राष्ट्र बैंकले खराब बैंक चलाउने जिम्मा लिने छैन : गभर्नर

काठमाडौं, वैशाख १५
गभर्नर युवराज खतिवडाले खराब अवस्थामा पुगेको बैंक तथा वित्तीय संस्था चलाउने जिम्मा केन्द्रीय बैंकले नलिने बताएका छन्। ‘नाफा लिने समूहले नै खराब अवस्थाको जिम्मेवारी लिनुपर्छ,' उनले भने।
गभर्नर युवराज खतिवडा
 गोरखा विकास बैंक जिम्मा लिएर चलाउनुको सट्टा समस्याग्रत घोषणा गरेको गुनासो आइरहेका बेला गभर्नर खतिवडाको भनाइले राष्ट्र बैंकले यही नीतिलाई निरन्तरता दिने देखिएको छ। ‘संस्था बिगारेपछि राष्ट्र बैंकले लिएर सुधार गरिदिन्छ भन्ने भ्रममा नपर्नुस्' खतिवडाले भने, ‘हालैका केही निर्णय त्यहीबाटो तर्फ अग्रसर छन्।' 
 सर्वसाधारणको निक्षेप सुरक्षित राख्न आवश्यक अनुगमन र सुपरीवेक्षणमा राष्ट्र बैंक लाग्ने उनले बताए। समस्याग्रस्त घोषणा गरेका संस्था सुधि्रने आशा खतिवडाले गरे। अझै पनि अरु केही संस्था समस्यामा रहेको जानकारी दिँदै उनले भने, ‘नसुधारिने हो भने खारेजीमा जानुपर्ने अलोकप्रिय कामतर्फ अगाडि बढनुपर्ने छ।'
धमाधम विकास बैंक र वित्त कम्पनी समस्याग्रस्त हुन थालेका छन्। यो अवस्थाले निक्षेपकर्तामा निक्षेप सुरक्षित नहुने सन्देश गएको छ। वाणिज्य बैंक बाहेकका संस्थामा दुई लाख रुपैयाँसम्मको निक्षेप बिमा सुरु भएकाले सानो निक्षेप डुब्ने अवस्था छैन। वाणिज्य बैंकमा समेत सानो निक्षेपको बिमा अनिवार्य भएपछि थोरै रकम बैंकमा राख्दा डुब्ने डर समाप्त हुनेछ। ठूला निक्षेपकर्ताका लागि खतिवडाले बैंक तथा वित्तीय संस्था हेर्दै जोखिम मूल्यांकन गरेर पैसा राख्न आग्रह गरेका छन्।

सञ्चालकको सेवा सुविधाको मापदण्ड तोक्ने तयारीमा रहेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालकको मात्रै नभएको जनाएको छ। ‘यस्ता संस्था निक्षेपकर्ता, लगानीकर्ता र सर्वसाधारण सबैको हो,' खतिवडाले भने, ‘सञ्चालकको मात्रै बैंक भन्ने भ्रम अब हट्नुपर्छ।'
विगतमा बैंकिङ ज्ञान नभएकालाई बैंक सञ्चालनको अनुमति दिइएकाले वित्तीय जग त्यति बलियो हुन नसकेको उनले बताए। ‘ज्ञान नभएकालाई बैंक चलाउन दिएपछि समस्या आउँछ,' खतिवडाले भने, ‘४० संस्था स्थापनाको स्वीकृति दिँदासमेत राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता बढाइएको थिएन।' अहिले बैंक लाइसेन्स रोकिएको अवस्थामा राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता बढाउने योजना रहेको उनले बताए।

बुधबार आयोजित राष्ट्र बैंकको ५६ औं वार्षिकोत्सव समारोहमा बुधबार उनले वित्तीय सुधार कार्यक्रमलाई नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापन करारमा दिने कार्यमा सीमित नगरी अगाडि बढाउने अठोट गरे। ‘यी दुई बैंकमा प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अगाडि बढाइने छ,' खतिवडाले भने, ‘सुधारलाई पनि फराकिलो ढंगले अगाडि लगिनेछ।'
राष्ट्र बैंकले नियममा आधारित पद्धति बसाउन खोजेर धेरै निर्देशन जारी गरेको जानकारी उनले दिए। ‘अब चाँडै निरीक्षण निर्देशिका पनि परिवर्तन गर्ने क्रममा छ,' खतिवडाले भने।
मुलुकमा संघीयताको स्वरुपसँगै राष्ट्र बैंकको पुनःसंरचना गर्ने योजना रहेको जानकारी उनले दिए। यसका लागि ५ वर्षे रणनीतिक योजना बनाउन राष्ट्र बैंकले एक समिति गठन गरेको छ। ‘समितिको सुझाव अनुरुप अगाडि बढ्ने छौं,' खतिवडाले भने।

