पाँच तारे होटलको नाफा साढे १९ % वृद्धि

सुदर्शन सापकोटा, काठमाडौं, भदौ १- राजनीतिक अस्थिरताले पर्यटनमैत्री वातावरण नभए पनि पाँच तारे होटलले यो वर्ष नाफा बढाएका छन्। अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष पर्यटक आगमनमा आएको सुधारले होटलहरुको नाफा बढेको हो।
 
होटल नाफा
सोल्टी १५ करोड ६ लाख
र्‍याडिसन ११ करोड
हायात ५ करोड २२ लाख
 


नेपाल स्टक एक्सचेन्जमा सूचीकृत होटलले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार उनीहरुको खुद नाफा १९.५३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २६ करोड १६ लाख नाफा गरेका होटलले यसपटक ५ करोड ११ लाख बढाएका छन्। उनीहरुको नाफा यो वर्ष ३१ करोड २८ लाख रुपैयाँ पुगेको छ।
सन् २०११ मा हवाई मार्गबाट ५ लाख ४४ हजार ९ सय ८५ तथा स्थल मार्गबाट करिव २ लाख २५ हजार पर्यटक नेपाल भित्रिएका छन्। यो हवाई मार्गबाट आउने अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत बढी छन्। यो वर्ष समग्र पर्यटन क्षेत्रमा आएको सुधारले अर्थतन्त्रमा योगदान पुर्‍याएको छ।
स्टक एक्सचेन्जमा चारवटा पाँच तारे होटल सूचीकृत छन्। चारमध्ये याक एन्ड यती होटलले सूचीकरण खारेज गर्न स्टक एक्सचेन्जलाई अनुरोध गरेकाले वार्षिक विवरण चार वर्षदेखि प्रकाशन गर्न छाडेको छ।
सबैभन्दा बढी नाफा ओरेन्टल होटल्स (र्‍याडिसन) ले गरेको छ। र्‍याडिसनले नाफा ३५.१५ प्रतिशतले बढाएर ११ करोड रुपैयाँ पुर्‍याएको छ। अघिल्लो वर्ष होटलको नाफा ८ करोड १३ लाख रुपैयाँ थियो।
'पर्यटन वर्षका कारण पर्यटकको आगमन बढेकाले होटलको कारोबार बढ्यो,' र्‍याडिसनका प्रबन्ध निर्देशक बिके श्रेष्ठले बिहीबार नागरिकसँग भने, 'यसले होटलको नाफा बढायो।' र्‍याडिसनले एक वर्षमा ७० करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। होटलले खासगरी, कोठा, रेस्टुरेन्ट, ब्याङकेटलगायतको सेवा बेचेर यो आम्दानी गरेको हो।
होटल सोल्टीको नाफा पनि २० प्रतिशतले बढेर १५ करोड ६ लाख रुपैयाँ पुगेको छ। होटलले एक वर्षमा १ अर्ब ६ करोड ६१ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो वर्षको भन्दा १२ प्रतिशतले बढी हो।
यसमध्ये होटलले विभिन्न कम्पनीमा गरेको लगानीबाट आएको लाभांशको हिस्सा २७ लाख ९४ हजार रुपैयाँ छ। होटलको विभिन्न कम्पनीमा १५ करोड ८५ लाख रुपैयाँ लगानी छ। होटलले सञ्चालनबाट मात्रै १ अर्ब ६ करोड आम्दानी गरेको छ।
सोल्टीले देशको पर्यटन अनुकूल वातावरण बन्दै गएर पर्यटक आगमनमा महŒवपूर्ण र आशातित अभिवृद्धि भएकाले नाफा बढेको जनाएको छ। 'कम्पनीले होटल व्यवसायका विविध बजार खण्डमा सशक्त बजार व्यवस्थापन तथा प्रवर्द्धन गरेको छ,' होटलले जनाएको छ, 'पर्यटक आगमनले नाफा बढेको हो। आगामी वर्ष पनि नाफा राम्रो हुनेछ।'
तारागाउँ रिजेन्सी होटल (हायात) को नाफा भने केही घटेको छ। हायातको नाफा ४.८३ प्रतिशतले घटेर ५ करोड २२ लाखमा झरेको छ। हायातको नाफामा केही कमी आए पनि उसको सञ्चिति नोक्सानी भने घटेको छ। होटलको यस्तो नोक्सानी ५.७२ प्रतिशतले घटेर ८६ करोडमा आएको छ। ऋण नतिरेका कारण एक वर्षअघि हायातका सञ्चालकलाई लुम्बिनी बैंकले कालोसूचीमा समेत राखेको थियो।
हायातले एक वर्षमा ८८ करोड ९६ लाख रुपैयाँ बराबरको सेवा बिक्री गरेको छ। यो अघिल्लो वर्षको भन्दा ७ प्रतिशत बढीको वृद्धि हो। उच्च कर्मचारी तथा प्रशासनिक खर्चका कारण होटलको नाफा खासै बढ्न नसकेको हो। यद्यपि अघिल्लो वर्षको भन्दा यस्तो खर्च साढे सात प्रतिशतले घटेर ३५ करोडमा झरेको छ।
'विगत आर्थिक वर्षको भन्दा कूल बिक्री बढी भए पनि कर्मचारीको तलब तथा ज्यालामा भएको वृद्धि, विदेशी मुद्राको सटहीमा आएको परिवर्तनले नाफा घटेको हो,' होटलले जनाएको छ। होटलका अनुसार नेपाली रुपैयाँको अत्याधिक अवमूल्यन र मुद्रा स्फीति (महँगी) को कारणले गर्दा नाफामा प्रभाव परेको छ।
'नाफा कम भए पनि यो वर्ष नगद प्रवाहको अवस्था राम्रो रहेकाले होटललले स्वदेशी तथा विदेशी बैंकहरुको तिर्नुपर्ने सावाँ तथा ब्याज समयमै भुक्तानी गरेको छ,' होटलले जनाएको छ।
स्टक एक्सचेन्जमा सोल्टीको १ करोड ७९ लाख कित्ता सेयर सूचीकृत छ। होटलको प्रति सेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा र प्रति सेयर नेटवर्थ ३६ रुपैयाँ ५७ पैसा छ। मूल्य आम्दानी अनुपात २७.३५ गुणा छ। बजारमा सोल्टीको पछिल्लो प्रति सेयर मूल्य २ सय ३६ रुपैयाँ छ।
हायातको १ करोड ६७ लाख ४४ हजार कित्ता सेयर सूचीकृत छ। होटलले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार प्रति सेयर आम्दनी ३ रुपैयाँ १२ पैसा र नेटवर्थ प्रति सेयर ६० रुपैयाँ छ। मूल्य आम्दानी अनुपात २६.३ गुणा छ। हायातको प्रति सेयर मूल्य ८३ रुपैयाँ छ।
५० लाख कित्ता सेयर सूचीकरण भएको र्‍याडिसन होटलको प्रति सेयर आम्दानी २२ रुपैयाँ १५ पैसा छ। नेटवर्थ प्रति सेयर २१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४.५२ गुणा छ। र्‍याडिसनको पछिल्लो प्रति सेयर मूल्य ७७ रुपैयाँ छ।

No comments:

Post a Comment

thanks for comment