बढाउनु भन्ने थियो,'  राजश्व अनुसन्धान विभागका महानिर्देशक सान्तबहादुर श्रेष्ठले भने, 'उहाँको निर्देशनपछि कारवाहीले निरन्तरता पाएको छ । मैले उहाँबाट कुनै दवाव पाएको छैन ।' उनले अधिकारी आएपछि थानकोटमा नै चेक जाँचको कारवाही गर्न उपसचिवको नेतृत्वमा काम भइरहेको जानकारी दिए । 'सुरुमा वरुण वेभरेजबाट भएको कारवाही अहिले एटिएम मेसिन मगाएर जडान गर्नेहरुसम्म पुगेको छ,' उनले भने, 'यो काम मंगलबारै भएको हो ।'
आन्तरिक राजश्व विभागका महानिर्देशक राजन खनालले अहिले अगाडि बढेको कारवाहीलाई कुनै हालतमा पनि रोक्न हुँदैन भनेर मन्त्रीज्युबाट प्रस्ट निर्देशन आएको भन्दै कुनै दवाव झेल्नु नपरेको बताए । 'नक्कली भ्याट विलमाथिको कारवाही मेरो नेतृत्वको निकायले गरेकाले सबैभन्दा बढी दवाव मलाई पर्नुपर्ने हो,' उनले भने, 'तर मैले त अहिलेसम्म त्यस्तो महशुस गरेको छैन ।' उनले मंगलबार मात्रै पनि भ्याट विल दुरुपयोग गर्नेहरुलाई बोलाएर बयान लिएको जानकारी दिए ।

संस्थान समन्वय महाशाखा प्रमुख तथा तत्कालिन भन्सार विभागका महानिर्देशक नवराज भन्डारीले कर्मचारी सरुवामा आफूलाई कसैबाट पनि दवाव नआएको जानकारी दिए । 'फागुन मसान्तमा सरुवा हुने नियम अनुसार नै सरुवा गरिएको हो,' उनले भने, 'सरुवामा सामान्य त्रुटी भए होलान् तर यसलाई गर उसलाई नगर भनेर मन्त्री सचिव कसैबाट पनि दवाव आएको होइन ।'
उनले सरुवा गर्दा कसैलाई पनि यसको लिस्ट नदेखाएको भन्दै संस्थान महाशाखा छिरेपछि मात्र पहिलो पटक मन्त्रीसँग भेट भएकाले यसमा उहाँको कुनै दवाव नभएको बताए । राजस्व सचिव कृष्णहरि बास्कोटाले पछिल्लो समयमा सहसचिवको सरुवामा पनि मन्त्रीबाट कुनै दवाव नआएको दावी गरे ।
'सहसचिवको सरुवा मन्त्रीस्तरीय हुने भएपनि सबै प्रकि्रया पुरा गरेर नै सरुवा गरिएको हो,' उनले भने, 'मन्त्रीज्युले सरकार फेरिने बित्तिकै सरुवा हुँदा गलत सन्देश जान्छ । अहिलेलाई राक्नु भन्नु भएको थियो । तर दुई वर्षमा सरुवा हुने नियम भएकाले गरिएको हो । यसमा उहाँको कुनै किसिमको दवाव छैन ।'
उनले क्यासिनोको वक्यौता उठ्न वाँकी रहेका कम्पनीको खारेजी गर्ने प्रकि्रया अगाडि बढीसकेको जानकारी दिँदै कार्यान्वयन गर्न पर्यटन मन्त्रालयलाई पत्राचार गरिसकेको बताए । 'हामीले क्यासिनो खारेजी रोकेका छैनौं,' उनले भने, 'यसमा मन्त्रीको दवाव पनि छैन । खारेज गर्न पर्यटनलाई लेखि पठाइसकेका छौं ।'
युनिटीको कारवाही पनि कानुन अनुसार बढिरहेको श्रेष्ठले जानकारी दिए । उनले युनिटीका अधिकारीलाई राजस्व छली विदेशी मुद्राको अपचलन र सम्पति सुद्धिकरण ऐनअनुसार कारवाही अगाडि बढेको जानकारी दिए । 'युनिटीको कारवाही रोक्नलाई पनि मन्त्रीबाट दवाव आएको छैन,' उनले भने ।
विभागीय प्रमुखहरुले स्पष्टीकरण दिएपछि अर्थमन्त्रीले अगाडि बढेको सबै कारवाहीलाई निरन्तरता दिने बताउँदै भ्याट विलमा छल्ने अपराधी भएकाले उनीहरुलाई जसरी पनि कारवाही गर्न आफू कटिवद्ध रहेको बताए । 'नक्कली भ्याट विल प्रयोग गर्नु र नक्कली नोट छाप्नु एउटै अपराध भएको कुरा म फेरी पनि दाहोर् याउँछ,' उनले भने, 'यो मुद्दामा सम्लग्न कुनै पनि व्यापारी कारवाहीबाट छुट्दैनन् ।'
अर्थ सचिब रामेश्वर खनालले पुरक बजेटमा भएको मतभेदका कारण राजीनामा दिएको बताए पनि कार्यक्रममा कसैले पनि पुरक बजेटबारेमा बोलेनन् ।

कार्यक्रमा गएनन् अर्थमन्त्री
अर्थ मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्न पुगेका मन्त्री अधिकारी बिहीबार बोलाएका तीन सार्वजनिक कार्यक्रममा भने उपस्थित भएनन् ।
सार्वजनिक लेखा समितिले अर्थमन्त्री अधिकारीलाई सचिव खनालको राजिनामाका बारेमा जवाफ दिन बोलाए पनि उनी गएनन् । उनले चार वटा मन्त्रालय सम्हालेका कारण आउन नसकेको बताउँदै आइतबार आउने जानकारी गराएको एक सभासद्ले बताइन । लेखाले उनलाई आठ बजे वोलाएको थियो ।
लेखाले वोलाएको समयमा उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न गएका थिए । लेखा समितिका सदस्यहरुले अधिकारीले नियतवश समितिलाई वेवास्था गर्दै जवाफ दिन नआएको भन्दै वैठक अगाडि वढाउनु वेकार हुने बताए । समितिमा अधिकारीको जवाफसँगै नक्कली भ्याट विलका बारेमा छलफल हुने कार्यक्रम थियो । अर्थमन्त्री नआएपछि छलफल स्थगित थियो ।
त्यसपछि उनले नौ बजे अर्थमन्त्रालयमा विश्व बैंकका अधिकारीलाई भेटेका थिए । केन्द्रिय निक्षेप प्रणाली सिडिएस को उद्घाटनमा प्रमुख अतिथिका रुपमा उनलाई निम्त्याइए पनि गएनन् । उद्घाटन विहान ११ वजे थियो । साढे ११ वजे मन्त्रालयमा उनले पत्रकार सम्मेलन गरे ।
नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक संघको कार्यक्रममा पनि उनी अनुपस्थित रहे । उनलाई त्यहाँ प्रमुख अतिथिका रुपमा वोलाइएको थियो । चार वजे उनले एसियाली विकास बैंकका प्रमुखहरुलाई भेटेका थिए ।

No comments:

Post a Comment

thanks for comment