एभरेस्टको अग्नि बिमा रोक्का, प्रमुख कार्यकारीलाई १० हजार जरिवानासहित हदैसम्म कारबाहीको निर्देशन

सुदर्शन सापकोटा, काठमाडौं, भदौ १३- बिमा समितिले एभरेस्ट इन्स्योरेन्स कम्पनीको अग्नि बिमा कारोबारमा रोक लगाएको छ। 
 एभरेस्टले हिमालयन स्न्याक्सको दाबीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै बिमा रकम दिएपछि समितिले मंगलबारबाट कारोबारमा रोक लगाउँदै प्रमुख कार्यकारी अधिकृतलाई हदैसम्मको कारबाही गर्न निर्देशन पनि दिएको छ।
एभरेस्टले हिमालयन स्न्याक्स प्रालिलाई तीनपटक गरेर ४ करोड रुपैयाँ भुक्तानी दिएको छ। यी दुवै कम्पनी एउटै व्यावसायिक घरानाबाट सञ्चालनमा आएका हुन्। 'निरीक्षण प्रतिवेदनमा देखिएको कमजोरी सच्च्याउँदै सुधि्रने मौका स्वरूप कारबाही गरेका होंै,' समितिका कार्यकारी निर्देशक विनोद अर्यालले मंगलबार नागरिकसँग भने।
समितिको निरीक्षणमा कम्पनीले विभिन्न १८ गल्ती गरेको भेटिएको थियो। प्रत्येक गल्तीका लागि समितिले १० हजार रुपैयाँका दरले जरिवाना तिर्नसमेत निर्देशन दिएको छ। निरीक्षणक्रममा कम्पनीले गर्ने कारोबारमध्ये १२ वटामा आंशिक रोक लागाउनुपर्ने तथ्य भेटिएको थियो। सबै कारोबारमा रोक लगाउँदा कम्पनी समस्यामा पर्ने भएपछि समितिले मुख्य कारोबार हुने अग्नि बिमामा रोक लगाएको हो।
कम्पनीले ३५ दिनभित्र समितिले देखाएको सबै कमजोरी सच्च्याउनुपर्छ। कम्पनीले सबै सच्याएको पत्र समितिमा पठाएपछि उसले पुनः स्थलगत निरीक्षण गर्नेछ। त्यसमा सबै ठिक देखिएमात्र कारोबार फुकुवा हुन्छ। ३५ दिनभित्र सुधार नगरे थप कडा कारबाही गर्ने अधिकार समितिलाई छ।
हिमालयन स्न्याक्सले २०६८ असार २७ मा आगलागीबाट भएको क्षतिको भुक्तानीका लागि कम्पनीमा दाबी दर्ता गराएको थियोे। २०६७ माघ ११ मा एभरेस्टले हिमालयन स्न्याक्सको अग्नि बिमा लेख जारी गरेको थियो। समितिले गत जेठ २ देखि २५ सम्म गरेको स्थलगत निरीक्षणक्रममा हिमालयन स्न्याक्सले दाबी गरेकै दिन इन्स्योरेन्स कम्पनीले टिसा इन्जिनियरिङलाई क्षतिको मूल्यांकन गर्न सर्वेयर नियुक्त गरेको भेटेको थियो।
सर्वेयर नियुक्त भएकै भोलिपल्ट १ करोड रुपैयाँ क्षति भएको प्रारम्भिक प्रतिवेदन दिएको थियो। नेपालको सर्वेयरले प्रतिवेदन दिएकै दिन २०६८ असार २९ मा पुनर्बिमा कम्पनीलाई क्षति मूल्यांकनका लागि सर्वेयर घटाइ दिन पत्रचार गरेको थियो।
पुनर्बिमा कम्पनीले नयाँदिल्लीको आदर्श एसोसिएटलाई सर्वेयर बनाएर खटाएको थियो। भारतीय सर्वेयरले २०६८ साउन १४ मा प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। तर, कम्पनीले भारतीय सर्वेयरले अन्तिम प्रतिवेदन बुझाउनु तीन दिनअघि हिमालयन स्न्याक्सलाई २ करोड रुपैयाँ भुक्तानी गरेको थियो।
