राष्ट्र बैंककै ब्याज महँगो

सुदर्शन सापकोटा
काठमाडौं, वैशाख १२
उत्पादनमूलक क्षेत्रमा कम ब्याज लिएर कर्जा लगानी गर्नुपर्ने बताउँदै आएको राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थालाई करिब १५ प्रतिशतसम्म ब्याजमा लगानी गर्ने गरेको छ।
राष्ट्र बैंकले पछिल्लो समय सबैभन्दा थोरै ब्याजमा माछापुच्छ्रे बैंकलाई ११ दशमलव ३२ प्रतिशतमा निक्षेप दिएको छ।
'बोलकबोलमार्फत निक्षेपको ब्याजदर तय भएको हो,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'राष्ट्र बैंकको निक्षेप पाइने मोहमा उनीहरुले नै महँगो दर राखेर दरखास्त दिएकाले ब्याज माथि देखिएको हो।' उनका अनुसार राष्ट्र बैंकले महँगोलाई छाडेर सस्तो दरमा प्रस्ताव गर्नेलाई निक्षेप दिँदा व्यावसायिक नदेखिने हुँदा महँगोमा आउनेलाई दिनुपरेको जानकरी दिए। 'सस्तोमा दिँदा अख्तियार आकर्षित हुन्छ,' ती अधिकारीले भने, 'त्यही भएर महँगोलाई दिनु बाध्यता पनि हो।'

राष्ट्र बैंकले अहिलेसम्म ११ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ ६८ वटा बैंक तथा वित्तीय संस्थामा राखेको छ। यसमध्ये सबैभन्दा बढी निक्षेप फाइनान्स कम्पनीहरुमा छ। फाइनान्समा राष्ट्र बैंकले कुल निक्षेपको ६८ प्रतिशत रकम राखेको छ। वाणिज्य बैंकमा १६.४५ प्रतिशत र विकास बैंकमा १५.७८ प्रतिशत निक्षेप राखेको छ।
'राष्ट्र बैंकले आफै सस्तोमा निक्षेप नदिएपछि कसरी कर्जा सस्तोमा दिन सकिन्छ,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'मैले धेरै पटक निक्षेप माग गरेको थिएँ। तर अति नै आवश्यक परेकाले महँगोमा प्रस्ताव गर्दा बल्लतल्ल पाएँ।' उनले राष्ट्र बैंकले आफैले महँगो ब्याज तिर्नेलाई मात्र निक्षेप दिँदै आएको कुरालाई विर्सिएर बैंक तथा वित्तीय संस्थालाई मात्र सस्तो ब्याजमा कर्जा दिनु भन्न नसुहाउने बताए।
राष्ट्र बैंकले सञ्चालनमा रहेका ३१ मध्ये नौ वटा वाणिज्य बैंकमा निक्षेप राखेको छ। यी बैंकमा १ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ निक्षेप जम्मा छ। केन्द्रीय बैंकले कर्मचारीका नाममा रहेको विभिन्न कोषको रकम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गर्छ। वाणिज्य बैंकमा सबैभन्दा महँगो ब्याज नबिल बैंकलाई १४.०१ प्रतिशत ब्याजमा निक्षेप दिएको छ। बैंकमा राष्ट्र बैंकको २७ करोड रुपैयाँ निक्षेप छ।
राष्ट्र बैंकले सात विकास बैंकमा १ अर्ब ८७ करोड ६९ लाख रुपैयाँ निक्षेप राखेको छ। सबैभन्दा महँगो ब्याज (१४.२४ प्रतिशत) मा भिबोर विकास र सबैभन्दा सस्तो ब्याजमा (१२.२७ प्रतिशतमा) इन्टरनेसनल डेभलपमेन्ट बैंकमा निक्षेप राखेको छ। २ करोड ९६ लाख रुपैयाँ निक्षेपको अवधि पुरा भएपनि चुक्ता नगरेको गोर्खा बैंकलाई राष्ट्र बैंकले १३.९६ प्रतिशत ब्याजमा थप ४८ करोड रुपैयाँ निक्षेप दिएको छ। गोर्खा बैंकलाई उसले एक महिनाअघि समस्याग्रस्त घोषणा गर्दै सुधारका लागि ६ महिना समय दिएको छ।
राष्ट्र बैंकले ५२ वटा फाइनान्स कम्पनीमा ८ अर्ब ८ करोड ८८ लाख रुपैयाँ निक्षेप राखेको छ। फाइनान्स कम्पनीमा उसले १४.६३ प्रतिशतसम्म ब्याजमा निक्षेप राखेको छ। यो ब्याज दरमा उसले प्रिमियर फाइनान्समा पैसा राखेको हो।
'यति महँगो ब्याजमा पैसा लिएर उत्पादनमूलकमा नै पनि कसरी सस्तोमा लगानी गर्न सकिन्छ र?' एक फाइनान्सका महाप्रबन्धकले भने, 'सस्तोमा निक्षेप उपलब्ध हुँदा मात्रै कर्जाको ब्याज पनि सस्तो हुन्छ। पुँजीको लागत बढेका बेला सस्तोमा लगानी गर्न सकिदैन।' उनले राष्ट्र बैंक नाफामुखी संस्था नभएकाले तरलता अभावका बेला महँगोमा निक्षेप लगानी गर्न नहुने बताए। उनले राष्ट्र बैंकबाटै महँगोमा निक्षेप लिनु परेकाले अन्य संस्थागत र ठूला निक्षेपकर्तालाई पनि वढी ब्याज तिर्न वाध्य हुनु परेको जानकारी दिए।
राष्ट्र बैंक भने उत्पादनमूलकका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई सस्तोमा पैसा उपलब्ध गराउँदै आएको बताउँछ। 'हामीले उत्पादनमूलक क्षेत्रमा कर्जा दिनका लागि बैंक तथा वित्तीय संस्थालाई असल कर्जाको धितोमा ७ प्रतिशतमै पैसा दिँदै आएका छौं,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'उनीहरुले ३ प्रतिशतको स्प्रेड (कर्जा र निक्षेपको ब्याजको फरक) राखेर लगानी गर्न सक्छन्।'

No comments:

Post a Comment

thanks for comment