एनबी इन्स्योरेन्सको सबै कारोबार रोक्का

३० दिनमा सुधार नगरे खारेजीमा पठाइने
अनियमितता भएको रकम फिर्ता गर्न निर्देशन  
काठमाडौं, साउन १७ - एनबी इन्स्योरेन्समा व्यापक आर्थिक अनियमितता भेटेपछि बिमा समितिले कम्पनीको सम्पूर्ण कारोबारमा रोक लगाएको छ। कम्पनीका सञ्चालकहरूले ग्राहकबाट उठाएको रकम (बिमा शुल्क) आफूखुसी प्रयोग गरेको फेला परेपछि समितिले मंगलबारदेखि सम्पूर्ण कारोबारमा रोक लगाएको हो।

कम्पनीले नियमविपरीत घरभाँडामा लिएर अग्रिम भुक्तानी गरेको, दायित्व भुक्तानी गर्नसक्ने रकम (एयर मार्क) पूरा नगरेको, मापदण्ड पूरा नगरेका संस्थाहरूमा रकम जम्मा गरेको, सञ्चालकलाई असीमित पेस्की दिई फिर्ता नगराएको पाएपछि समितिले कारबाही गरेको हो।
'हामीले सुधारका लागि दिएको निर्देशन पूरा नगरेकाले कारबाही गरिएको हो,' समितिका कार्यकारी निर्देशक विनोद अर्यालले मंगलबारै नगारिकसँग भने, 'सुधारका लागि ३० दिनको समय दिएका छौं। तीस दिनमा सुधार नभए कम्पनी लिक्विडेसन (खारेजी) मा पठाउँछौं।'
चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको कम्पनीका सञ्चालकहरूले घरभाँडा लिँदा नियमविपरीत तीन करोडभन्दा बढी भुक्तानी गरेका छन्। कम्पनीले एक वर्षमा २० लाख रुपैयाँभन्दा बढीको घरजग्गालगायत स्थीर सम्पति निर्माण, खरिद र लिजमा कारोबार गर्दा समितिको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लघंन गरेर एकै वर्षमा ५ करोड ९० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको थियो।

समितिले १५ वर्ष करारको भाँडास्वरूप ५ करोड ९० लाख ५० हजार संाग्रिला इन्भेस्टमेन्ट प्रालिलाई अग्रिम भुक्तानी गरेको सबै रकम १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ। फिर्ता भएपछि सप्रमाण समितिमा पेस गर्नसमेत निर्देशन भएको छ। पाँचवटा गम्भीर आरोपसहित बढीमा ३० दिनको समय दिँदै समितिले कारबाही गरेको हो।

'कम्पनीको पुँजी अपर्याप्त भई एयरमार्क गराउन नसकेको, समितिबाट तोकिएको प्रतिशतभन्दा बढी रकम वित्तीय संस्थामा लगानी गरेको, सञ्चालकलाई असीमित किसिममा पेस्की दिई फिर्ता गरेको पाइएको छैन,' समितिले इन्स्योरेन्सलाई पठाएको पत्रमा छ, 'बिमा समितिको स्वीकृति नलिई घरभाँडा भनी अग्रिम भुक्तानी गरेको छ।' स्रोतका अनुसार पुँजी अपर्याप्त भइसकेको अवस्थामा कम्पनीका व्यवसायिक कार्यबाट ग्राहकको हित नहुने आरोपसमेत समितिले लगाएको छ।

सर्वसाधारणको २० प्रतिशत सेयर रहेको कम्पनीले एक वर्षको अवधिमा १० पटक गरेर घर भाँडा भुक्तानी गरेको थियो। मासिक २ लाख ३० हजारका दरले प्रत्येक दुई वर्षमा १० प्रतिशतले बढ्ने गरी सम्झौता गरिएको थियो। १५ वर्षका लागि गरिएको सम्झौता अनुसार ५ करोड ७७ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ। तर, कम्पनीले अग्रिम ५ करोड ९० लाख ५० हजार भुक्तानी गरेको हो।