'जारी भएको बिमा लेखबाट पूरै बिमा शुल्कसमेत प्राप्त नभएका बेला कम्पनीले सर्वेयरको प्रारम्भिक प्रतिवेदन आउनुपूर्व २ करोड रुपैयाँ हिमालयन स्न्याक्सलाई भुक्तानी गरेको पाइएको छ,' समिति स्रोतले भन्यो, 'सर्वेयरको अन्तिम प्रतिवेदन नआउन्जेलसम्म भुक्तानी गर्न पाइँदैन।' भारतीय सर्वेयरले नेपालमा काम थाल्न समितिको स्वीकृति अनिवार्य लिनुपर्छ। तर, आदर्श एसोसिएटले स्वीकृति नलिई काम गरेको समिति स्रोतले जानकारी दियो।
सर्वेयरले प्रारम्भिक प्रतिवेदन बुझाएपछि कम्पनीले साउन २३ मा १ करोड र भदौ १ मा अर्को १ करोड रुपैयाँ हिमालयन स्न्याक्सलाई भुक्तानी दिएको निरीक्षणमा भेटिएको छ। 'दाबी भुक्तानीको मुद्दा अझै पनि कम्पनीले राफसाफ गरिसकेको छैन,' समिति स्रोतले भन्यो।
हिमालयन स्न्याक्सलाई दिइएको ४ करोड रुपैयाँबारे कम्पनी सञ्चालक समितिमा एजेन्डासमेत नलगेको निरीक्षणमा देखिएको छ। प्रमुख कार्यकारी अधिकृत स्तरबाटै ४ करोड भुक्तानी भएको छ। कम्पनीको नियमावलीले प्रमुख कार्यकारीलाई ४ लाख रुपैयाँसम्म मात्र दाबी भुक्तानी राफसाफ गर्ने अधिकार दिएको छ।
प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठ, नायब महाप्रबन्धक तुलसी अमात्य र सहायक महाप्रबन्धक अनिल ढुंगेल र सुधुम्न उपाध्यायको समितिले सर्वेयरको अन्तिम प्रतिवेदन आउनुअघि नै भुक्तानी गरेको निरीक्षणमा देखिएको छ।
'प्रमुख कार्यकारीले आफ्नो अधिकार क्षेत्र बाहिर गएर भुक्तानी गरेकाले उनलाई १० हजार जरिवाना गरिएको छ,' स्रोतले भन्यो, 'यसबाहेक उनलाई कर्मचारी नियमावलीअनुसार हदैसम्मको कारबाही गर्न सञ्चालक समितिलाई निर्देशन दिएका छौं।' कर्मचारी नियमावलीमा हदैसम्मको कारवाहीलाई 'बर्खास्त' का रूपमा व्याख्या गरिएको छ।
समितिले दाबी भुक्तानीमा सहयोग गर्ने अन्य तीन कर्मचारीलाई जनही ३ हजारका दरले जरिवानासहित सचेत गराउने निर्णयसमेत गरेको छ। ४ करोड भुक्तानी हुन्जेलसम्म पनि कुनै खोजी नगरेकामा समितिले सञ्चालक समितिलाई पनि सचेत गराउने निर्णय गरेको छ।
समितिको स्थलगत निरीक्षणले हवाई बिमाबाट उठाएको शुल्कको रकमसमेत दुरुपयोग गरेको भेट्टाएको छ। हवाई शुल्कको रकम विभिन्न व्यक्तिलाई ल्यापटप, मोबाइल फोन, आइप्याडलगायत सामग्री उपहार दिन प्रयोग भएको समितिको निरीक्षणमा भेटिएको छ। समितिले बिमा शुल्क दुरुपयोग गर्ने उच्च पदस्थ कर्मचारी र हवाई बिमाका प्रमुखलाई तत्काल सचेत गराउने निर्णय गरेको छ।
कम्पनीको चुक्ता पुँजी १० करोड १२ लाख रुपैयाँ छ। गत आर्थिक वर्ष ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले ७२ करोड ३२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ७४ करोड ६ लाख थियो।
कम्पनीले गत वर्षभन्दा बिमा लेख पनि कम जारी गरेको छ। गत वर्ष २७ हजार ७ सय ८८ जारी गरेकोमा यस पटक २१ हजार ९ सय १८ मा झरेको छ। दाबी भुक्तानी रकम ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ४९.२० रुपैयाँ छ। मूल्य आम्दानी अनुपात ५.४५ गुणा र प्रतिसेयर नेटवर्थ २८३.७३ रुपैयाँ छ।

No comments:

Post a Comment

thanks for comment