७ करोड फिर्ता गराउन राष्ट्र बैंकले मुद्दा दायर गर्ने

काठमाडौं चैत १७
राष्ट्र बैंकले आफ्नो खाताबाट अमेरिकाको चेज बैंकले एकतर्फी कट्टा गरेको १० लाख डलर फिर्ता लिन त्यहाँको अदालतमा मुद्दा हाल्ने भएको छ ।
बैंकले यसका लागि बिहीबार अमेरिकास्थित क्षेत्री एन्ड एसोसिएट ल फर्मलाई वकिल नियुक्ती गरेको स्रोतले बतायो ।
चेज बैंकमार्फत् नेपाल भित्रिएको उक्त परिमाणको रकमलाई अवैध भन्दै राजस्व अनुसन्धान विभागले रोक्का गरेकामा अमेरिकी बैंकले करिब तीन साताअघि राष्ट्र बैंकको खाताबाट पैसा काटेको थियो ।
राष्ट्र बैंकको खाताबाट थुतेको पैसा विरुद्ध यो मुद्दा खारेज गर्न कानुनी लडाइ लड्न कदम चालिएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । डिस्ट्रिक कोर्ट फर साउथर्न डिस्ट्रिक अफ न्युयोर्कले पैसा फिर्ता नगर्न फैसला गरेको थियो ।

'फैसला गरेको अदालतमा नै मुद्दा दायर गर्ने तयारीमा छौं,' ती अधिकारीले भने, 'ल फर्मले मुद्दा दायरदेखि कानुनी लडाइ लड्ने सबै काम गर्छ ।' उसले छिट्टै मुद्दा दायर गर्नेछ ।
तरला इन्टरनेसनल नामको निजी अमेरिकी कम्पनीले नेपाली सेना र प्रहरीका लागि बन्दोबस्तीका सामान ल्याउने नाममा अवैध सम्पत्ति वैध बनाउन खोजेको अभियोग लगाउँदै राजस्व अनुसन्धानले रकम रोक्का गरेको थियो । यसविरुद्ध तरलाले अमेरिकी अदालतमा हालेको मुद्दा जितेपछि चेजले राष्ट्र बैंकलाई थाहै नदिई उसको खाताबाट पैसा कट्टा गरेको थियो ।
तरलाले अमेरिकाबाट सामान आपूर्ति गर्न चिनियाँ नागरिक वु लिजियाङलाई सबकन्ट्रुक्ट दिएको थियो । उसैको नाममा चेज बैंकले नेपाल बंगलादेश बैंकमा दुई वर्षअघि १० लाख डलर पठाएको हो । तरलाका साचालक असिम खत्रीले आफ्नो कम्पनीले नेपालमा सामान निर्यात गरिसक्दा पनि भुक्तानी रोकिएको बताउँदै अमेरिकी अदालतमा मुद्दा हालेका थिए ।
राजस्व अनुसन्धानले चिनियाँ नागरिक वुविरुद्ध गएको फागुन १३ मा विशेष अदालत काठमाडौंमा मुद्दा हालेको थियो । उक्त मुद्दामा अमेरिकाबाट आएको १० लाख अमेरिकी डलर जफत गरिपाउँ भनी माग गरिएको छ ।
बंगलादेश बैंकको भैसैपाटी शाखामा २००८ जुलाई २७ मा वुका नाममा खोलिएको खातामा अमेरिकाको चेज बैंकबाट रकम आएको हो ।
वुले नेपाली कम्पनी भगवती टे्रडस्रमार्फत् सामान आपूर्ति गरेको दाबी गरेका छन् । यसबारे राजस्व अनुसन्धानले छानबिन गर्दा तातोपानी नाकाबाट कुनै पनि सामान भित्रिएको तथ्यांक देखिएन । भन्सार विभागले पनि भगवती टे्रडस्रबाट सेना र प्रहरीका लागि बन्दोबस्तीका सामान आयात नभएको जानकारी दिएको थियो । वुका नेपाली प्रतिनिधि शम्भु भारती हुन् ।

No comments:

Post a Comment

thanks for comment