ज्योति समूह व्यावसायिक तरकारी खेतीमा

काठमाडौं, साउन २९- 
औद्योगिक घराना ज्योति समुहले व्यवसायिक रुपमा तरकारी खेति गर्ने भएको छ। समुहले १० करोड रुपैयाँ लगानीमा वाराको परवानीपुरमा व्यवसायिक तरकारी खेति सुरु गर्न लागेको हो। खेती एक महिनापछि सुरु हुनेछ।
'नेपालमा तरकारीको राम्रो बजार छ। यही अवसरलाई छोप्न तरकारीको व्यवसायिक खेती सुरु गर्न लागेका हौं,' समुहका निर्देशक सौरभ ज्योतिले नागरिकसँग भने। आवश्यक तरकारी उत्पादनका लागि परवानीपुरमा नर्सरीको काम सुरु भइसकेको छ।
भदौ तेस्रो साताबाट तरकारीको विरुवा रोप्ने काम सुरु हुनेछ। अहिले खेती गर्ने स्थानमा पानी आपूर्तिका लागि ट्याङकी खन्ने काम भइरहेकोे छ। सँगसँगै बारबेराको समेत काम भइरहेको छ।

साढे आठ विघा अर्थात सय रोपनी जग्गामा समुहले इजरायलबाट फर्किएको प्राविधिक समुहसँग मिलेर खेति सुरु गर्न लागेको हो। पहिलो चरणमा गोलभेडा, भेडे खोर्सानीलगायतका तरकारी उत्पादन हुनेछन्। त्यसपछि समुहले गाई पालन व्यवसायलाई अगाडि बढाउने छ। समुहले तरकारी खेती सुरु भएर बजार लिन थालेपछि यसलाई विस्तार गरेर लैजाने योजना बनाएको छ।
'तरकारीको बजार विस्तार हुन थालेपछि हामीले पनि आफ्नो क्षमता वढाउँदै लैजान्छौं,' ज्योतिले भने, 'संभावना भएजति सवै तरकारी उत्पादन गर्ने योजना छ।' उनले कृषि प्रदान देश भएपनि नेपाल खाद्य संप्रभुतामा कमजोर भएकाले बजार ओगट्न समस्या नहुने दावी गरे।
'एउटै बोटबाट ५ किलो गोडभेडा उत्पादन हुँदै आएकोमा हामीले गरेको खेतीमा ५० किलोसम्म उत्पादन हुने छ,' ज्योतिले भने, 'अन्य तरकारीको उत्पादनसमेत वढ्ने छ।' उनले उच्चस्तरीय प्रविधि, मलखाद र वातावरणको व्यवस्था गरिएकाले उत्पादन ठूलो मात्रामा हुने जानकारी दिए।
स्टिल, फलाम, तार, अक्सिजन, मोटरसाइलक लगायतको व्यापार व्यवसाय गर्दै आएको ज्योति समुहले पहिलो पटक तरकारी खेती गर्न लागेको हो। समुहले पर्यटन, अस्पताल, बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरिसकेको छ।
'बजार वढ्न थालेपछि आवश्यक परे लगानी थपेर लैजान्छौं,' ज्योतिले भने, 'व्यवसायिक तरकारी खेतिमा हामी उत्साहित छौं।' उनले तराईका जिल्लालाई लक्षित गरी पहिलो चरणमा तरकारीको बजार खोजिने जानकारी दिए। दोस्रो चरणमा कम्पनीले त्यहाँ उत्पादन भएको तरकारी काठमाडौं, पोखरा र भारतीय सीमावर्ति शहरमा विक्री गर्ने लक्ष्य लिएको छ।
ज्योति समुहले इजरायलबाट प्राविधिक सीम सिकेर आएका एक टोलीले खोलेको मह एग्रिकल्चर प्रालिसँग मिलेर व्यवसायिक खेती सुरु गर्न लागेको होे। समुहले हिमाल मह एग्रिकल्चर प्रालि नामबाट खेती सुरु गर्न लागेको हो। 'तरकारी खेती एक महिनाभित्रै सुरु हुने छ,' मह एग्रिकल्चरका सञ्चालक रोजराज कटुवालले भने, 'गाई पालन सुरु गर्न भने अर्को ६ महिना लाग्ने छ।'
समुहले परवानीपुरको खेतीमा सवै प्रविधि इजरायली प्रयोग गरेको छ। आवश्यक पर्ने विउ विजन तथा मलखादहर पनि इजरायली नै प्रयोग हुने छ। 'यजरायल कृषिका लागि राम्रो मानिन्छ। हामीले पनि त्यही सिप सिकेर आएकाले सबै प्रविधि त्यहीको प्रयोग गरेका हौं,' कटुवालले भने।
व्यवसायिक खेतिका लागि लगानी हुने १० करोडमा ज्योति समुहले मह एग्रिकल्चरलाई निशुल्क २० प्रतिशत सेयर दिएको। महको प्राविधिक सहयोगका कारण ज्योति समुहले सेयर दिएको हो। 'आफै प्राविधिक आफै मालिकको हिसावले सेयर दिएका हौं,' ज्योतिले भने।
कम्पनीमा समुहका तर्फबाट मद्म ज्योति र महका तर्फबाट कलाकार हरिवंश आचार्य छन्। वाँकी सदस्यहरु पछि थप्ने दुवै समुहबीच सहमति भएको छ। मह एग्रिकल्चरले काठमाडौंको जितपुर फेदीमा पनि तरकारी खेती गरिरहेको छ। जितपुर खेतीको जग्गा आर्याय र मदनकृष्ण श्रेष्ठको हो।
मह समुहले इजरायलमा व्यवसायिक तरकारीको सीप सिकेर आएको छ। 'हामी विदेशमा व्यवसायिक खेतीको ज्ञान सिकेर आएकाले यहाँ पनि ज्योति समुहसँग मिलेर काम गर्न लागेका हौं,' कटुवालले भने, 'कसैले व्यवसायिक रुपमा खेती गर्न खोजिरहेको छ भने प्राविधिक सहयोग उपलब्ध गराउन सक्छौं।'
ज्योति समुहले जस्तो सुकै मौसममा पनि व्यवसायिक खेतिका लागि परवानीपुरमा ग्रिन हाउस निर्माणको कामसमेत अगाडि वढाएको छ। परवानीपुरमा समुहले ३ वटा वेग्लावेग्लै प्रविधिको ग्रिन हाउस निर्माण गरिरहेको छ। 'परवानीपुर गर्मी ठाउँ भएकाले ३५ डिग्रीभन्दा माथि तापक्रम जाने वित्तिकै स्वचालित रुपमा नियन्त्रण गर्न सकिन्छ,' ज्योतिले भने, 'यसले गर्दा जुनसुकै मौसममा पनि जस्तो सुकै तरकारीको खेति गर्न सकिन्छ।'
कम्पनीले उत्पादन गरको तरकारी प्याकिङसहित बजारमा जाने छ। 'सिधै कराईमा ओइरिन मिल्ने गरी तरकारी बजारमा पठाउँछौं,' कटुवालले भने, 'तरकारी पुरै स्वास्थकर र सुपथ मूल्यमा उपलब्ध हुने छ।'
समुहले यो व्यवसायमा अनुमानित ४० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिनेछ। यसबाहेक प्याकेजिङमा १० जनासम्म र बजारीकरणमा त्यतिले नै जागिर पाउने छन्। 'प्रत्यक्ष र अप्रत्यक्ष गरेर सय जना हाराहारीले रोजगारी पाउने छन्,' कटुवालले भने।

No comments:

Post a Comment

thanks for comment