सुदर्शन सापकोटा
काठमाडौं, असोज १०-
किस्ट बैंकले ठूलो कारोबार गर्न
भारतको पञ्जाब नेसनल बैंक (पिएनबी) लाई ५१ प्रतिशत सेयर दिएर साझेदार बनाउन
तयारी सुरु गरेको छ।पिएनबी अहिले एभरेस्ट बैंकसँग २० प्रतिशत साझेदारी लिएर काम
गरिरहेको छ। यसले नेपालमा आफ्नो कारोबार बढाउन चाहेको छ। 'साझेदारीका लागि
किस्ट र पिएनबीले एक महिनादेखि राष्ट्र बैंकसँग परामर्श गरिरहेका छन्,'
बैंक स्रोतले भन्यो।
किस्टसँगको साझेदारी दुइटा विकल्पमा गर्न सकिने गरी छलफल भइरहेको छ।
अहिलेकै पुँजी अनुसार ५१ प्रतिशत दिने वा ५१ प्रतिशत बराबरको थप पुँजी
राखेर बैंकलाई ठूलो बनाउने गरी छलफल चलेको हो। निष्कर्ष आइसकेको छैन। जुन
विकल्पमा गए पनि किस्टको व्यावसायिक ख्याति भने बढ्ने छ।
किस्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीले मर्जरका लागि धेरै
बैंकहरुसँग छलफल भइरहेको बताए। उनले यसैक्रममा पिएनबीसँग पनि छलफल भइरहेको
तर, टुंगो भने नलागेको जानकारी दिए।
राष्ट्र बैंकले साझेदारीभन्दा मर्जरका लागि सुझाव दिइरहेकाले दुवै
कम्पनीबीच औपचारिक सम्झौता हुन सकेको छैन। राष्ट्र बैंक स्रोतका अनुसार
एउटै कम्पनीलाई दुई बैंकसँग साझेदारी गर्न कानुनी अड्चन भएकाले मर्जरमा जान
सुझाव दिइएको हो।
राष्ट्र बैंकले पिएनबीलाई प्रत्यक्ष रणनीतिक साझेदारीका लागि दुवै
संस्थामा रहन नमिल्ने भन्दै सेयर खरिद गरेर मर्जरमा जान सहयोग गर्ने बचन
दिएको छ। राष्ट्र बैंकले पिएनबीका प्रतिनिधिसँगै एभरेस्ट र किस्ट बैंकका
अधिकारीहरुसँग गरेको अनौपचारिक छलफलमा यथासक्य चाँडो मर्जर गर्ने औपचारिक
प्रतिबद्धता गरेको अवस्थामा किस्टको केही सेयर खरिदका लागि सहयोग गर्ने
आश्वासन दिएको हो।