कम्पनीले स्थिर सम्पति खरिद तथा निर्माण कार्यमा आफ्नो खुद सम्पति (नेटवर्थ) को ३० प्रतिशतभन्दा बढी रकम खर्च गर्न नमिल्ने व्यवस्था उल्लंघन गर्दै घरभाँडा भुक्तानी गरेको हो। कम्पनीको पछिल्लो वास्तविक नेटवर्थ गणना गर्न नमिल्ने अवस्थामा भएकाले २०६६/६७ मा कायम नेटवर्थ ६ करोड ५० लाख रुपैयाँ छ। यसको ३० प्रतिशत १ करोड ९५ लाख रुपैयाँ हुन्छ।

समितिले सञ्चालक तथा उनीहरूसँग सम्बन्धित संगठित संस्थाहरूलाई दिएको पेस्की रकम फिर्ता गर्नसमेत निर्देशन दिएको छ। कम्पनीले सञ्चालकहरूलाई ७५ लाख रुपैयाँ पेस्की दिएको थियो। 'सम्पूर्ण खर्च र आम्दानी खाता बन्द गरेका छौं, दिइएको निर्देशन पालना गर्दै कम्पनी सुधार गरे कारबाही खुकुलो बनाउँदै लैजान्छौं,' अर्यालले भने।

समितिले 'निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीका लागि तोकिएको लगानी क्षेत्र र त्यस्तो क्षेत्रमा लगानी गर्नसक्ने गरी तोकिएको प्रतिशत' लगानी नगरेको आरोप लगाएको छ। समितिले मापदन्डविपरीत लगानी गरेको रकम ३० दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ।
स्रोतका अनुसार कम्पनीले वर्ल्ड मर्चेन्ट फाइनान्स, नेपाल सहकारी संस्था, नेपाल हाउजिङ एन्ड फाइनान्स र सिद्धार्थ फाइनान्समा मापदण्ड विपरति लगानी गरेको छ। कम्पनीले वर्ल्ड मर्चेन्टमा ३ करोड ५३ लाख, नेपाल हाउजिङमा २ करोड १५ लाख र सिद्धार्थ फाइनान्समा १० लाख रुपैयाँ निक्षेप राखेको छ।

कम्पनीले दायित्व भुक्तानी गर्न सक्ने रकम (एयर मार्क) जम्मा पार्न सकेको छैन। नियामक निकाय बिमा समितिले १४ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम दायित्व भुक्तानीका लागि जम्मा गर्न दिएको निर्देशन कम्पनीले पूरा गर्न नसकेको हो।
बिमा कोष १ करोड ७७ लाख, जगेडा तथा कोष ३ करोड ३६ लाख, असमाप्त जोखिम बापत व्यवस्था ५ करोड ५५ लाख र भुक्तानी हुन बाँकी दाबीवापतको ३ करोड ७२ लाख रुपैयाँ कम्पनीले जम्मा पर्न नसकेको हो।

एयरमार्क गराउनुपर्ने १४ करोड ८५ लाख ६९ हजारमध्ये नपुग ७ करोड ६७ हजार ६४ हजार रुपैयाँ १५ दिनभित्र एयरमार्क गराउन समितिले निर्देशन दिएको छ। कम्पनीको सम्पूर्ण दायित्वको पर्याप्त पुनर्बिमा व्यवस्था भएको तथा पुनर्बिमा शुल्क नियमित भुक्तानी गरेको प्रमाणसमेत सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

पछिल्लो तथ्यांकअनुसार कम्पनीले ४६ लाख ७० हजार नाफा कमाएको छ। ७ लाख ३ हजार १ सय बिमा लेख जारी गरेको कम्पनीले अझै पनि दाबी भुक्तानी गर्न बाँकी बिमा लेखको संख्या १ लाख ३० हजार छ। एनबी इन्स्योरेन्सको पछिल्लो सेयर कारोबार जुलाइ १२ मा भएको थियो। कम्पनीको सेयर मूल्य १ सय ४१ रुपैयाँ छ।

सात सदस्यीय सञ्चालक समितिमा तीनजना एउटै परिवारका छन्। कम्पनीको अध्यक्षमा जितबहादुर श्रेष्ठ छन्। उनका भाइ लक्ष्मीबहादुर र छोरा जेन सदस्य छन्।

No comments:

Post a Comment

thanks for comment