सफा नोट नीति कार्यान्वयन गर्न राजाका तस्बिर अंकित नोट फिर्ता लिने प्रक्रिया अगाडि बढाउने उनले बताए। ‘केही समयअघि नोट नचल्ने निर्णय फिर्ता लिएको होइन, तत्कालका लागि चलनचल्तीमा रहने भनिएको हो,' खतिवडाले भने। सर्वसाधारणलाई राजाको तस्बिर भएका नोट बैंकिङ प्रणालीमा पठाउन उनले अनुरोध गरे।
एक वर्षको अवधिमा मौद्रिक नीति मार्फत लिएका नीतिले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिएको उनले बताए। ‘रियलस्ेटट र अन्य क्षेत्र भन्दा उत्पादनमूलकतर्फ बैंक तथा वित्तीय संस्थालाई जान प्रेरित गरिएको छ,' खतिवडाले भने।
मुलुकको आर्थिक स्थिति एकवर्ष अगाडीको तुलनामा नबिग्रिएको दाबी उनले गरे। औद्योगिक क्षेत्रको अवस्था सकारात्मक नभए पनि कृषि र सेवा क्षेत्रको वृद्धि सकारात्मक रहेको खतिवडाले बताए।

चालु वर्षमा सरकारी बजेट खर्च हुन नसकेकाले शोधनान्तर घाटा १२ अर्ब पुगेको उनले जनाए। ‘सरकारी खर्च बढ्ने र विदेशी सहायता परिचालन हुने हो भने शोधनान्तर स्थिति सकारात्मक हुन्छ,' खतिवडाले भने।

चालु वर्षमा सरकारी ढुकुटीमा १२ अर्ब रुपैयाँ खर्च हुन नसकी थन्किएर बसेको छ। ९९ अर्ब रुपैयाँको वैदेशिक सहायता खर्च हुने अनुमान बजेटमा गरिए पनि हाल सम्म १९ अर्ब मात्रै खर्च भएको छ।

मुलुकमा सुन र पेट्रोलियम पदार्थलाई छोडेर कृषिजन्य बाहेकका वस्तु आयात उच्च भएको उनले बताए। ‘भविष्यका लागि पुँजी निर्माण गर्ने हिसाबले वस्तु आयात भएका छन्,' खतिवडाले भने।

राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमसेर राणाले अर्थतन्त्र ओरालो लागे पनि धेरैले चिन्ता नलिएको गुनासा गरे। ‘उच्च मूल्यवृद्धि, तरलता अभाव, शोधनान्तर घाटा, हकप्रद सेयर नविक्ने अवस्था छ,' उनले भने, ‘मुलुकको आर्थिक स्थिति चिन्ताजनक भएको अवस्थामा सुधारका लागि राष्ट्र बैंकले सल्लाहकारका रुपमा सरकारलाई दबाब दिनुपर्छ।'
आस्थाका आधारमा सरुवा, बढुवा : युनियन
राष्ट्र बैंकको कांग्रेसनिकट कर्मचारी युनियनले विचार र आस्थाका आधारमा गभर्नरले सरुवा, बढुवा गरेको आरोप लगाएको छ। राष्ट्र बैंक वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बैंकको उच्च व्यवस्थापनले सरुवा, बढुवा र तालिमका अवसरमा भेदभाव गरेको आरोप लगाए।
एमाले निकट कर्मचारी संघका अध्यक्ष वसन्तराज पाण्डेले राष्ट्र बैंक पुनःसंरचनामा ढिलाइ नगर्न अनुरोध गरे। माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तीर्थराज सिलवालले बैंक तथा वित्तीय संस्थालाई एउटै विषयमा फरक-फरक कारबाही हुने गरेको गुनासो गरे। युनियनसँग भएका सम्झौता कार्यान्वयनमा ल्याउनुपर्ने माग उनीहरुले राखे। राष्ट्र बैंक पूर्व कर्मचारी संघका अध्यक्ष माधवप्रसाद भट्टले पेन्सनको रकम र औषधि सुविधाको खर्च बढाउनुपर्ने माग राखे।

No comments:

Post a Comment

thanks for comment